राष्ट्रियसभा निर्वाचन : कोशीबाट रोशनी मेचे र सोमनाथ पोर्तेल निर्वाचित

हिमाल प्रेस ११ माघ २०८२ १७:०३ | Sunday, January 25, 2026
16
SHARES
राष्ट्रियसभा निर्वाचन : कोशीबाट रोशनी मेचे र सोमनाथ पोर्तेल निर्वाचित

इटहरी- राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनबाट महिलातर्फ रोशनी मेचे र दलिततर्फ सोमनाथ पोर्तेल निर्वाचित भएका छन्।

आज भएको निर्वाचनमा मेचेले ७,१७३ मतभारसहित निर्वाचित भएकी हुन्। उनी नेकपा एमालेबाट उम्मेदवार बनेकी थिइन्। उनलाई नेकपाकी नमिता न्यौपानेले चुनौती दिएकी थिइन्। दलिततर्फ सोमनाथ पोर्तेल निर्वाचित भएका छन्। पोर्तेलले नेकपाकै खेम सुन्दासलाई पराजित गरे। यसअघि अन्यतर्फ कांग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित भएका थिए।

कोशीमा कुल ९३ प्रदेशसभा सदस्य र २७४ पालिका प्रतिनिधि मतदाता रहेका थिए। जसमध्ये मतदान प्रक्रियामा ५ जना प्रदेशसभा सदस्य र ९ जना स्थानीय तहका पदाधिकारी सहभागी भएनन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निर्वाचन बहिष्कार गरेको थियो। कोशी प्रदेशसभामा राप्रपाका ६ जना सांसद छन्। तीमध्ये संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिन प्रदेश सांसद पदबाट राजीनामा दिइसकेका छन्। बाँकी ५ जना सांसदहरू सभामुख अम्बरबहादुर विष्टसहित गोपालबहादुर विश्वकर्मा, नीमसरी राजवंशी, प्रेमराज थामसुहाङ र सबिना बजगाईंले मतदान गरेनन्।

स्थानीय तहतर्फ पनि राप्रपाबाट निर्वाचित जनप्रतिनिधिहरूले मतदानमा भाग लिएनन्। मतदान नगर्नेहरूमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, भद्रपुरकी उपप्रमुख राधा कार्की, हल्दीबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन र उपाध्यक्ष लक्ष्मीदेवी मैनाली लगायत रहेका छन्।

प्रकाशित: ११ माघ २०८२ १७:०३ | Sunday, January 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast