काठमाडौँ- विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका गगन थापालाई आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नै पारम्परिक निर्वाचन क्षेत्र काठमाडौँ-४ बाट प्रतिस्पर्धा गर्ने सुविधा थियो।आफैँ पार्टी सभापति भएका कारण पनि थापाले चाहेको भए यसपालि पनि काठमाडौँ-४ रोज्न सक्थे। उनी यो क्षेत्रबाट २०७० सालको दोस्रो संविधानसभाका साथै २०७४ र २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरेर निर्वाचित भएका थिए।
आफू निरन्तर निर्वाचित हुँदै आएको क्षेत्र छोडेर कांग्रेस सभापति थापाले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही-४ रोजेका छन्। सर्लाही-४ थापाका लागि बिल्कुलै नयाँ निर्वाचन क्षेत्र हो नै, अझ काठमाडौँको परिवेशभन्दा पनि फरक।
कांग्रेस सभापति थापाले त्यो क्षेत्रबाट निरन्तर चुनाव जित्दै आएका अमरेशकुमार सिंहसँग प्रतिस्पर्धा गर्नुपर्ने छ। कांग्रेसका तत्कालीन नेता सिंह हालसालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्।
आफ्नो पारम्परिक निर्वाचन क्षेत्र काठमाडौँ-४ छोडेर सर्लाही रोज्ने कांग्रेस सभापति थापाको निर्णयलाई धेरैले आश्चर्यका रूपमा हरेका छन्। हुन त कांग्रेस महामन्त्री रहेकै बेला २०७९ सालको निर्वाचनमा पनि थापा सर्लाही-४ बाट चुनाव लड्ने चर्चा चलेको थियो।
त्यो बेला क्षेत्रीय समिति हुँदै प्रदेश समितिमार्फत केन्द्रसम्म उनको नाम सिफारिससमेत भएको थियो। कांग्रेसमै रहेका सिंहको नाम भने सिफारिस भएन। अघिल्लो निर्वाचनमा टिकट नपाएपछि स्वतन्त्र उम्मदेवारी दिएर प्रतिस्पर्धा गरेका सिंहले कांग्रेस उम्मेदवार नागेन्द्र कुमारलाई पराजित गरे। सिंहले २० हजार १७ मत प्राप्त गर्दा कांग्रेसका नागेन्द्रले १८ हजार २५३ मत ल्याएका थिए।
स्वतन्त्र हैसियतमै अघिल्लो चुनाव जितेका सिंहसँग कांग्रेस सभापति थापाले किन ‘टक्कर’ लिन खोजे त? कांग्रेस महामन्त्री प्रदीप पौडेल भन्छन्, ‘पार्टी सभापति थापालाई मधेशमा उभ्याएर देश विकासको सुरुवात गर्न चाहेकोले सर्लाही-४ बाट उम्मेदवारी दिइएको हो।’
‘देशको जग मधेश हो, हामी हाम्रो सभापतिलाई मधेशमा उभ्याएर देश निर्माण गर्न चाहन्छौँ,’ शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग पौडेलले भने, ‘मधेशको जगबाट नेपालको निर्माण गर्न चाहन्छौँ।’
पौडेलले सबै नेपालीको भावना प्रतिनिधित्व गर्न कांग्रेसले आफ्नो सभापतिलाई सर्लाही–४ बाट उम्मेदवार प्रस्ताव गरेको बताए। कांग्रेसको यो निर्णयले देशलाई एकीकृत गर्न मद्दत गर्ने उनको भनाइ छ।
‘हामीले पार्टी सभापतिलाई सर्लाही–४ बाट उम्मेदवार प्रस्ताव गरेका छौँ, त्यसले मलाई लाग्छ देशलाई एकीकृत गर्न मद्दत गर्नेछ, नयाँ भावनाको सिर्जना गर्नेछ, मधेशको महत्त्वलाई अझ बढी स्थापित गर्नेछ, मधेशका मुद्दाहरूलाई अझ प्रस्ट पार्नेछ, मधेशका मुद्दाहरूबारे अझ बढी ध्यानाकृष्ट हुनेछ,’ पौडेलले भने।
महामन्त्री पौडेलले मधेशको महत्त्वलाई थप स्थापित गर्ने लगायतका धारणाहरू व्यक्त गरिरहे पनि सर्लाही पुगेर सभापति थापाले चुनावको मुखमा फरक परिवेश, फरक भाषा, फरक संस्कृतिको सामना गर्नुपर्ने हुन्छ। र, चुनावको मुखमा नयाँ परिवेश थापाका लागि आफैँ पनि चुनौतीपूर्ण हो।
सर्लाही कांग्रेसका नेताहरू भने सभापति थापाको जित सुनिश्चित रहेको दाबी गर्छन्। सर्लाही–४ घर भएका कांग्रेस मधेश प्रदेशका उपसभापति एवं मधेश प्रदेशका प्रदेश सांसद वीरेन्द्रकुमार सिंह पार्टी सभापति थापालाई दोब्बर मतले जिताएर पठाउने बताए। काठमाडौँ घर भएर सर्लाही–४ बाट चुनाव लड्दैमा केही फरक नपर्ने उनको भनाइ छ।
