लुम्बिनी- विश्व सम्पदा सूचीमा सूचीकृत अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या सन् २०२५ मा थोरैले घटेको छ। कोभिड महामारीपछि विस्तारै प्रत्येक वर्ष पर्यटक संख्या वृद्धि भइरहेकोमा सन् २०२५ मा भने सन् २०२४ को तुलनामा आंशिक घटेको हो।
लुम्बिनी विकास कोषका अनुसार सन् २०२४ मा ११ लाख ७२ हजार २८२ पर्यटकले लुम्बिनी भ्रमण गरेकोमा सन् २०२५ मा ११ लाख १४ हजार २६६ पर्यटकले भ्रमण गरेका हुन्।
यो भनेको २०२४ मा भन्दा २०२५ मा ५८ हजार १६ पर्यटक संख्या कम हो। अघिल्लो वर्षको तुलनामा बुद्धजन्मस्थल लुम्बिनी आउने पर्यटकको संख्या ४.९५ प्रतिशतले घटेको लुम्बिनी विकास कोषका जनसम्पर्क प्रमुख तथा सूचना अधिकारी डा. हरिध्वज राईले बताए। उनका अनुसार स्वदेशी, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा फरक–फरक प्रवृत्ति देखाएको छ।
‘सन् २०२५ मा पनि स्वदेशी पर्यटन लुम्बिनीको प्रमुख आधार नै रह्यो। तर नेपाली पर्यटक आगमन ७.५१ प्रतिशतले घट्दा कुल गिरावटमा यसको योगदान सबैभन्दा ठूलो देखियो,’ राईले भने, ‘भारतीय पर्यटक आगमन १०.१४ प्रतिशतले घटेको छ, जसले सीमापार धार्मिक यात्रा तथा छोटो दूरीको भ्रमणमा सुस्तता आएको संकेत गर्दछ।’
उनका अनुसार भारत बाहेकका अन्य मुलुकका पासपोर्टधारी अन्तर्राष्ट्रिय पर्यटकहरूमा २६.५४ प्रतिशतको उल्लेखनीय वृद्धि देखिएको छ। तेस्रो मुलुकबाट भने करिब ३० हजार पर्यटक थपिएको डा. राईको भनाइ छ। ‘स्वदेशी तथा भारतीय पर्यटक घट्दाको असरलाई केही हदसम्म सन्तुलनमा ल्याएको छ,’ उनले भने, ‘लुम्बिनीप्रति अन्तर्राष्ट्रिय तीर्थयात्री तथा सांस्कृतिक पर्यटकहरूको आकर्षण बढ्दै गएको पुष्टि गर्दछ।’
सन् २०२५ मा लुम्बिनी आउने अन्तर्राष्ट्रिय पर्यटकहरूमा बौद्ध राष्ट्र र पूर्वी एसियाली देशहरूको प्रभुत्व देखिएको छ। श्रीलंका ३२ हजार २८७ पर्यटकसहित पहिलो स्थानमा रहेको छ भने थाइल्यान्ड १९ हजार ८९१ र म्यान्मार १८ हजार ५२८ सहित क्रमश: दोस्रो र तेस्रो स्थानमा रहेका छन्। चीन १० हजार ७८९ पर्यटकसहित चौथो, भियतनाम ८ हजार ६१५ सहित पाँचौँ स्थानमा रहेको लुम्बिनी विकास कोषको तथ्यांकले देखाएको छ।

लुम्बिनीमा सन् २०२५ मा दक्षिण कोरियाबाट ३ हजार ८९५, जर्मनीबाट २ हजार ३७८ पर्यटक लुम्बिनी आएर यी देशहरू क्रमश: छैटौँ र सातौँ स्थानमा रहेका छन्। लुम्बिनीमा जर्मनीबाट पर्यटकहरू आउनुले सुखद् संकेत गरेको छ। जर्मन प्रमुख युरोपेली स्रोत बजारका रूपमा देखिएकाले यो निकै सकरात्मक हो। पर्यटनविद् समेत रहेका डा. राईले भने, ‘सम्पन्न एसियाली देशहरूको वर्चस्वले विश्व बौद्ध तीर्थ पर्यटनमा लुम्बिनीको केन्द्रीय भूमिका झल्काएको छ।’
युरोपेली पर्यटकको उपस्थितिले यसलाई विश्व सम्पदा तथा सांस्कृतिक गन्तव्यका रूपमा बढ्दो मान्यता मिलिरहेको उनको विश्वास छ। समग्रमा लुम्बिनीमा पर्यटक गिरावटको प्रमुख कारण देशभित्र र अन्तर्राष्ट्रिय स्तरमा देखिएको राजनीतिक अस्थिरतालाई रहेको पर्यटन व्यवसायीको भनाइ छ।
मुलुकको अस्थिर राजनीतिका कारण आन्तरिक पर्यटक घटेको लुम्बिनी होटल संघका अध्यक्ष लिलामणि शर्मा बताउँछन्। उनले विदेशी पर्यटकभन्दा आन्तरिक र भारतीय पर्यटकले लुम्बिनी भरिभराउ हुँदै आएकोमा यो पटक जेनजी आन्दोलनका कारण पर्यटक आउन नसकेको बताए। ‘एकातर्फ सडकको अवस्था भने अर्को चाडपर्वको मुखमा जेनजी आन्दोलनले नेपाली र भारतीय पर्यटक घटे,’ उनले भने।
