निर्वाचन क्षेत्र टिप्पणी

गोरखा-२ : विकास देखाएर भोट माग्दै बाबुराम, अन्य उम्मेदवारसँग छैन एजेन्डा

हिमाल प्रेस ९ माघ २०८२ ६:१०
180
SHARES
गोरखा-२ : विकास देखाएर भोट माग्दै बाबुराम, अन्य उम्मेदवारसँग छैन एजेन्डा

गोरखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा गोरखा क्षेत्र नम्बर-२ मा चुनावी माहोल तातेको छ। विभिन्न दलका उम्मेदवार चुनावी मैदानमा भए पनि स्थानीय जनमत र राजनीतिक विश्लेषणले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का डा.बाबुराम भट्टराईलाई सबैभन्दा बलियो उम्मेदवारका रूपमा चित्रित गरेको छ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार लेखनाथ न्यौपाने लामो समयदेखि पार्टी नेतृत्वसँग असहमति जनाउँदै आएका नेता हुन्। यही कारण पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनलाई क्रमशः पार्टीको किनारामा पुर्‍याए। गोरखा-२ मा चुनावी वातावरण कमजोर देखिएपछि मात्र न्यौपानेले टिकट पाएका हुन्। यस क्षेत्रका लागि ठोस विकास योगदान उनको छैन। स्वयं प्रचण्डले २०७९ को निर्वाचन डा.भट्टराईको मुख्य सहयोग र नेपाली कांग्रेसको समर्थनमा जिते पनि चुनावपछि गोरखा-२ मा फर्केनन्। विकास र जनसम्पर्कलाई प्राथमिकता नदिएको गुनासो स्थानीयको छ। उक्त क्षेत्रमा पालिका र वडाको नेतृत्व गरेका नेकपाका नेताहरू जनपक्षीय नहुँदा नेकपाप्रति यहाँका मतदाता निकै रुष्ट छन्। स्थानीय मतदाताका अनुसार यदि प्रचण्डले यस क्षेत्रमा उल्लेखनीय विकास गरेको भए गोरखा छाडेर रुकुम पूर्व जानुपर्ने अवस्था आउने थिएन।

नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी गण्डकी प्रदेशसभा सदस्य रहँदा आफ्नो तलबभत्ता समाजसेवामा खर्च गरेको दाबी गर्दै मत मागिरहेका छन्। उनी विशेषगरी अजिरकोट गाउँपालिकामा परिचित छन्। डोजर प्रयोग गरेर बाटोघाटो खनेर चर्चा कमाएका दवाडीलाई कतिपयले सक्रिय जनप्रतिनिधि मान्छन् भने कतिपयले यसलाई दीर्घकालीन योजनाबिना गरिएको कामका रूपमा आलोचना गर्छन्। क्षेत्रव्यापी विकास दृष्टिकोण र ठूला पूर्वाधार योजनाको स्पष्ट खाका नहुनु कांग्रेस उम्मेदवारको कमजोरी हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी रास्वपामा आएको राष्ट्रिय लहरका कारण मात्रै चर्चामा छन्। तर गोरखा-२ को विकासमा प्रत्यक्ष योगदान नदेखिएको, काठमाडौँ केन्द्रित राजनीति गर्ने र चुनावी समयमा मात्र जिल्लामा सक्रिय हुने नेताका रूपमा उनको आलोचना हुन्छ। कांग्रेस, नेकपा र एमालेप्रति असन्तुष्ट मतदाताको मत रास्वपातर्फ जाने सम्भावना भए पनि त्यो असन्तुष्टि नै उनको मुख्य राजनीतिक आधार हो।

यसबीच,डा.भट्टराई भने गोरखाकै अनुभवी र राष्ट्रियस्तरमा स्थापित नेता हुन्। उनी लगातार गोरखा-२ बाट चुनाव जित्दै आएका छन्। प्रधानमन्त्री तथा अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दा उनले गोरखामा सडक, पुल, ऊर्जा, शिक्षा र पुनर्निर्माणसँग सम्बन्धित थुप्रै योजनाको आधार तयार  गरेका थिए। २०७२ को विनाशकारी भूकम्पपछि गोरखा केन्द्रबिन्दु हुँदा पूर्वप्रधानमन्त्रीका रूपमा उनले उद्धार, राहत र पुनर्निर्माणमा नेतृत्व गरेका कारण पनि यहाँका जनताले उनलाई संकटको बेला साथ दिने नेता रूपमा सम्झिन्छन्।

बूढीगण्डकी जलविद्युत आयोजना जस्तो राष्ट्रिय महत्त्वको परियोजनालाई गोरखाको दीर्घकालीन विकाससँग जोडेर उठान गर्ने नेताका रूपमा पनि भट्टराई परिचित छन्। शैक्षिक क्षेत्रमा विद्यालय पुनर्निर्माण, शिक्षा र रोजगारीलाई जोड्ने नीति बहस तथा चेतनामूलक पहलमा उनी सक्रिय देखिन्छन्। व्यक्तिगत जीवनमा सादगी, भ्रष्टाचारविरोधी छवि र स्पष्ट वैचारिक धारणा उनका थप बलिया पक्ष हुन्।

स्थानीय मतदाताका अनुसार ‘काम सुरु गराउने, नीति बनाउने र सिंहदरबारसम्म पहुँच राख्ने नेता’ को रूपमा डा.भट्टराईको छवि अझै बलियो छ। अन्य उम्मेदवारहरू आन्तरिक दलगत असन्तुष्टि, सीमित क्षेत्रीय प्रभाव वा राष्ट्रिय लहरमा मात्र टिकेको अवस्थामा देखिँदा गोरखा-२ मा डा. भट्टराई नै सबैभन्दा बलियो र लोकप्रिय उम्मेदवारका रूपमा देखिएका छन्।

डा.भट्टराई (खुलेको आँखा चुनाव चिन्ह), न्यौपाने (तारा चुनाव चिन्ह), दवाडी (रुख चुनाव चिन्ह) र बुर्लाकोटी (घण्टी चुनाव चिन्ह) चुनावी मैदानमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast