एमालेले यसपटक दियो सबै क्षेत्रमा उम्मेदवारी, ५४.५४ प्रतिशत युवा उठाएको दाबी

हिमाल प्रेस ७ माघ २०८२ ८:०८ | Wednesday, January 21, 2026
4
SHARES
एमालेले यसपटक दियो सबै क्षेत्रमा उम्मेदवारी, ५४.५४ प्रतिशत युवा उठाएको दाबी

काठमाडौँ- नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ।

केन्द्रीय प्रचार विभागका प्रमुख मीनबहादुर शाहीका अनुसार एमालेले यसपटक कसैसँग चुनावी तालमेल गरेको छैन। यसअघिका निर्वाचनमा तालमेल र गठबन्धन गरेको एमाले यसपटक भने एकल मैदानमा उत्रिएको छ। २०७४ को चुनावमा माओवादीसँग र २०७९ को चुनावमा राप्रपासहितका दलमा एमालेले तालमेल गरेको थियो। तर यसपटक सबै क्षेत्र आफ्नै उम्मेदवार उठाएको छ।

‘नेकपा एमालेले देशका सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको जानकारी गराउन चाहन्छौं। अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूले पार्टीका नेता, कार्यकर्ता र जनताको उत्साहपूर्ण सहभागितामा र्‍यालीसहित निर्वाचन कार्यालय पुगेर आ–आफ्नो उम्मेद्वारी दर्ता गराउनुभएको छ। अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नं ५ बाट दिउँसो १ बजे प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वारी दर्ता गराउनुभएको हो,’ उनले भनेका छन्।

यसपालि एमालेले अगाडि सारेको सिंगो उम्मेद्वार संख्या मध्ये ५४.५४ प्रतिशत नयाँ अनुहार रहेको उनको दाबी छ। मधेस र सुदूरपश्चिममा ५०/५० प्रतिशत र कोशीमा ५३.५७ प्रतिशत उम्मेद्वार नयाँ रहेको उनले बताए। सबैभन्दा धेरै नयाँ उम्मेद्वार कर्णाली प्रदेशमा ७५ प्रतिशत र कम लुम्बिनीमा ४२.३० प्रतिशत रहेको उनको भनाइ छ। बागमती र गण्डकीमा यो संख्या क्रमशः ६०.६० प्रतिशत र ६१.११ प्रतिशत रहेको पनि उनले बताए।

प्रकाशित: ७ माघ २०८२ ८:०८ | Wednesday, January 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast