काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जेनजीले उठाएको आवाजलाई बुलन्द पार्दै चारतारे झण्डामुनि गोलबद्ध हुन आह्वान गरेका छन्। निर्वाचन आयोगले सभापति गगन थापा समूहलाई वैधता दिएसँगै उनले दोस्रो विशेष महाधिवेशनमा नजोडिएका साथीहरूलाई अब पार्टीमा सक्रिय भएर सहभागी हुन आह्वान गरेका हुन्।
पौडेलले पार्टीको साझा प्रयासले कांग्रेसलाई थप गतिशील, जनउत्तरदायी र विधिसम्मत बनाएको बताएका छन्। उनले सबै सदस्यलाई एकताबद्ध भएर अघि बढ्न र कसैले पनि हारेको महसुस नगर्न आग्रह समेत गरेका छन्।
उनले युवा पुस्ता (जेनजी) ले उठाएको आवाजलाई बुलन्द पार्दै चारतारे झण्डामुनि गोलबद्ध भएर बदलिएको नीति र नेतृत्वसहित पार्टीलाई अझ सबल र एकताबद्ध बनाउन सबैलाई सक्रिय रहन आह्वान गरेका छन्।
महामन्त्री पौडेलले आगामी आम निर्वाचनको तयारीमा कांग्रेसलाई सक्षम, एकताबद्ध र रूपान्तरण भएको पार्टीका रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याउँदै अबको कांग्रेसले देशको रूपान्तरणमा अग्रसर हुने दाबी गरे। आजै निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको थियो ।



