धादिङमा जुधाइयो एक सय हल गोरु

हिमाल प्रेस १ माघ २०८२ १९:०६ | Thursday, January 15, 2026
16
SHARES
धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु (धादिङ)-  माघे सङ्क्रान्तिको दिन आज (बिहीबार) धादिङमा एक सय हल गोरु जुधाइएको छ। कृषि कर्मका लागि पालिएका गोरुलाई माघे सङ्क्रान्तिको दिन जुधाउने सांस्कृतिक परम्पराअनुसार जुधाइएको हो।

त्रिपुरासुन्दरी गाउँपालिकाको मूलपानीमा १४, लाइगाउँमा १०, नीलकण्ठ नगरपालिकाको धुवाकोट–९, खाल्टेमा सात, मर्स्याङछापमा पाँच, सुनौलाबजारमा आठ, खनियाबासको दार्खा १७, मार्पकमा चार, फुलखर्कमा ११, बुढाथुममा नौ र ज्वालामुखीको मैदीमा छ हल गोरु जुधाइएको आयोजकहरुले जानकारी दिएका छन्।

रसुवा, नुवाकोट र धादिङ तीनै जिल्लामा गोरु जुधाउने यो परम्परा नेपाल र तिब्बतबीचको भोट सन्धी १९४९ सँग जोडिएको छ। बझाङ्गी राजा पृथ्वीबहादुर सिंहको स्वागतका निम्ति माघे सङ्क्रान्तिका दिन गोरु जुधाएर थालनी गरिएको किम्बदन्ती रही आएको जानकारहरु बताउँछन्।

बारीमा धुलो उडाउँदै बडेमानका जुरो भएका साँढे गोरुहरू जुध्दा पाखाभरि हजारौँ दर्शकको भीड लाग्ने गरेको छ। पहिला पहिला छिमेकीले रमाइलो स्वरुप आफ्नो घरमा रहेका गोरुहरू जुधाउने गरेका थिए। अहिले प्रतियोगिताका रुपमा गोरु जुधाइँदै आएको छ।

कुन साँढे गोरु कुनसँग जुधाउने, उमेर र आकार निर्क्योल गरिन्छ। प्रतियोगितामा जुधेका गोरुमध्ये जसको गोरु पहिला भाग्छ, उसैको गोरुले हारेको र अर्काे पक्षकाले जितेको ठहरिन्छ।

ऐतिहासिक प्रमाण नभेटिए पनि गोरु जुधाइ परम्परा १०० वर्षभन्दा पुरानो मानिन्छ। माघे सङ्क्रान्ति भन्ने बित्तिकै नेपालमा गोरु जुधाउने दिन भनेर चिनिन थालेको छ।

प्रकाशित: १ माघ २०८२ १९:०६ | Thursday, January 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast