काठमाडौँ- नेपाली कांग्रेसले काठमाडौँ १ मा प्रवल थापालाई उम्मेदवार बनाएको छ। कांग्रेस सभापति गगन आफैँ काठमाडौँमा आउने भन्ने थियो तर पछि उनले प्रवललाई टिकट दिएका हुन्।
प्रवल काठमाडौँ १ बाट महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि पनि छन्। उनी स्थानीयवासी हुन् भने उनले यसअघि प्रकाशमान सिंहलाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
यहाँबाट पछिल्लो समय कांग्रेस नेता सिंह लगातार चुनाव लड्दै आएका थिए। सिंह २०६४, २०७०, २०७४ र २०७९ मा कांग्रेसबाट त्यो क्षेत्रमा उम्मेदवार बन्दै जितेका थिए ।
प्रवलका केही नातेदार राजावादी वा राष्ट्रिय प्रजातन्त्र पार्टीमा भए पनि उनी भने सानैदेखि नेविसंघ र पछि कांग्रेसमा सक्रिय भएका युवा हुन्। उनी कांग्रेसमा विशेष गरी सभापति गगनलाई सहयोग गर्ने र उनको जितमा भूमिका खेल्ने गरेका थिए।
थापा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्कीका छोरी ज्वाइँ हुन्। साथै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाका भाञ्जा पनि हुन्। उनको पारिवारिक नातेदार पनि यस क्षेत्रमा धेरै छन्। साथै युवाहरूमा भिजेका व्यक्तिमध्ये पर्छन् प्रवल।
अस्ट्रेलियाबाट उच्च शिक्षा अध्ययन गरेका उनी नेपालमै केही गर्ने भनेर स्वदेश फर्किएका हुन्। कांग्रेस राजनीतिमा सक्रिय रहेका उनी प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा सचिव समेत छन्।
उनी पछिल्लो समय कांग्रेसमा निकै सक्रिय भएर युवाहरूलाई यसमा ल्याउन लागि परेका व्यक्ति हुन्।



