पोखरा- राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा प्रदेशसभातर्फ ५६ जना सांसदले मतदान गरेका छन्। पालिकातर्फ अध्यक्ष उपाध्यक्ष गरी १६५ जनाले मतदान प्रक्रियामा भाग लिएका छन्।
पोखराको राष्ट्र बैंक चोकस्थित निर्वाचन कार्यालयमा मतदान प्रक्रिया भइरहेको छ। सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेका अनुसार प्रदेशसभा सदस्यतर्फ ३६ जना पुरुष र २० जना महिला मतदाता (सांसद) ले भोट खसालेका हुन्। यसैगरी, पालिकातर्फ १०१ पुरुष र ६४ जना महिला मतदाताले भाग लिए।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङसमेतले मतदान गरिसकेका छन्।
गण्डकीमा ६० सदस्यीय प्रदेशसभा छ भने ८५ वटा पालिका छन्। पालिकातर्फ अध्यक्ष र उपाध्यक्ष गरी १७० मतदाता छन्। गण्डकी प्रदेशमा विभिन्न ११ जिल्ला पर्दछन्।
गण्डकीबाट राष्ट्रियसभा सदस्यका लागि अन्य र महिला क्लष्टरमा गरी २ जना सदस्य चुनिने छन्। दुवै पदमा ३-३ जना मनोनयन दर्ता गरेका हुन्।
गठबन्धनतर्फबाट महिला समूहमा एमालेकी सम्झना देवकोटा र नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट गोमा लुइँटेल घिमिरे र जनमोर्चाबाट लक्ष्मी बास्कोटा प्रतिस्पर्धामा छन्।
अन्य समूहमा गठबन्धनतर्फबाट कांग्रेसका जगत तिमिल्सिना जित उन्मुख छन्। नेकपाबाट कपिल लामा र जनमोर्चाबाट शंकरप्रसाद बराल उम्मेदवार छन्।
यसअघि गण्डकीबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ र नेकपा (एमाले) नेतृ भगवती न्यौपानेको कार्यकाल सकिएपछि चुनाव भएको हो। मतदान जारी छ।



