नाटोका युरोपेली सदस्य राष्ट्रका सैनिकसँगै ग्रिनल्यान्डको कांगेरलुसुवाकमा एक अभ्यासमा सहभागी डेनिस सैन्य बल। फाइल तस्बिर : एपी/रासस
नर्वेका रक्षामन्त्री टोरे स्यान्डभिक एउटा नक्सा हेर्दै छन्- जसमा विश्वलाई आर्कटिक (उत्तरी ध्रुवीय क्षेत्र) को दृष्टिकोणबाट देखाइएको छ। स्यान्डभिकले रुसको कोला प्रायद्वीपतर्फ इसारा गर्छन्, जुन विश्वकै सबैभन्दा ठूला आणविक हतियार भण्डारहरूमध्ये एकको घर हो। यो उत्तरी नर्वेको सिमानापारि आर्कटिक ‘वृत्त’ भित्र अवस्थित छ।
‘कोलाबाट संयुक्त राज्य अमेरिकाका दुवै तटमा रहेका प्रमुख सहरतर्फ प्रहार गरिने क्षेप्यास्त्रको सबैभन्दा छोटो उडान मार्ग आर्कटिक हुँदै उत्तरी ध्रुव र ग्रिनल्यान्डको नजिकबाट जान्छ,’ उनले भने, ‘एक अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र प्रतिसेकेन्ड सात किलोमिटर गतिमा तल आउँछ र प्रक्षेपण भएको १८ मिनेटभित्रै यो अमेरिकाको कुनै पनि प्रमुख सहरमा पुग्न सक्छ।’
उनका अनुसार यो मातृभूमि रक्षाको कुरा हो। उनले भने, ‘त्यसैले हामीले राष्ट्रपति ट्रम्प र हाम्रा सहयोगी राष्ट्रहरूसँगको भेटमा यो विषयलाई प्रमुखताका साथ राखिरहेका छौँ। यो अमेरिकाका लागि मात्रै नभएर बेलायत, फ्रान्स, जर्मनी र सम्पूर्ण गठबन्धनकै लागि मातृभूमि रक्षाको विषय हो।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो एक वर्षमा डेनमार्कको अधीनमा रहेको आर्कटिक टापु ग्रिनल्यान्ड प्राप्त गर्ने इच्छा व्यक्त गर्दै यस क्षेत्रप्रति आक्रामक र विवादास्पद चासो देखाएका छन्।
गत साता नाटोका महासचिव मार्क रुट्टेसँग विश्वकै सबैभन्दा ठूलो टापु (ग्रिनल्यान्ड) का सम्बन्धमा एउटा ढाँचामा सहमति जनाउँदै ट्रम्पले गठबन्धनको ध्यान आर्कटिक सुरक्षातर्फ मोडिदिएका छन्, जुन विषयलाई नर्डिक देशहरूले दशकौँदेखि उठाउँदै आएका थिए।
‘नाटोले आर्कटिक क्षेत्रमा आफ्नो संलग्नता बढाउनुपर्छ,’ डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले भने, ‘आर्कटिकको रक्षा र सुरक्षा सम्पूर्ण गठबन्धनको साझा सरोकारको विषय हो।’
सबै आर्कटिक राष्ट्रहरू रहेका पाँच नर्डिक देशका लागि यसले भूराजनीतिक छलफल आफूले चाहेको दिशामा अर्थात् रुसबाट आउन सक्ने खतराको विषयतर्फ फर्काउने एउटा अवसर प्रदान गरेको छ।
शीतयुद्ध अन्त्यपछि रुससहित लगभग सबै आर्कटिक राष्ट्रहरूले आफ्ना सैन्य अड्डा बन्द गर्दै सैन्य उपस्थितिमा कटौती गरे। यसै क्रममा अमेरिकाले पनि ग्रिनल्यान्ड र आइसल्यान्डमा रहेका आफ्ना कैयौँ सैन्य अड्डा बन्द गरेको थियो।
रुसले पश्चिमी शक्ति राष्ट्रहरूभन्दा धेरै अघि अर्थात् सन् २००० को दशकमा राष्ट्रपति भ्लादिमिर पुटिनको नेतृत्वमा आर्कटिक क्षेत्रको सैन्य र आर्थिक पुनरुत्थान सुरु गरिसकेको थियो।
आर्कटिकको लगभग आधा जमिन र जलक्षेत्रमा रुसको नियन्त्रण छ, जसले गर्दा यस क्षेत्रमा उपस्थिति रहेका आठ देशमध्ये रुसको उपस्थिति सबैभन्दा ठूलो छ। यी आठ देशमा अमेरिका र क्यानडाका साथै पाँच नर्डिक राष्ट्रहरू नर्वे, स्विडेन, फिनल्यान्ड, डेनमार्क र आइसल्यान्ड पर्दछन्।