कांग्रेसको गढमा अमरेश प्रतिस्पर्धी
सर्लाही–४ कांग्रेसको गढको रूपमा चिनिएको निर्वाचन क्षेत्र हो। २०४८ सालदेखि नै यो क्षेत्रबाट कांग्रेसका उम्मेदवार नै निर्वाचित हुँदै आएका छन्। २०४८ देखि तीनवटा चुनाव यो क्षेत्रबाट महन्थ ठाकुर जिते। महन्थ भने त्यो बेला कांग्रेसमै आबद्ध थिए।
त्यस्तै २०७० र २०७४ को निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसको उम्मेदवार बनेर सिंह निर्वाचित भए। पार्टीको आन्तरिक विवादका कारण २०७९ सालमा कांग्रेसबाट टिकट नपाएका उनले स्वतन्त्र प्रतिस्पर्धा गरेर निर्वाचित भए। सर्लाही–४ सिंहको पनि पकड क्षेत्रकै रुपमा हेरिएको छ।
हुनत अघिल्लो निर्वाचनमा कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन गरेपछि कांग्रेसकै मत ‘डाइभर्ट’ हुँदा सिंहलाई फाइदा पुगेको थियो। अर्कोतर्फ गठबन्धनमा छँदाछँदै माओवादीकी मधुमलाकुमारी यादवले बागी उम्मेदवारी दिएपछि कांग्रेसका नागेन्द्रले माओवादीको मत पाएनन्। यद्यपि उनी दोस्रो भए।
यसपालि भने परिस्थिति फेरिएको छ। कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको छ। गठबन्धन नभएका कारण कांग्रेसको मत दायाँबायाँ नहुने स्थानीय नेताहरूको भनाइ छ। अर्कोतर्फ देशकै पुरानो एवं लोकतान्त्रिक पार्टीका सभापति नै आफूहरूको क्षेत्रमा चुनाव लड्न आएपछि सर्लाही–४ का कांग्रेस नेता तथा कार्यकर्ता उत्साहित देखिएका छन्।
कांग्रेसका नेता तथा कार्यकर्ता उत्साहित देखिए पनि यो क्षेत्रबाट लगातार तीनपटक चुनाव जितेका सिंह रास्वपाका तर्फबाट उम्मेदवार बनेपछि सभापति थापालाई चुनावी परिणाम आफ्नो पक्षमा निकाल्न त्यति सहज भने पक्कै छैन। केही दिनअघि मात्रै जनकपुरधाम पुगेर राजनीतिक जीवनको पहिलो सम्बोधन गरेका रास्वपा वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को मधेशमा राम्रो ‘क्रेज’ दखिएको छ।
पछिल्लो समय देखिएको ‘बालेन-क्रेज’ को फाइदा सिंहले पाउनसक्ने आकलन स्थानीय मतदाताहरूको छ। बालेनको पक्षमा देखिएको जनमतका कारण रास्वपा उम्मेदवार सिंहले राम्रै मत पाउने सम्भावना देखिएको छ।
तर, अघिल्लो निर्वाचनमा सर्लाही–४ मा रास्वपाले झिनो मत पाएको थियो। रास्वपाबाट उम्मेदवारी दिएका धिरज ठाकुरले जम्मा ३०६ मत प्राप्त गरेका थिए। २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार दिएर प्रतिस्पर्धा गरेका सिंहले सहानुभूति पाएर कांग्रेसको मत ‘डाइभर्ट’ गराउन सफल भए पनि सभापति नै प्रतिस्पर्धामा उत्रिएपछि यसपालि भने त्यसको सम्भावना न्यून देखिएको छ।
वारेसमार्फत मनोनयन दर्ता गराएका कांग्रेस सभापति थापा अझै आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा पुगेका छैनन्। पार्टी बैठकलगायतका काममा व्यस्त भएकाले उनी सर्लाही जान नसकेका हुन्।
कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्र सिंह पार्टी सभापति थापाको माघ १२ गते सर्लाही पुग्ने कार्यक्रम रहेको बताए। सभापति थापा नआए पनि चुनावी अभियान अगाडि बढिसकेको उनले बताए।
कांग्रेस सभापति थापा युवाका साथै पाकाहरूबीच पनि लोकप्रिय छन्। भावी प्रधानमन्त्रीका रूपमा पार्टीले अघि सारेपछि थापालाई सर्लाही–४ बाट चुनाव जिताएर पठाउने जनमत पनि उल्लेख्य देखिएको छ।





