४५ दिन लगाएर भएको पहिलो चुनावमा को को निर्वाचित भएका थिए?

हिमाल प्रेस १४ माघ २०८२ १६:१६
22
SHARES
४५ दिन लगाएर भएको पहिलो चुनावमा को को निर्वाचित भएका थिए?

काठमाडौँ- मुलुकको पहिलो निर्वाचन २०१५ साल फागुन ७ गते सुरु भएको थियो। चैत २१ गतेसम्म गरी उक्त चुनावमा ४५ दिनसम्म मतदान भएको थियो। त्यतिबेला देशभर १०९ वटा निर्वाचन क्षेत्र थिए।

पहिलो दिन फागुन ७ गते  १८ वटा निर्वाचन क्षेत्रमा मतदान भएको भएको थियो।  यसैगरी फागुन ११ गते ८ निर्वाचन क्षेत्रमा,  फागुन १४ गते ३ निर्वाचन क्षेत्रमा, फागुन १५ गते ११ निर्वाचन क्षेत्रमा र फागुन १६ गते ३ निर्वाचन क्षेत्रमा मतदान भएको थियो।

फागुन १९ गते ६ निर्वाचन क्षेत्रमा , फागुन २१ गते ९ निर्वाचन क्षेत्रमा, फागुन २३ गते ५ निर्वाचन क्षेत्रमा र  फागुन २५ गते ३ निर्वाचन क्षेत्रमा मतदान भएको थियो।

फागुन २६ गते ४ निर्वाचन क्षेत्रमा, फागुन २८ गते ५ निर्वाचन क्षेत्रमा, चैत २ गते १० निर्वाचन क्षेत्रमा, चैत ५ गते ६ निर्वाचन क्षेत्रमा, चैत ७ गते ३ निर्वाचन क्षेत्रमा, चैत ११ गते ६ निर्वाचन क्षेत्रमा, चैत १३ गते ३ निर्वाचन क्षेत्रमा, चैत १७ गते ३ निर्वाचन क्षेत्रमा र चैत २१ गते ३ वटा निर्वाचन क्षेत्रमा मतदान भएको थियो।

फागुन ७ मा निर्वाचित

फागुन ७ गते काठमाडौँको क्षेत्र नम्बर १ सहित मुलुकभर १८ वटा निर्वाचन क्षेत्रमा मतदान भएको थियो। त्यस दिन काठमाडौँ उपत्यकाका क्षेत्र नम्बर २ र ५, पूर्व १ नम्बरको निर्वाचन क्षेत्र नम्बर ९ चौतारा दक्षिण, पूर्व २ नम्बरको निर्वाचन क्षेत्र नम्बर १५ सिन्धुली, पूर्व ४ नम्बरको निर्वाचन क्षेत्र नम्बर २० भोजपुर दक्षिण, धनकुटाको निर्वाचन क्षेत्र नम्बर २२ धनकुटा पश्चिम दक्षिणमा पनि सोही दिन मतदान भएको थियो।

त्यही दिन मतदान हुने अन्य क्षेत्रमा मोरङ विराटनगरको निर्वाचन क्षेत्र नम्बर ३२ मोरङ विराटनगर पश्चिम दक्षिण, सप्तरीको निर्वाचन क्षेत्र नम्बर ३६ सप्तरी मध्य, महोत्तरी सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४२ महोत्तरी उत्तर पूर्वान्त, बारा, पर्सा, रौतहटको निर्वाचन क्षेत्र नम्बर ५४ पर्सा पश्चिम थिए।

यसैगरी खजहनी शिवराजको निर्वाचन क्षेत्र नम्बर ६१ खजहनी पश्चिम शिवराज, बाँके बर्दियाको निर्वाचन क्षेत्र नम्बर ६४ बर्दिया, कैलाली कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ६५ कैलाली कञ्चनपुर, दैलेखको निर्वाचन क्षेत्र नम्बर ७७ दैलेख पूर्व, सल्यानको निर्वाचन क्षेत्र नम्बर ८१ सल्यान पूर्वदक्षिण, गुल्मीको निर्वाचन क्षेत्र नम्बर ९२ गुल्मी मध्यपूर्व र पश्चिम १ नम्बरको निर्वाचन क्षेत्र नम्बर १०९ नुवाकोट दक्षिणमा सोही दिन निर्वाचन भएको थियो।

यहाँ यिनै निर्वाचन क्षेत्रका उम्मेदवार र निर्वाचन परिणामबारे उल्लेख गरिएको छ। काठमाडौँ क्षेत्र नम्बर १ को निर्वाचनमा नेपाली कांग्रेसका गणेशमान सिंह निर्वाचित भएका थिए।

काठमाडौँ उपत्यका क्षेत्र नम्बर २ का लागि एक जना स्वतन्त्रसहित नौ जना उम्मेदवार थिए। उक्त क्षेत्रबाट नेपाली राष्ट्रिय कांग्रेसका अध्यक्ष एवं चुनावी सरकारका बहालवाल गृहमन्त्री डिल्लीरमण रेग्मीसमेत उम्मेदवार थिए।

त्यसैगरी नेपाल राष्ट्रवादी गोर्खा परिषद्बाट नरबहादुर थापा क्षेत्री, संयुक्त प्रजातान्त्रिक पार्टीका पद्मबहादुर बुढाथोकी, नेपाल प्रजातान्त्रिक महासभाका बासुपासा श्रेष्ठ, नेपाल प्रजापरिषद् पार्टी आचार्य गुटका रुद्रप्रसाद शर्मा, नेपाल कम्युनिस्ट पार्टीका शम्भूराम श्रेष्ठ, नेपाली कांग्रेसका तर्फबाट त्रिपुरवर सिंह र स्वतन्त्रबाट पद्मबहादुर श्रेष्ठ थिए।

उतिखेर बहालवाला गृहमन्त्री एवं नेपाली राष्ट्रिय कांग्रेसका अध्यक्ष डिल्लीरमण रेग्मीले पार्टी उम्मेदवारमध्ये सबैभन्दा कम जम्मा ६१८ मतमात्र प्राप्त गरेका थिए। नेपाल प्रजापरिषद्का उम्मेदवार शर्माले पनि रेग्मीभन्दा केही बढी ६५२ मत प्राप्त गरेका थिए।

पानस चुनावी चिह्नसहित स्वतन्त्र उम्मेदवारी दिएका श्रेष्ठले सबैभन्दा कमल ५१४ मत प्राप्त गरेका थिए। कुल ४७,७१८ मतदाता रहेको उक्त क्षेत्रमा २०,२४१ मत खसेको थियो।

उक्त क्षेत्रमा ६२६२ मतसहित नेपाल राष्ट्रवादी गोर्खा परिषद्बाट नरबहादुर थापा क्षेत्री निर्वाचित भएका थिए। त्यस्तै नेपाली कांग्रेसले ५०१३, संयुक्त प्रजातान्त्रिक पार्टीले ३४६०, नेपाल कम्युनिस्ट पार्टीले २५६८ र नेपाल प्रजातान्त्रिक सभाले ११२४ मत प्राप्त गरेको थियो।

काठमाडौँ क्षेत्र नम्बर ५ मा दुई पार्टी अध्यक्षसहित नेपाली कांग्रेसका प्रभावशाली नेता, एक स्वतन्त्रसहित पाँच जना चुनावी मैदानमा थिए। पार्टी अध्यक्षमा नेपाल प्रजापरिषद् पार्टी आचार्य गुटका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्य, नेपाल प्रजातान्त्रिक महासभाका अध्यक्ष रंगनाथ शर्मा र नेपाली कांग्रेसका प्रभावशाली उम्मेदवार सूर्यप्रसाद उपाध्याय (उपाध्याय काठमाडौँ क्षेत्र नम्बर ५ र क्षेत्र नम्बर १४ रामेछाप दक्षिणबाट उम्मेदवार भई दुवै क्षेत्रबाट पराजित भएका थिए। पछि उनी महासभामा निर्वाचित भई बीपी कोइरालाको नेतृत्वमा गठन भएको पहिलो जननिर्वाचित सरकारमा गृह र कानुनमन्त्री भए।) उम्मेदवार थिए। डा. केआई सिंहको पार्टीबाट लोचनशमशेर थापा उम्मेदवार थिए भने स्वतन्त्रबाट घोडा चुनाव चिह्नसहित घनानाथ उपाध्याय उम्मेदवार थिए।

कुल ४३,७०० मतदाता रहेको उक्त निर्वाचन क्षेत्रमा १६,२७४ मत खसेको थियो। जसमध्ये आचार्यले ११६८, शर्माले ३२६२, उपाध्यायले ५७१७ मत पाउँदा स्वतन्त्रले ३७२ मत प्राप्त गरे। ती सबै ठूला हस्तीलाई त्यहाँ संयुक्त प्रजातान्त्रिक पार्टीका उम्मेदवार लोचन शमशेर थापा ८७५५ मतसहित निर्वाचित भएका थिए।

पूर्व १ नम्बरको निर्वाचन क्षेत्र नम्बर ९ चौतारा दक्षिणमा चार स्वतन्त्र जसमध्ये एक जना महिला सुशीला थापासहित कुल ११ जना उम्मेदवार थिए। त्यहाँ नेपाल राष्ट्रवादी गोर्खा परिषद्का उम्मेदवार तीर्थमान लामाले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सप्तलाल ताम्राकारलाई २२४४ मतको फराकिलो अन्तरले पराजित गरेका थिए। निर्वाचित लामाले ३५६८ मत प्राप्त गरे भने पराजित ताम्राकारले १३२४ मत प्राप्त गरे।

पूर्व २ नम्बरको निर्वाचन क्षेत्र नम्बर १५ सिन्धुलीमा चार स्वतन्त्रसहित जम्मा आठ जना उम्मेदवार थिए। २५०९० मतदाता रहेको उक्त क्षेत्रमा त्यहाँ न्यून ७२४२ मतमात्र खसेको थियो।

नेपाल प्रजापरिषद् (आचार्य गुट) का जितबहादुर कार्की निर्वाचित भएका थिए। त्यहाँ नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार रामहरि बराल थिए। निर्वाचित कार्कीले ३०१० मत ल्याउँदा उनका प्रतिद्वन्द्वी बरालले १८६० मत पाएका थिए।

पूर्व ४ नम्बरको निर्वाचन क्षेत्र नम्बर २० भोजपुर दक्षिणमा तीन स्वतन्त्रसहित, नेपाली कांग्रेसका भूदेव राई, नेपाल राष्ट्रवादी गोर्खा परिषद्का दुर्गाबहादुर र संयुक्त प्रजातान्त्रिक पार्टीका कृष्णलाल राई गरी छ जना उम्मेदवार थिए।

कुल ४१,१७४ जना मतदाता रहेको उक्त क्षेत्रमा १८५५४ मत खसेको थियो। ८३८० मतसहित कांग्रेसका राई निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी गोर्खा परिषद्का दुर्गाबहादुरले २९६३ मत प्राप्त गरेका थिए।

धनकुटा निर्वाचन क्षेत्र नम्बर २२ धनकुटा पश्चिम दक्षिणमा पाँच जना स्वतन्त्रसहित ११ जना उम्मेदवार थिए। त्यहाँ नेपाली कांग्रेसका लीलानाथ उपाध्याय ३२०९ मतसहित निर्वाचित भएका थिए।

मोरङ विराटनगरको निर्वाचन क्षेत्र नम्बर ३२ मोरङ विराटनगर पश्चिमदक्षिणमा नेपाली कांग्रेसका अध्यक्ष बीपी कोइराला उम्मेदवार थिए। दुई जना स्वतन्त्र घैला चुनाव चिह्नसहित अवधनारायण र हात्तीसहित दिलबहादुर श्रेष्ठ उम्मेदवार थिए।

दलका अन्य उम्मेदवारमा नेपाल प्रजातान्त्रिक महासभाका डम्बरबहादुर कार्की, नेपाली तराई कांग्रेसका तिलकराम विश्वास, संयुक्त प्रजातान्त्रिक पार्टीका नीरचन्द्र पोखरेल, नेपाल प्रजापरिषद् मिश्र गुटका विष्णुकान्त ठाकुर र नेपाली राष्ट्रिय कांग्रेसका सन्त कुमार थिए।

कुल ४३,७८८ जना मतदाता रहेको उक्त क्षेत्रमा २२,५६५ मत खसेको थियो। ९५७९ मतसहित बीपी कोइराला निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार दिलबहादुर श्रेष्ठले ५२८८ मत ल्याएका थिए।

अर्का स्वतन्त्र उम्मेदवार अवध नारायणले २६०७ मत ल्याएका थिए। त्यस्तै दलका उम्मेदवारमध्ये कार्कीले १५९, विश्वासले २५३३, पोखरेलले ९६२, ठाकुरले ८३७ र शन्त कुमारले ६३० मत प्राप्त गरेका थिए।

सप्तरीको निर्वाचन क्षेत्र नम्बर ३६ सप्तरी मध्यमा छ जना स्वतन्त्रसहित १२ जना उम्मेदवार चुनावी मैदानमा थिए। त्यहाँ नेपाली कांग्रेसका नागेश्वरप्रसाद सिंह ४१०९ मत प्राप्त गरी निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिस्ट पार्टीका कमर शाहले २९९६ मत प्राप्त गरेका थिए।

महोत्तरी सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४२ महोत्तरी उत्तर पूर्वान्तमा दुई स्वतन्त्रसहित छ जना उम्मेदवार थिए। त्यहाँ नेपाली कांग्रेसका रुद्रप्रसाद गिरी ७४६६ मत पाएका थिए। उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार भवानी शंकरले ४०९५ मत प्राप्त गरेका थिए।

बारा, पर्सा, रौतहटको निर्वाचन क्षेत्र नम्बर ५४ पर्सा पश्चिममा तीन स्वतन्त्रसहित १० जना उम्मेदवार थिए। त्यहाँ नेपाल राष्ट्रवादी गोर्खा परिषद्का मुनीलाल थारु ४३१४ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार जयप्रकाशले ३५७४ मत प्राप्त गरेका थिए।

खजहनी शिवराजको निर्वाचन क्षेत्र नम्बर ६१ खजहनी पश्चिम शिवराजमा पाँच स्वतन्त्रसहित १० जना उम्मेदवार थिए। त्यहाँ नेपाली कांग्रेसका शिवप्रताप शाह ५५१२ मत प्राप्त गरेर निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्दी नेपाल प्रजापरिषद्का टेकबहादुर पंथीले २६१० मत प्राप्त गरेका थिए।

त्यस्तै बाँके बर्दियाको निर्वाचन क्षेत्र नम्बर ६४ बर्दियामा तीन स्वतन्त्रसहित आठ जना उम्मेदवार थिए। त्यहाँ नेपाली कांग्रेसका राधाकृष्ण कोठिया निर्वाचित भएका थिए।

त्यहाँ असाध्यै फराकिलो मतअन्तरले कोठिया निर्वाचित भएका थिए। कुल ३५७१६ मतदाता रहेको उक्त क्षेत्रमा ११,८४७ मत खसेको थियो। उनका निकटतम प्रतिद्वन्दी संयुक्त प्रजातान्त्रिक पार्टीका भागवतदास थारुको मत ८६४ मात्र थियो।

कैलाली कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ६५ कैलाली कञ्चनपुरमा दुई स्वतन्त्रसहित पाँच जना उम्मेदवार थिए। त्यहाँ नेपाली कांग्रेसका लोकेन्द्रबहादुर शाह ६,४४४ मत प्राप्त गरी निर्वाचित भएका थिए। त्यहाँ पनि मतअन्तर धेरै फराकिलो नै थियो। उनका निकटतम प्रतिद्वन्दी संयुक्त प्रजातान्त्रिक पार्टीका धनबहादुर महतोको १५४५ मतमात्र ल्याए।

दैलेखको निर्वाचन क्षेत्र नम्बर ७७ दैलेख पूर्वमा तीन स्वतन्त्रसहित आठ जना उम्मेदवार थिए। त्यहाँ नेपाली कांग्रेसका नीरबहादुर पछाईंले २०४४ मतसहित चुनाव जितेका थिए। उनका निकटतम प्रतिद्वन्दी नेपाल राष्ट्रवादी गोर्खा परिषद्का उम्मेदवार जोतीसिंह थापाले १२७३ मत प्राप्त गरेका थिए।

सल्यानको निर्वाचन क्षेत्र नम्बर ८१ सल्यान पूर्वदक्षिणमा तीन स्वतन्त्रसहित छ जना उम्मेदवार चुनावी मैदानमा थिए। त्यहाँ नेपाली कांग्रेसका जुद्धबहादुर खत्री क्षेत्री ४४१९ मतले निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्दी नेपाल राष्ट्रवादी गोर्खा परिषद्का उम्मेदवार मस्तबहादुर चन्दले २१६३ मत प्राप्त गरेका थिए।

त्यस्तै गुल्मीको निर्वाचन क्षेत्र नम्बर ९२ गुल्मी मध्यपूर्वमा नेपाली कांग्रेस, नेपाल राष्ट्रवादी गोर्खा परिषद्, नेपाल प्रजातान्त्रिक परिषद् आचार्य गुट र संयुक्त प्रजातान्त्रिक पार्टीका उम्मेदवार गरी चार जना चुनावी मैदानमा थिए। त्यहाँ नेपाली कांग्रेसका काशीनाथ गौतम ८८५९ मत ल्याएर निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्दी नेपाल राष्ट्रवादी गोर्खा परिषद्का उम्मेदवार गुणाकर भट्टराईले ५१८० मत प्राप्त गरेका थिए।

पश्चिम १ नम्बरको निर्वाचन क्षेत्र नम्बर १०९ नुवाकोट दक्षिणमा छ जना स्वतन्त्रसहित ११ जना उम्मेदवार थिए। त्यहाँ नेपाल राष्ट्रवादी गोर्खा परिषद्का उम्मेदवार भीमबहादुर कार्की ३८७९ मत ल्याई निर्वाचित भए। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार मोहनविक्रमले १६५७ मत प्राप्त गरेका थिए।

फागुन ११ गते सम्पन्न निर्वाचनमा निर्वाचित

उपत्यकाको क्षेत्र नम्बर ३ ललितपुर उपत्यकाबाट नेपाल कम्युनिस्ट पार्टीका तुल्सीलाल अमात्य ७,९५९ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आशाराम शाक्यले ७,७१६ मत प्राप्त गरेका थिए। एकजना महिला स्वतन्त्र उम्मेदवार कमल शाहले ७८८ मत प्रप्त गरेकी थिइन्। ३९,७०२ मतदाता रहेको उक्त क्षेत्रमा त्यहाँ कुल २६, १६७ मत खसेको थियो।

उपत्यकाको अर्को क्षेत्र नम्बर ४ भक्तपुर उपत्यकाबाट नेपाली कांग्रेसका जगन्नाथ आचार्य ६,०६८ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल राष्ट्रवादी गोरखा परिषद्का बलध्वज खड्काले २,७३९ मत प्राप्त गरेका थिए। एकजना महिला स्वतन्त्र उम्मेदवार रानी शारदाले ३८१ मत प्रप्त गरेकी थिइन्। ४१,५२८ मतदाता रहेको उक्त क्षेत्रमा त्यहाँ कुल २२,१७६ मत खसेको थियो।

क्षेत्र नम्बर ३१ मोरङ विराटनगर पूर्वबाट नेपाली कांग्रेसका चेतुलाल चौधरी ८,०९४ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली राष्ट्रिय कांग्रेसका नगेन्द्रप्रसाद रिजाल (पछि २०३० सालमा प्रधानमन्त्री) ले २,८२८ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ३५ सप्तरी पूर्वान्तबाट नेपाल राष्ट्रवादी गोरखा परिषदका  दुर्गानन्दप्रसाद थारु ४,७९६ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वीरबलले ४,५३४ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ४१ खेस्राहा महोत्तरी दक्षिण पूर्वबाट नेपाली कांग्रेसका सरोजप्रसाद कोइराला १०,०९० मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार जमुनाप्रसाद सिंह राजपुतले ४,१३० मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ५३ बारा पर्सा पूर्वान्तबाट नेपाली कांग्रेसका जनरल सुवर्णशमशेर जबरा ८,८६४ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल राष्ट्रवादी गोरखा परिषद्का श्रीशमशेर जबराले ५,६४१ मत प्राप्त गरेका थिए। उक्त निर्वाचन क्षेत्रमा दुईजना राणाकै टक्कर थियो। त्यस्तै यो सुवर्णशमशेरले जितेका ३ निर्वाचन क्षेत्रमध्येको एक थियो र पछि सुवर्णले अन्य दुईबाट राजीनामा गरी यसैलाई कायम राखेका थिए।

निर्वाचन क्षेत्र नम्बर ६० खजहनी पूर्वबाट संयुक्त प्रजातन्त्र पार्टीका वासुदेव तिवारी ६,९६२ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पद्मबहादुर सिंहले २,२१० मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ६३ बाँकेबाट नेपाली कांग्रेसका ललित चन्द ७,२२३ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रामगोपाल चौधरीले ३,४२९ मत प्राप्त गरेका थिए।

 फागुन १४ गते सम्पन्न निर्वाचनमा निर्वाचित

निर्वाचन क्षेत्र नम्बर १९ भोजपुर मध्यबाट नेपाली कांग्रेसका खड्गबहादुर कार्की ७,२९६ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल राष्ट्रवादी गोरखा परिषदका कर्णबहादुर राईले ४,२३५ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ८२ सल्यान उत्तर पूर्वबाट नेपाली कांग्रेसका टेकबहादुर घर्ती क्षेत्री ५,४२८ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र लोकजंगबहादुर शाहले ४,१९४ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ९१ गुल्मी दक्षिण पश्चिमबाट नेपाली कांग्रेसका जनरल सुवर्णशमशेर जबरा १३,५०७ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी संयुक्त प्रजातन्त्र पार्टीका इन्द्रलाल जोगी कँुवरले ३,१२८ मत प्राप्त गरेका थिए। सुवर्णशमशेरले उक्त क्षेत्रबाट राजीनामा दिएपछि रिक्त स्थानमा उपनिर्वाचन हुँदा नेपाली कांग्रेसकै पुष्करनाथ पोखरेल निर्वाचित भएका थिए।

 फागुन १५ गते सम्पन्न निर्वाचनमा निर्वाचित

निर्वाचन क्षेत्र नम्बर १० पूर्व १ नम्बर चौतारा मध्यपूर्वमा नेपाल राष्ट्रवादी गोरखा परिषदका हर्षजित लामा ८,०३१ मत सहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मनकुमार श्रेष्ठले १,६४१ मत प्राप्त गरेका थिए।

पूर्व २ नम्बर निर्वाचन क्षेत्र नम्बर १४ रामेछाप दक्षिणमा नेपाल राष्ट्रवादी गोरखा परिषद्का उम्मेदवार बेनीबहादुर कार्की ३,२१९ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यप्रसाद उपाध्यायले २,८४० मत प्राप्त गरेका थिए। नेपाली कांग्रेसका प्रभावशाली नेता उपाध्याय रामेछाप दक्षिणसहित काठमाडौँ क्षेत्र नम्बर ५ बाट समेत उम्मेदवार भई दुवै क्षेत्रबाट पराजित भएका थिए। पछि उनी महासभामा निर्वाचित भई बीपी कोइरालाको नेतृत्वमा गठन भएको पहिलो जननिर्वाचित सरकारमा गृह र कानुनमन्त्रीसमेत भए।

पूर्व ४ नम्बर निर्वाचन क्षेत्र नम्बर २६ धनकुटा मध्यमा नेपाली कांग्रेसका तेजमान तुम्वाहाम्फे ४,३९८ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गणेशबहादुर प्रसाईँले २,६२१ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ३३ मोरङ विराटनगर पश्चिमोत्तरमा नेपाली कांग्रेसका ज्ञानचन्द्र सरदार ५,४५५ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टीका दिव्यराज आचार्यले ५,३०७ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ४३ जनकपुरमा नेपाली कांग्रेसका  महेन्द्रनारायण निधि १०,१२० मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी तराई कांग्रेसका उम्मेदवारले ३,६५८ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ५६ चितवन चिसापानीमा नेपाली कांग्रेसका विश्वबन्धु थापा ६,८२९ मतसहित निर्वाचित भएका थिए। कुल ४३,९०१ मतदाता रहेको उक्त क्षेत्रमा १५,७१४ मत खसेको थियो। थापाका निकटतम प्रतिद्वन्द्वी संयुक्त प्रजातन्त्र पार्टीका टेकबहादुर गुरुङले ३,९५५ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ५९ पाल्ही माझखण्ड पश्चिममा संयुक्त प्रजातान्त्रिक पार्टीका काशीप्रसाद श्रीवास्तव १४,१५६ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल प्रजातान्त्रिक महासभाका  विष्णुप्रसाद चौधरीले २,२७५ मत प्राप्त गरेका थिए। उक्त निर्वाचनमा सबैभन्दा बढी मतसहित निर्वाचित हुने उम्मेदवार श्रीवास्तव नै हुन्।

निर्वाचन क्षेत्र नम्बर ७१ डोटी दक्षिणमा नेपाली कांग्रेसका शिवराज पन्त ७,२२६ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी संयुक्त प्रजातन्त्र पार्टीका उम्मेदवार डा केआई सिंह (पूर्व प्रधानमन्त्री एवं सोही पार्टीका अध्यक्ष) ले ३,९६६ मत प्राप्त गरेका थिए। पन्त अर्को निर्वाचन क्षेत्र नम्बर ७० बाट पनि निर्वाचित भएका थिए।

निर्वाचन क्षेत्र नम्बर ९५ नुवाकोट दक्षिण पूर्वबाट नेपाली कांग्रेसका जमानसिंह गुरुङ १३,८१० मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल राष्ट्रवादी गोरखा परिषद्का जिमु शोभाकान्त शर्माले २६८६ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ९९ पोखरा पश्चिमामा नेपाली कांग्रेसका मीनबहादुर गुरुङ ९,४७९ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी ज. हरिशमशेर जबराले ४,४८५ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर १०८ नुवाकोट उत्तरमा नेपाल राष्ट्रवादी गोरखा परिषद्का देववीर पाण्डे ४३५४ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बद्रीराम उपाध्याय भण्डारीले ४,१३७ मत प्राप्त गरेका थिए।

फागुन १६ गते सम्पन्न निर्वाचनमा निर्वाचित

निर्वाचन क्षेत्र नम्बर ३७ सप्तरी पश्चिममा स्वतन्त्र उम्मेदवार हरिलाल चौधरी ६,१३२ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टीका कृष्णराज बर्माले ६,०५२ मत प्राप्त गरेका थिए। उक्त निर्वाचनमा ४ जना स्वतन्त्र उम्मेदवारले निर्वाचन जितेका थिए।

निर्वाचन क्षेत्र नम्बर ५२ बारा मध्ये उत्तरमा नेपाली कांग्रेसका जनरल सुवर्णशमशेर जबरा ७,२२१ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल राष्ट्रवादी गोरखा परिषद्का मनमोहन मिश्रले ५,९४८ मत प्राप्त गरेका थिए। सुवर्णले उक्त क्षेत्रबाट राजीनामा दिएपछि भएको उपनिर्वाचनमा उनै नेपाल राष्ट्रवादी गोरखा परिषद्का मनमोहन मिश्र निर्वाचित भएका थिए।

निर्वाचन क्षेत्र नम्बर ७५ दैलेख पश्चिममा नेपाल राष्ट्रवादी गोरखा परिषदका इन्द्रसिंह रावल ५६०८ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी संयुक्त प्रजातन्त्र पार्टीका टेकबहादुर रावलले ३,०५३ मत प्राप्त गरेका थिए।

फागुन १९ गते सम्पन्न निर्वाचनमा निर्वाचित

पूर्व १ नम्बर निर्वाचन क्षेत्र नम्बर ८ चौतारा मध्य पश्चिमा नेपाल राष्ट्रवादी गोरखा परिषदका सुरेन्द्रप्रसाद उपाध्याय ५,२०० मत सहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आशाकाजीले २६७२ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ४४ महोत्तरी प्रगन्ना पूर्वमा नेपाली कांग्रेसका रामनारायण मिश्र ११,६४३ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल प्रजापरिषद मिश्र गुटका सुन्दरलालले ६५८७ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ५८ पाल्ही पश्चिम माझखण्ड मध्यमा संयुक्त प्रजातन्त्र पार्टीका त्रिवेणी कुर्मी ९,२८२ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अनगमान श्रेष्ठले २,५३४ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ७६ दैलेख मध्यमा नेपाली कांग्रेसका भक्तबहादुर शाही २,२८२ मत सहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार केशवबहादुर शाहले १,०१७ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ६२ देउखुरी दाङ दक्षिण पूर्वमा नेपाली कांग्रेसका परशुनारायण चौधरी १२,७३७ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टीका नारायणप्रसाद शर्माले २,८३६ मत प्राप्त गरेका थिए।

पश्चिम १ नम्बर निर्वाचन क्षेत्र नम्बर १०६ धादिङ दक्षिणमा नेपाल राष्ट्रवादी गोरखा परिषद्का  ललितबहादुर घले ६,०५० मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतप्रसाद उप्रेतीले २,५१८ मत प्राप्त गरेका थिए।

फागुन २१ गते सम्पन्न निर्वाचनमा निर्वाचित

पूर्व ४ नम्बर निर्वाचन क्षेत्र नम्बर २१ भोजपुर उत्तर पूर्वमा नेपाली कांग्रेसका दिवानसिंह राई ६,३०१ मत सहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सुरेन्द्रबहादुर बस्नेतले ३,३१९ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर २७ धनकुटा दक्षिणमा नेपाली कांग्रेसका दगलसिं सेन लिम्बुले राई ५,२०२ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल राष्ट्रवादी गोरखा परिषदका राजनारायणले १,४५८ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ३८ सप्तरी पश्चिम धनछ्वारमा नेपाली कांग्रेसका सूर्यनाथ दास यादव ७,३८२ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टीका चन्द्रेश्वरलाल दासले ६,७१३ मत प्राप्त गरेका थिए।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर ५१ बारा मध्यदक्षिणमा नेपाली कांग्रेसका भागवत यादव ८,०९५ मतसहित निर्वाचित भएका थिए।

निर्वाचन क्षेत्र नम्बर ५५ चिसापानी मकवानपुरमा नेपाल राष्ट्रवादी गोरखा परिषदका ताराप्रसाद उपाध्याय ८,९७३ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामलालले २,६२२ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ७८ सल्यान पश्चिमोत्तरमा नेपाली कांग्रेसका राजा स्वयंप्रकाश विक्रम शाह १०,२८१ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल राष्ट्रवादी गोरखा परिषदका सुदर्शनले २,४५४ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ९० गुल्मी उत्तर पश्चिमा नेपाली कांग्रेसका नीलाम्बर शर्मा ९,४८४ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल राष्ट्रवादी गोरखा परिषदका प्रेमबहादुर मल्लले ७,०२५ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ९६ नुवाकोट दक्षिण पश्चिममा नेपाली कांग्रेसका येमबहादुर ठकुरी ११,३०२ मतसहित निर्वाचित भएका थिए।

निर्वाचन क्षेत्र नम्बर १०२ पोखरा दक्षिण पश्चिमा नेपाली कांग्रेसका पद्मबहादुर १२,२३७ मत सहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल राष्ट्रवादी गोरखा परिषदका तरवीरजंग शाहीले ५,०४४ मत प्राप्त गरेका थिए।

फागुन २३ गते सम्पन्न निर्वाचनमा निर्वाचित

पूर्व १ नम्बर निर्वाचन क्षेत्र नम्बर ७ चौतारा उत्तरपूर्वमा नेपाली कांग्रेसका चन्द्रलाल श्रेष्ठ ३,८४४ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल राष्ट्रवादी गोरखा परिषदका लेफ्टिनेन्ट जनल युवराज शमशेरले ३,५५८ मत प्राप्त गरेका थिए।

पूर्व २ नम्बर निर्वाचन क्षेत्र नम्बर १३ रामेछाप उत्तरमा नेपाल राष्ट्रवादी गोरखा परिषद्का विष्णुप्रसाद उप्रेती ५,४१३ मतसहित निर्वाचित भएका थिए। निर्वाचन क्षेत्र नम्बर २५ धनकुटा पूर्व मध्यमा नेपाली कांग्रेसका प्रेमराज आङदम्बे ८,६१४ मत सहित निर्वाचित भएका थिए।

निर्वाचन क्षेत्र नम्बर ४५ महोत्तरी प्रगन्ना पश्चिममा नेपाली कांग्रेसका वेणीमाधव सिंह १०,३६० मतसहित निर्वाचित भएका थिए। निर्वाचन क्षेत्र नम्बर ६६ डडेल्धुरामा नेपाली कांग्रेसकी द्वारिकाचन्द ठकुरानी निर्वाचित भएकी थिइन्।

उक्त आमनिर्वाचनमा राजनीतिक दलका तर्फबाट एउटै महिला उम्मेदवार उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी संयुक्त प्रजातन्त्र पार्टीका उम्मेदवार लक्ष्मीदत्त भट्टलाई २,०६४ मतको फराकिलो मतान्तरले पराजित गरेकी थिइन्। त्यहाँ खसेको ८,१४४ मतमध्ये उनले ३,९०३ मत प्राप्त गरेकी थिइन्। यसरी उनले नेपालको पहिलो निर्वाचित महिला सांसद संगसंगै पहिलो महिला मन्त्री भएर इतिहाससमेत रचेकी थिइन्।

फागुन २४ गते सम्पन्न निर्वाचनमा निर्वाचित

निर्वाचन क्षेत्र नम्बर ५७ पाल्ही पूर्वमा नेपाली कांग्रेसका पृथ्वीराज कँडेल ६,८११ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र भवनी शंकरले ४,०९५ मत प्राप्त गरेका थिए। निर्वाचन क्षेत्र नम्बर ८५ प्युठान पूर्व दक्षिणमा नेपाली कांग्रेसका पं. पुरुषोत्तम शर्मा ३,९८७ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टीका मोहनविक्रम घर्ती क्षेत्रीले २,५४९ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर १०७ धादिङ उत्तरमा नेपाल राष्ट्रवादी गोरखा परिषदका भरतशमशेर जबरा ८,८८० मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगतप्रकाशजंग शाहले ३,६०४ मत प्राप्त गरेका थिए। भरतशमशेर पहिलो संसद्मा प्रतिपक्षी दलका नेता थिए।