आज मस्कोसँग आर्कटिक तटमा सैन्य अड्डा, विमानस्थल, राडार स्टेसन र बन्दरगाहसहित ४० भन्दा बढी सैन्य संरचना छन्।
मस्कोको आणविक सिद्धान्तमा आर्कटिकले निर्णायक भूमिका खेल्छ। इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिज (आईआईएसएस) का अनुसार यो रुसको उत्तरी जलसेनाको गृहक्षेत्र हो, जसको आधार शिविर कोला प्रायद्वीपको सेभेरोमोर्स्कमा छ। जलसेनाले रुसका कुल १२ आणविक हतियारधारी पनडुब्बीहरूमध्ये ६ वटा सञ्चालन गर्दछ।
‘उत्तरी जलसेना र यसका पनडुब्बीहरू रुसको रणनीतिक प्रतिरोधका आधारस्तम्भ हुन्। यसको महत्त्वका कारण यसलाई आधुनिकीकरण गर्ने काम भइरहेको छ,’ युरोपियन युनियन इन्स्टिच्युट फर सेक्युरिटी स्टडिजका वरिष्ठ रुस विश्लेषक ओन्ड्रेज डिट्रिचले भने।
रुसले नोभाया जेम्ल्यामा रहेको आफ्नो आणविक परीक्षण स्थलमा उच्च स्तरको सतर्कता कायम राखेको छ। यो आर्कटिक क्षेत्रको एउटा टापु समूह हो जहाँ गत अक्टोबरमा उसले आणविक शक्तिबाट चल्ने ब्युरेभेस्तनिक क्रुज मिसाइल परीक्षण गरेको थियो। साथै रुसले उत्तरी समुद्री मार्गको प्रयोगलाई पनि प्रोत्साहन गरिरहेको छ, जुन रुसको माथिल्लो भाग हुँदै जान्छ। यसले चीन र युरोपबीचको ढुवानी समय निकै छोटो बनाउने सम्भावना बोकेको छ। यद्यपि हाल यस मार्गमा जहाजहरूको आवतजावत लक्ष्यभन्दा कम छ।
रुसका नर्डिक छिमेकीहरूले यस गतिविधिलाई बढ्दो चिन्ताका साथ नियालिरहेका छन् र नाटोलाई यसमा थप संलग्न हुन आग्रह गरिरहेका छन्। यद्यपि केही हदसम्म अमेरिका जस्ता राष्ट्रहरूको विरोधका कारण उनीहरूले यसमा खासै सफलता पाउन सकेका छैनन्।
‘हामीलाई थाहा छ- उत्तरमा रुसीहरूको गतिविधि बढिरहेको छ। सुरक्षाको अवस्था यस्तो पनि छ- जब ध्रुवीय बरफ पग्लिरहेको छ, चीन एक क्षेत्रीय प्रभुत्वशाली शक्तिका रूपमा उदीयमान भइरहेको छ जसको विश्वव्यापी स्वार्थ छ। उनीहरूले आफूलाई निकट-आर्कटिक राष्ट्रका रूपमा घोषणा गरेका छन्’, नर्वेका रक्षामन्त्री स्यान्डभिकले भने।
अर्को नर्डिक देशका एक वरिष्ठ अधिकारीले थपे, ‘हाम्रो छिमेकमा सैन्य स्रोतसाधनहरूको एकाग्रता निकै ठूलो छ।’
नाटोका सबैभन्दा वरिष्ठ सैन्य अधिकारी एडमिरल जुसेप्पे काभो ड्रागोनेले गत अक्टोबरमा आर्कटिक क्षेत्र सैन्य गठबन्धनका लागि ‘ठूलो चासोको विषय’ भएको बताएका थिए। उनका अनुसार नाटो यस क्षेत्रलाई स्वतन्त्र जलयात्रा र खानी उत्खनन तथा तेल र ग्यास अन्वेषणजस्ता उदीयमान व्यावसायिक अवसरका लागि खुला राख्न प्रतिबद्ध छ।
अमेरिका, बेलायत र फ्रान्ससहित नाटोका धेरै सदस्य राष्ट्रहरूले नर्वे, फिनल्यान्ड र ग्रिनल्यान्डमा हुने आर्कटिक तालिमलाई तीव्र बनाएका छन्। आगामी मार्चमा यस गठबन्धनका करिब २५ हजार सैनिकहरूले- जसमा चार हजार अमेरिकी सैनिक पनि सामेल हुनेछन्- उत्तरी नर्वेमा हुने ‘कोल्ड रेस्पोन्स’ अभ्यासमा भाग लिनेछन्।
रुसबाट हुने खतराप्रति अमेरिकाको ध्यान पुनः आकर्षित गर्ने प्रयासका साथै नर्डिक देशहरूले यो पनि आशा राखेका छन् कि आर्कटिक सुरक्षामा देखिने नयाँ चासोले उनीहरूलाई अमेरिकाका लागि आफ्नो उपयोगिता प्रदर्शन गर्ने मौका दिनेछ।
आर्कटिकमा हुने कुनै पनि द्वन्द्वमा नाटो र रुसबीच नियन्त्रणका लागि होडबाजी हुने समुद्रका दुईवटा महत्त्वपूर्ण क्षेत्रहरू छन्- एउटा, ग्रिनल्यान्ड, आइसल्यान्ड र बेलायतबीचको प्रख्यात जीआईयूके ग्याप र अर्को नर्वेको टापु समूह सभालबार्ड र यसको मुख्य भूमि बीचको ‘बियर ग्याप’ जुन कोला प्रायद्वीप नजिकै गएर टुंगिन्छ।
एक वरिष्ठ नर्डिक अधिकारीका अनुसार अमेरिका पनि यस्तो गुप्तचर सूचनामा निर्भर छ। यो निश्चित रूपमा दुईतर्फी सम्बन्ध हो। रुसले आफ्नो सिमानामा के गरिरहेको छ भन्नेबारे हामीसँग राम्रो वस्तुस्थितिगत जानकारी छ। अमेरिकाले पनि रुसको निगरानी गर्न हाम्रो हवाई क्षेत्र प्रयोग गर्न सक्छ।
आर्कटिकमा धेरैजसो चासो जमिनमा हुने सैन्य कारबाहीको तयारीमा भन्दा पनि आकाश वा पानीमुनिबाट के आउन सक्छ भन्ने कुराको निगरानीमा केन्द्रित छ। ‘ग्रिनल्यान्डमा आक्रमण गरेर कब्जा गर्नु असम्भव छ। तपाईँले नुक कब्जा गर्न सक्नुहोला, तर यसको ९५ प्रतिशत भाग हिउँ र बरफले ढाकिएको छ र तपाईँले त्यसलाई कब्जा गर्न सक्नुहुन्न,’ एक डेनिस अधिकारीले भने।
विशेषगरी ट्रम्पले आफ्नो प्रस्तावित ‘गोल्डेन डोम’ मिसाइल प्रतिरक्षा प्रणालीका लागि ग्रिनल्यान्डलाई लक्षित गरिरहेको देखिन्छ। यस प्रणालीले अमेरिकातर्फ आउने विभिन्न क्षेप्यास्त्रहरूलाई रोक्नका लागि सेन्सर, उपग्रह र इन्टरसेप्टरहरू प्रयोग गर्नेछ।
अमेरिकाले यस आर्कटिक टापुमा मुख्य सैन्य संरचना सञ्चालन गर्दछ, जुन सुदूर उत्तरपश्चिममा रहेको ‘पिटुफिक स्पेस बेस’ हो। यसलाई प्रारम्भिक चेतावनी दिने राडार प्रणालीका लागि प्रयोग गरिन्छ।
हालसम्म विश्वका थोरै ‘कम तनाव’ भएका क्षेत्रमध्ये एक मानिने आर्कटिकमा भइरहेको यो सैन्यीकरणलाई लिएर धेरै नर्डिक देशहरू चिन्तित छन्। उनीहरू यस क्षेत्रमा लाखौँ मानिसको बसोबास रहेको र तीमध्ये धेरैजसो त्यहाँका आदिवासी जनजाति रेहको बताउँछन्।
‘आर्कटिकको एजेन्डामा सुरक्षाको मुद्दामा सबैको चासो छ। हामीले जलवायु परिवर्तन, पूर्वाधार र आदिवासी जनजातिको अधिकार जस्ता उत्तिकै महत्त्वपूर्ण विषयहरूलाई बिर्सिरहेका छौँ,’ अर्को एक वरिष्ठ नर्डिक अधिकारीले भने, ‘आर्कटिकको सैन्यीकरणबाट प्राप्त गर्न सकिने कुरा धेरै छैन, किनभने यो क्षेत्र कुनै पनि गतविधिको लागि अत्यन्तै कठिन छ।’
युक्रेनमा भइरहेको युद्धका कारण आर्कटिकमा रुसको सैन्य विस्तारको गति सुस्त भएको छ। ‘आर्कटिकका केही सैन्य ब्रिगेडहरूलाई युक्रेनमा खटाइएको र त्यहाँ उनीहरूले ठूलो क्षति बेहोर्नुपरेकाले आर्कटिकका सैन्य स्थलहरूमा वास्तविक सैन्य उपस्थिति घटेको छ,’ डिट्रिचले भने। फाइनान्सियल टाइम्सबाट



