काठमाडौँ- फिल्म ‘भाइरल गोर्खे’ माघ १ देखि हलमा प्रदर्शनरत छ। तर फिल्मले भने सोचेअनुरुप व्यापार गर्न सकेको छैन्।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्सअफिस कलेक्सनअनुसार फिल्मले ९ दिनमा जम्मा ३४ लाख मात्र कमाउन सफल भएको छ।
माघ १० गतेसम्म फिल्मले ३४ लाख ५३ हजार ७ सय ६० रुपैयाँ कमाएको छ। फिल्मको १० हजार ६ सय ५ टिकट बिक्री भएको छ।
सौगात मल्ल अभिनीत फिल्ममा सामाजिक सञ्जालमा भाइरल बन्न मुख्य पात्र गोर्खेले गर्ने संघर्ष र अनौठो हर्कतको कथा देखाइएको छ।
गोर्खेको भूमिकामा सौगात मल्ल छन्। उनको जोडी बनेकी छन् अभिनेत्री सृष्टि श्रेष्ठ। फिल्म निगम श्रेष्ठले निर्देशन गरेका हुन्। सौगात र सृष्टिसँगै फिल्ममा बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, रवि भुजेल र मिस पवीलगायत कलाकारले अभिनय गरेका छन्।