फागुन २६ गते सम्पन्न निर्वाचनमा निर्वाचित

निर्वाचन क्षेत्र नम्बर २८ इलाम पश्चिम पाँचथर दक्षिणमा नेपाली कांग्रेसका गणेशप्रसाद उपाध्याय ६,७१० मतसहित निर्वाचित भएका थिए। निर्वाचन क्षेत्र नम्बर ३९ सिरहा मध्यमा नेपाली कांग्रेसका देवनाथ दास ११,७७० मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र बुन्निलाल महतो ४४४६ मत प्राप्त गरेका थिए। निर्वाचन क्षेत्र नम्बर ४८ रौतहट पश्चिम दक्षिणमा नेपाल प्रजापरिषद् आचार्य गुटका शेख इद्रिस ७,४९० मतसहित निर्वाचित भएका थिए।
क्षेत्र नम्बर १०३ पोखरा दक्षिण पूर्वमा नेपाली कांग्रेसका श्रीभद्र शर्मा ६,२४० मतसहित निर्वाचित भएका थिए।

फागुन २८ गते सम्पन्न निर्वाचनमा निर्वाचित

निर्वाचन क्षेत्र नम्बर ४६ असिभौ कोद्राहमा स्वतन्त्र उम्मेदवार रामदुलार राय यादव ४,५५० मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोजराम उपाध्यायले ३,९९३ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ७२ अछाम बाजुरामा नेपाली कांग्रेसका दिलबहादुर बुढाथापा ९,६०५ मतसहित निर्वाचित भएका थिए। निर्वाचन क्षेत्र नम्बर ७९ सल्यान मध्यपश्चिममा नेपाली कांग्रेसका नेवबहादुर मल्ल ६,०१६ मतसहित निर्वाचित भएका थिए।

निर्वाचन क्षेत्र नम्बर ८९ गुल्मी उत्तर पूर्वमा नेपाली कांग्रेसका गिरिप्रसाद बुढाथोकी ८,३६२ मतसहित निर्वाचित भएका थिए। पश्चिम ४ नम्बर निर्वाचन क्षेत्र नम्बर ९७ नुवाकोट मध्यमा नेपाली कांग्रेसका डिकबहादुर गुरुङ १०,११४ मतसहित निर्वाचित भएका थिए।

चैत २ गते सम्पन्न निर्वाचनमा निर्वाचित

पूर्व १ नम्बर निर्वाचन क्षेत्र नम्बर ६ चौतारा उत्तर पश्चिममा नेपाल राष्ट्रवादी गोर्खा परिषदका गुणनिधि ५,४९० मत सहित निर्वाचित भएका थिए। त्यस्तै पूर्व २ नम्बर निर्वाचन क्षेत्र नम्बर १२ दोलखा मध्यमा नेपाल राष्ट्रवादी गोर्खा परिषदका उम्मेदवार मेजर जनल मृगेन्द्रशमशेर जबरा ६,१४५ मतसहित निर्वाचित भएका थिए।

पूर्व ३ नम्बर निर्वाचन क्षेत्र नम्बर १६ ऎसेलुखर्कमा नेपाली कांग्रेसका उम्मेदवार मणिराम शास्त्री ६,९४६ मतसहित निर्वाचित भएका थिए। निर्वाचन क्षेत्र नम्बर २४ धनकुटा उत्तर पूर्वमा नेपाली कांग्रेसका उम्मेदवार कुलमान लिम्बु ४,८५१ मतसहित निर्वाचित भएका थिए।

निर्वाचन क्षेत्र नम्बर २९ इलाम मध्यपूर्वमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णबहादुर भट्टराई ८,१७० मतसहित निर्वाचित भएका थिए। निर्वाचन क्षेत्र नम्बर ४० सप्तरी पश्चिमा नेपाली कांग्रेसका माधवप्रसाद रेग्मी ७,५०० मतसहित निर्वाचित भएका थिए। क्षेत्र नम्बर ४९ रौतहट मध्य पूर्वमा नेपाल कम्युनिस्ट पार्टीका शेख फर्मान ४,९८४ मतसहित निर्वाचित भएका थिए। निर्वाचन क्षेत्र नम्बर ६७ बैतडी पूर्व दक्षिणमा नेपाली कांग्रेसका दुर्गादत्त जोशी ५,२६४ मतसहित निर्वाचित भएका थिए।

निर्वाचन क्षेत्र नम्बर ८४ प्युठान मध्यपूर्वमा नेपाली कांग्रेसका अनिरुद्र उपाध्याय ७,८८८ मतसहित निर्वाचित भएका थिए। निर्वाचन क्षेत्र नम्बर ९३ पाल्पा पश्चिममा नेपाली कांग्रेसका अच्युतराज रेग्मी ६,२८२ मतसहित निर्वाचित भएका थिए।

चैत ५ गते सम्पन्न निर्वाचनमा निर्वाचित

निर्वाचन क्षेत्र नम्बर ४७ सर्लाही पश्चिममा नेपाल प्रजापरिषद् मिश्र गुटका निस्तार राय ४,५२० मतसहित निर्वाचित भएका थिए। निर्वाचन क्षेत्र नम्बर ७४ जुम्ला दक्षिणमा स्वतन्त्र उम्मेदवार जयबहादुर महत क्षेत्री ३,००१ मत सहित निर्वाचित भएका थिए। निर्वाचन क्षेत्र नम्बर ८० सल्यान फालावाङ राज्य दाङ उत्तर पश्चिममा नेपाली कांग्रेसका गणेशकुमार शर्मा ८,८७७ मतसहित निर्वाचित भएका थिए।

निर्वाचन क्षेत्र नम्बर ८८ बागलुङ दक्षिण पूर्वमा नेपाल राष्ट्रवादी गोर्खा परिषद्का हरिदत्त पाध्या ८,८७० मत सहित निर्वाचित भएका थिए। निर्वाचन क्षेत्र नम्बर १०१ पोखरा पूर्वमा नेपाली कांग्रेसका नरेन्द्रजंग गुरुङ ८,३६७ मत सहित निर्वाचित भएका थिए। निर्वाचन क्षेत्र नम्बर १०५ गोरखा दक्षिणमा नेपाल राष्ट्रवादी गोर्खा परिषदका कोमलबहादुर कँुवर ३,२३२ मत सहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका लालध्वज गुरुङले १,६२९ मत प्राप्त गरेका थिए।

चैत ७ गते सम्पन्न निर्वाचनमा निर्वाचित

निर्वाचन क्षेत्र नम्बर ५० बारा, पर्सा रौतहट उत्तर दोस्तियामा नेपाल कम्युनिस्ट पार्टीका हरदयाल महतो ५,२५० मत सहित निर्वाचित भएका थिए। निर्वाचन क्षेत्र नम्बर ७० थलारा डोटी उत्तरमा नेपाली कांग्रेसका शिवराज पन्त ५,१९९ मत सहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्दी नेपाल प्रजापरिषद पार्टीका नन्दलाल जोशीले ३,२३१ मत प्राप्त गरेका थिए। ७० र ७१ दुवै निर्वाचन क्षेत्रबाट निर्वाचित शिवराज पन्तले ७० बाट राजीनामा गरेपछि त्यहाँ उपनिर्वाचन भएको थियो। उपनिर्वाचनमा नेपाली कांग्रेसका नवराज जोशी निर्विरोध निर्वाचित भएका थिए।

निर्वाचन क्षेत्र नम्बर ९८ नुवाकोट उत्तरमा संयुक्त प्रजातन्त्र पार्टीका धीरबहादुर गुरुङ ४,५१८ मतसहित निर्वाचित भएका थिए।

चैत ११ गते सम्पन्न निर्वाचनमा निर्वाचित

निर्वाचन क्षेत्र नम्बर ११ दोलखा उत्तरमा नेपाली कांग्रेसका गृहबहादुर बस्नेत ३,९१८ मत मत सहित निर्वाचित भएका थिए। निर्वाचन क्षेत्र नम्बर १८ माने भञ्ज्याङमा नेपाली कांग्रेसका बलबहादुर राई ७,१२९ मत सहित निर्वाचित भएका थिए।

निर्वाचन क्षेत्र नम्बर २३ धनकुटा उत्तर पश्चिममा नेपाली कांग्रेसका पदमनाथ रेग्मी ८,३७० मत मत सहित निर्वाचित भएका थिए। निर्वाचन क्षेत्र नम्बर ३४ उदयपुरमा नेपाली कांग्रेसका अम्बरसिंह बस्नेत क्षेत्री ५,६५३ मतसहित निर्वाचित भएका थिए।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर ८३ प्युठान उत्तर पश्चिममा नेपाली कांग्रेसका खडानन्द उपाध्याय ४।६०४ मत मत सहित निर्वाचित भएका थिए।

चैत १३ गते सम्पन्न निर्वाचनमा निर्वाचित

निर्वाचन क्षेत्र नम्बर ३० झापामा ९,४०९ मत सहित नेपाली कांग्रेसका फत्तेबहादुर बुढाथोकी निर्वाचित भएका थिए। निर्वाचन क्षेत्र नम्बर ६८ बैतडी उत्तर पश्चिममा नेपाली कांग्रेसका कृष्णलाल लेखक ५,७६१ मत सहित निर्वाचित भएका थिए।
निर्वाचन क्षेत्र नम्बर ९४ पाल्पा पूर्वमा नेपाल कम्युनिस्ट पार्टीका कमलराज रेग्मी ६,५६३ मत सहित निर्वाचित भएका थिए।

निर्वाचन क्षेत्र नम्बर १०४ गोरखा उत्तरबाट नेपाल राष्ट्रवादी गोर्खा परिषदका विश्वनाथ सुवेदी ३,१३३ मत सहित निर्वाचित भएका थिए। उक्त क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद भट्टराई (निर्वाचनमा पराजित भए पनि उनी उक्त संसदको सभामुख भए र पछि ०४८ र २०५६ मा प्रधानमन्त्री समेत भए।)

चैत १६ गते सम्पन्न निर्वाचनमा निर्वाचित

निर्वाचन क्षेत्र नम्बर ९९ बझाङमा नेपाली कांग्रेसका मीनबहादुर गुरुङ ९,४७९ मत सहित निर्वाचित भएका थिए। त्यस्तै निर्वाचन क्षेत्र नम्बर ८६ बागलुङमा नेपाली कांग्रेसका राजा भरत बम मल्ल ८,२२२ मत सहित निर्वाचित भएका थिए। निर्वाचन क्षेत्र नम्बर १०० पोखरा मध्यमा नेपाली कांग्रेसका श्रीकान्त अधिकारी १०,१०६ मत सहित निर्वाचित भएका थिए।

चैत २१ गते सम्पन्न निर्वाचनमा निर्वाचित

निर्वाचन क्षेत्र नम्बर १७ ओखलढुंगामा नेपाली कांग्रेसका पेशलकुमार पोखरेल ६,५०१ मत सहित निर्वाचित भएका थिए। र्वाचन क्षेत्र नम्बर ७३ जुम्ला उत्तरमा स्वतन्त्र उम्मेदवार भीमप्रसाद श्रेष्ठ २८६४ मतसहित निर्वाचित भएका थिए। जुम्लाका दुव निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारले जितेका थिए।

निर्वाचन क्षेत्र नम्बर ८७ बागलुङ उत्तरमा नेपाली कांग्रेसका योगेन्द्रमान शेरचन १०,६११ मत सहित निर्वाचित भएका थिए। यही निर्वाचन क्षेत्रको एउटा मतदान केन्द्रमा मतदान हुन नसक्दा समग्र निर्वाचन परिणाम ढिला भएको थियो।

प्रकाशित: १४ माघ २०८२ १६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast