बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा

हिमाल प्रेस ७ माघ २०८२ १५:१९ | Wednesday, January 21, 2026
24
SHARES
बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा

दशरथचन्द (बैतडी)- बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा दृष्टिकोणले १२९ मध्ये ३३ वटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको हो।

जिल्ला सुरक्षा समितिले अवस्था हेरेर अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए। उनका अनुसार जिल्लाका २८ वटा मतदानस्थल संवेदनशील र ६८ वटा मतदानस्थल सामान्यको सूचीमा राखिएका छन्।

विगतमा भएका निर्वाचनको समीक्षा, सञ्चार, यातायातको पहुँच र विभिन्न राजनीतिक दलको प्रभावलगायत विषयलाई आधार मानेर मतदानस्थलको संवेदनशीलता तय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए। आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई मध्यनजर गरेर स्थानीय प्रशासनले सुरक्षा योजना बनाएर काम गरिरहेको उनको भनाइ छ।

मतदानस्थलको अवस्था हेरेर सुरक्षा योजना निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए। दुर्गम स्थानमा रहेका मतदानस्थलको अनुगमन निरीक्षण गर्ने काम भइरहेको उनले उल्लेख गरे।

‘निर्वाचनका बेला स्रोतसाधनको व्यवस्थापन र जनशक्ति परिचालनका लागि सुरक्षा समितिले मतदानस्थलको निरीक्षण गरिरहेको हो,’ प्रजिअ पौडले भने, ‘सुरक्षा योजना लागू गर्न दुर्गम क्षेत्रका मतदानस्थलको अनुगमनको काम भइरहेको छ।’

आसन्न निर्वाचनमा भाग लिन १० दल र दुई स्वतन्त्र गरी १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा २१४ मतदान केन्द्र र १२९ मतदानस्थल कायम गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीले जानकारी दिए। उनका अनुसार जिल्लामा आगामी निर्वाचनका लागि एक लाख ५६ हजार ३७२ मतदाता कायम भएका छन्। रासस

प्रकाशित: ७ माघ २०८२ १५:१९ | Wednesday, January 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast