कार्यकर्तालाई एकताबद्ध भएर अगाडि बढ्न सभापति थापाको आग्रह

हिमाल प्रेस २ माघ २०८२ २१:२९
16
SHARES
कार्यकर्तालाई एकताबद्ध भएर अगाडि बढ्न सभापति थापाको आग्रह

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा आबद्ध सबैलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका छन्। निर्वाचन आयोगले विशेष महाधिवेशनलाई आधिकारिकता दिएपछि शुक्रबार राति उनले विज्ञप्ति निकालेर यस्तो आग्रह गरेका हुन्।

निर्वाचन आयोगले विधानलाई प्रधानता दिँदै निर्णय गरेको बताउँदै थापाले यो जय पराजयको विषय नभएको प्रस्ट पारेका छन्। ‘विशेष महाधिवेशनमा सहभागी हुनुभएका–नहुनुभएका, सहमत हुनुभएका–नहुनुभएका सबै नेपाली कांग्रेसमा आबद्ध टोलदेखि केन्द्रसम्म, देश विदेशमा रहनुभएका सम्पूर्ण अग्रज तथा साथीहरूलाई आग्रह गर्न चाहन्छु–यो विधि विधानले प्रधानता पाएको हो, जय पराजयको विषय होइन–कुनै अलमलमा नपरौँ, सबै संयम होऔँ, जिम्मेवार बनौँ, एकताबद्ध रहौँ।’

सभापति थापाले अब कांग्रेस नवीन ऊर्जा र एकतासहित रुपान्तरणको दिशामा अगाडि बढेको उल्लेख गरेका छन्। ‘रिफर्मको यात्रा सुरु भइसकेको छ। अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आसन्न निर्वाचनमा एकढिक्का भइ लाग्नुपर्नेछ,’ उनले भनेका छन्।

उनले पूर्वसभापति शेरबहादुर देउवालगायत पार्टीका अन्य नेताहरूले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्। थापाले भनेका छन्, ‘यस परिस्थितिमा नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका श्रद्धेय पूर्वसभापति शेरबहादुर देउवालगायत पार्टीमा विभिन्न तह र निकायमा रहनुभएका साथीहरूबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहज रुपमा लिई पूर्ण साथ रहनेछ भन्ने विश्वास लिएका छौँ।’

कांग्रेसमा गुटको अन्त्य भएको बताउँदै उनले भुइँ तहमा रहेका सदस्य र केन्द्रीय सभापतिको समान हैसियत बनेको जिकिर गरेका छन्।

‘आजबाट कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, लाग्नेछैन–जिम्मेवारी फरक होला तर भुइँ तहमा रहेका सदस्य र तपाईँको केन्द्रीय सभापतिको समान हैसियत हो, हुनेछ। तपाईँहरूको चाहना नै हाम्रो निर्णयको आधार हुनेछ,’ थापाले भनेका छन्।

नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्मआलोचना गरी बदलिएको उनले जिकिर गरेका छन्। थापाले भनेका छन्,‘नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत विगतक कमजोरीप्रति आत्आलोचना गर्दै समीक्षा गरेको छ, आजसम्मका उपलब्धिलाई समयको पदचापअनुसार थप संस्थागत गर्ने संकल्प गरेको छ–अब कांग्रेस बदलिएकोछ, बदलिनेछ।’

प्रकाशित: २ माघ २०८२ २१:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast