त्रिशूली नदीमा बालुवामा पुरिएको बस निकाल्दै सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी। फाइल तस्बिर सौजन्य : सशस्त्र प्रहरी बल
दमौली (तनहुँ)- तनहुँको आबुखैरेनी गाउँपालिका-५, दोन्द्राङवेसीस्थित त्रिशूली नदीमा किनारमा भेटिएको गणपति डिलक्स बसको उत्खनन कार्य आज (मंगलबार) देखि स्थगित गरिएको छ।
उत्खनन सुरु भएको १७औँ दिनमा स्थगित गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिए। बसको केही भाग पानीबाट निकालिएको र बाँकी भाग निकाल्न समस्या भएपछि काम रोक्ने निर्णय गरिएको उनले बताए।
गत पुस २६ गते त्रिशूली नदीमा बस भेटिएपछि पुस २७ गतेदेखि सुरु गरिएको उत्खनन कार्यको सोह्रौँ दिन हिजो (सोमबार) बसभित्र मानव कंकाल भेटिएको थियो। बसको भित्री भागबाट मानव कंकाल भेटिएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।
२०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत सिमलताल क्षेत्रमा गएको लेदोसहितको पहिरोमा परी काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको ‘गणपति डिलक्स’ बस नदीमा हराएको थियो। उक्त बस गत पुस २६ गते तनहुँतर्फ नदी किनारमा भेटिएको थियो।



