उम्मेदवारी दर्ता गर्दै दलहरू। तस्बिर : विजय नेपाल/पोखरा
पोखरा- प्रतिनिधिसभा सदस्य चुनावका लागि कास्कीमा ६ स्वतन्त्रसहित १८ दलले उम्मेदवार दिएका छन्। पुराना दलको तुलनामा यसपालि नयाँ दलसमेत थप भएका हुन्। जिल्ला निर्वाचन कार्यालय कास्कीका अनुसार मंगलबारको मनोनयनमा कास्कीमा ६ स्वतन्त्र, १८ दलसहित कुल ४९ उम्मेदवारले मनोनयन दर्ता गरेका हुन्।
यसपालि नेपाल मजदुर किसान पार्टी (नेमकिपा), उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टीसमेत कास्कीमा चुनाव भिडन्तका लागि आएका छन्। कास्कीमा कुल ४९ उम्मेदवारमध्ये पुरुष ४४ र महिला मात्र ५ जना हुन्। कास्की २ र ३ मा नेमकिपाले महिला उम्मेदवार उठाएको छ। कास्की २ मा नेमकिपाबाट भक्तपुरकी विनिता अवाल तथा कास्की ३ मा भक्तपुरकै मीना न्हिसुतु आएकी छन्। नेमकिपाले कास्की १ मा भने उम्मेदवारी दिएन।
अर्की महिला उम्मेदवार रास्वपाकी बिना गुरुङ हुन्। कास्की ३ बाट मनोनयन दर्ता गरेकी हुन्। उनी रास्वपाबाट गण्डकी प्रदेशकी एकमात्र महिला उम्मेदवार हुन्। कास्की १ बाट उज्यालो नेपाल पार्टीकी मनीषा द्धा र कास्की ३ मा नेसनल रिपब्लिक नेपालबाट तीर्थ गुरुङले उम्मेदवारी दिएकी हुन्।
कास्की १ मा कुल १७, कास्की २ मा १७ र कास्की ३ मा १५ जना कुल उम्मेदवार हुन्। कास्की १ र २ मा एकएक जना महिला उम्मेदवार भए पनि कास्की ३ मा ३ जना महिला उम्मेदवार छन्। प्रमुख दलले समानुपातिकमा अवसर दिए पनि प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार बनाउन हिचकिच्याएको पाइन्छ।
उमेर समूह हेर्दा सबैभन्दा पाका उमेरका गोपाल गिरी (७० वर्ष) हुन्। उनी नेकपाबाट कास्की ३ का उम्मेदवार हुन्। सबैभन्दा कान्छो उम्मेदवार कास्की २ बाट स्वतन्त्र रूपमा मनोनयन दिएका २६ वर्षीय निर्दोषविक्रम पौडेल हुन्। गत २०७९ सालको संघीय चुनाव जितेका एकजना मात्र उम्मेदवार यसपालि दोहोरिए। कास्की ३ मा एमालेले दामोदर पौडेल बैरागीलाई पुनः दोहोर्याएको हो।
जिल्लाभर उम्मेदवार हेर्दा केही पुराना भए पनि अधिकांश नयाँ छन्। कास्कीमा गत चुनावमा तीनवटै क्षेत्र एमालेले जितेको थियो। कास्की २ लाई एमालेले आफ्नो गढ मान्दै आएको छ। यहाँबाट स्वर्गीय रवीन्द्र अधिकारीले लगातार तीनपटक चुनाव जितेका थिए।
उनले २०६४ को पहिलो संविधानसभा चुनाव, ०७० को दोस्रो संविधानसभा चुनाव र ०७४ को प्रतिनिधि सभा सदस्यको चुनाव जितेका हुन्। तर हेलिकोप्टर दुर्घटनामा उनको निधनपछि भएको उपनिर्वाचनमा उनकी पत्नी विद्या भट्टराईले चुनाव जितेकी हुन्। भट्टराईले २०७९ सालको चुनाव पनि सहजै जितेकी थिइन्।
कास्की १ मा चुनाव जितेका एमालेका मनबहादुर गुरुङको ठाउँमा एमालेले अहिले पार्टीका जिल्ला अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीलाई पहिलोपल्ट अवसर दियो। कास्की २ मा यसअघि चर्चामा रहेका कृष्ण थापाको ठाउँमा अन्तिम समयमा युवा नेता रश्मि आचार्यले टिकट पाएका हुन् ।
अर्को ठूलो दल नेपाली कांग्रेसले कास्की १ मा तिलकबहादुर रानाभाट, कास्की २ मा माधवप्रसाद बास्तोला (मधु), कास्की ३ मा मनोज गुरुङलाई उम्मेदवार बनायो। नेपाली कम्युनिष्ट पार्टीले कास्की १ मा राजकाजी गुरुङ (करण), कास्की २ मा हेमबहादुर थापा पराजुली (किरण) र कास्की ३ मा गोपाल गिरीलाई अघि सारेको छ ।
रास्वपाले कास्की १ मा खडकराज पौडेल (गनेश), कास्की २ मा उत्तमप्रसाद पौडेल र कास्की ३ मा बिना गुरुङले टक्कर दिने भएका छन्। राप्रपाबाट कास्की १ मा बाबुराम थापा, कास्की २ बाट हेमजंग गुरुङ र कास्की ३ बाट अर्जुनप्रसाद खनाल उम्मेदवार छन्।