भारतले पनि नेपाल जानुभन्दा पहिले विचार गरेर जानु भनेर भनेर सूचना जारी गरेकाले पनि भारतीय पर्यटक घटेको उनको भनाइ छ। शर्माले लुम्बिनी बौद्ध धार्मिक स्थल भएकाले यहाँ आध्यात्मिक क्रियाकलाप नहुनु पनि पर्यटक घटुनुको मुख्य कारण रहेको बताए।
‘भदौपछि आन्तरिक पर्यटक आउनै पाएनन्, यही बीचमा पोहोर जस्तो शाक्य मोलम, धार्मिक गुरुहरूको आगमन भएन,’ उनले भने, ‘धार्मिक गतिविधिविना लुम्बिनीमा पर्यटक आउँदैनन्, यसतर्फ लुम्बिनी विकास कोषले ध्यान दिनुपर्छ।’ अध्यक्ष शर्माले लुम्बिनीभित्र जथाभावी पार्किङ हुन थालेको र व्यवस्थापन चुस्त नहुँदा पर्यटक आर्कषित हुन नसकेको बताए।
बौद्धधर्मको आस्थाको केन्द्र लुम्बिनीमा बाह्य पर्यटकको वृद्धिले केहीरूपमा उत्साह जगाए पनि आन्तरिक राजनीतिक किचलोले वातावरण बिथोलिएको छ। लुम्बिनी विकास कोषले राजनीतिक स्थिरता, विशेष गरी पूर्वपश्चिम राजमार्ग निर्माणाधीन हुँदा पर्यटकको सहज आवागमन हुन सकेको छैन।
यसका अतिरिक्त पछिल्लो समय लुुम्बिनी मायादेवी मन्दिरमा प्रवेशका विषयमा केही स्थानीयहरूले नि:शुल्क गर्न पाउनुपर्छ भनेर माग गरेकाले तथ्यांक राख्न नसक्दा पनि तथ्यांक कम देखिएको हुन सक्ने कोषका सदस्य सचिव दीपक श्रेष्ठले बताए। ‘पर्यटक घट्नुका पछाडि देशको पछिल्लो अवस्थादेखि स्थानीयस्तरका समस्याहरू पनि छन्, यस विषयमा हामी छलफल गर्छौँ,’ उनले भने। उनले लुम्बिनी क्षेत्रभित्र गरिएको पार्किङलाई व्यवस्थापन गर्नेबारेमा बेरियर राख्ने योजना बनिरहेको बताए।

बेलहिया नाका हुँदै एक लाख बढी पर्यटक भित्रिए
लुम्बिनी नजिकैको स्थलमार्ग बेलहिया नाका हुँदै नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकको संख्या आंशिक वृद्धि भएको छ। एक वर्षको अवधिमा १ लाख बढी पर्यटक यो नाका हुँदै नेपाल भित्रिएका हुन्।
सन् २०२५ मा १ लाख ३ हजार ९ सय ५५ जना पर्यटक बेलहिया नाका हुँदै प्रवेश गरेका हुन्। यो अवधिमा १ लाख २ हजार २ हजार ४ सय ५५ जना पर्यटक यो नाका हुँदै गन्तव्यतर्फ प्रस्थान गरेको अध्यागमन कार्यालय बेलहिया, रुपन्देहीले जनाएको छ।
त्यस्तै सन् २०२४ मा यो नाका हुँदै ९२ हजार ६ सय ४४ पर्यटक भित्रिएका थिए। त्यसै गरी ९३ हजार २ सय ९० जना पर्यटक यहाँबाट गन्तव्यतर्फ प्रस्थान गरेको कार्यालयले जनाएको छ।
सन् २०२५ मा बेलहिया नाकाबाट सबैभन्दा बढी श्रीलंकाका ३४ हजार ३ सय ६६ जना पर्यटक नेपाल आएका छन्। त्यसपछि म्यानमारका १९ हजार ९ सय ६२, थाईल्याण्डका १९ हजार १ सय ९५, भियतनामका ७ हजार ६ सय ४५, दक्षिण कोरियाका ३ हजार ८२ र संयुक्त राज्य अमेरिकाका २ हजार १ सय ४९ जना पर्यटक नेपाल प्रवेश गरेका छन्।
२०२५ सालमा सबैभन्दा बढी मार्चमा २० हजार ७ सय २० पर्यटक नेपाल आएका छन्। त्यस्तै फ्रेअुबरीमा १७ हजार ८ सय ७१, नोभेम्बरमा १६ हजार ३ सय ५, अक्टोबरमा ११ हजार ६ सय ९७ र डिसेम्बरमा १० हजार ७ सय २० जना पर्यटक आएका हुन्। पछिल्ला वर्ष बेलहिया नाकाबाट भित्रिने राहदानीबाहक (तेस्रो मुलुक) का पर्यटकको संख्या बढेको छ।




