काठमाडौँ- नेपाल प्रहरीले रातको समयमा गरगहना र नगद लुटपाट गर्ने गिरोहलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दैै विगत ३ महिनादेखि रातको समयमा मोटरसाइकलमा चढेर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरिएको जनाएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँ, प्रहरी वृत्त स्वयम्भू, प्रहरी वृत्त गौशाला र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई काठमाडौँ विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बुधबार राति प्रहरीले काठमाडौँको मूलपानीमा गोली हानेर मुख्य योजनाकारसहितलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा बिनय तामाङ, आयन माझी, मनिस रसाईली, सविन माझी, पेमा तामाङ, सलोन तामाङ, राजीव भण्डारी, विशाल तामाङ, विदुर विश्वकर्मा र फुर्वा तामाङ रहेका छन्।
विनय तामाङ गरगहना र नगद लुटपाट गर्ने गिरोहको मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका सबै आपराधिक पृष्ठभूमिका रहेको र दिनको समयमा ट्याक्सी चलाउने र राति लुटपाटमा संलग्न हुने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले जानकारी दिए। पक्राउ परेका गिरोहहरू जेनजी आन्दोलनपछि लुटपाटमा सक्रिय रहेका देखिएको उनले बताए।
पक्राउ परेका व्यक्तिहरुबाट लुटपाटमा प्रयोग गरिएका एउटा निजी कार, एउटा ट्याक्सी र ६ वटा मोटरसाइकल समेत बरामद गरेको छ। गरगहना र नगद लुटपाटका घटनामा हालसम्म २७ जना पीडित प्रहरी सम्पर्कमा आएको र जाहेरी दरखास्त प्राप्त भएको प्रहरीले जनाएको छ।
त्यस्तै काठमाडौं प्रहरीले ३३ किलो सुन प्रकरणमा सनम शाक्यको अपहरण शरीर बन्धक तथा ज्यान सम्बन्धी कसुरका फरार प्रतिवादी सुरेन्द्र गौतमलाई पक्राउ गरिएको जनाएको छ।



