देउवाले २३ वर्षअघि यसरी फुटाएका थिए कांग्रेस

हिमाल प्रेस ३० पुष २०८२ १६:०३
128
SHARES
देउवाले २३ वर्षअघि यसरी फुटाएका थिए कांग्रेस

काठमाडौँ- नेपाली कांग्रेस विभाजनको संघारमा छ। देशको सबैभन्दा पुरानो यो दलले यसअघि पनि अनेक उतारचढाव भोग्दै आएको छ। पार्टी केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई निष्कासित गरेपछि अब पार्टी फुट्ने निश्चित भएको छ।

महामन्त्रीद्वयको आह्वानमा भएको विशेष महाधिवेशन नेतृत्व चयन प्रक्रियामा अघि बढ्दै गर्दा उनीहरूमाथि कारबाहीको डन्डा चलेको हो।

कांग्रेस २३ वर्षअघि पनि विभाजन भएको थियो।  २०५९ जेठ २४ गते पार्टी निर्णय अवज्ञा गरेको अभियोगमा केन्द्रीय कार्यसमिति बैठकले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई तीन वर्षका लागि निष्कासित गरेको थियो। देउवाले आफू निष्कासित भएपछि महाधिवेशन प्रतिनिधिहरूको भेला डाकेका थिए। मुलुक माओवादी द्वन्द्वमा रहेका बेला बोलाइएको भेला महाधिवेशनमा परिणत भएको थियो। भेलाले तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई नेतृत्वबाट हटाएको घोषणा गरेको थियो।

त्यसपछि कांग्रेस विभाजित भएको थियो। चोइटिएको पार्टीको नेतृत्व देउवाले गरेका थिए। उनको नेतृत्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन भएको थियो। त्यति बेला पनि चुनावको मुखमा कांग्रेस विभाजन भएको थियो। यद्यपि कात्तिक २७ गतेका लागि घोषित चुनाव माओवादीको हिंसात्मक गतिविधिका कारण हुन सकेको थिएन। देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिक २०६४ सालमा कांग्रेसमा समाहित भएको थियो।

चोइटिएको कांग्रेसमा देउवासहित केन्द्रीय कार्यसमिति सदस्यहरू विजयकुमार गच्छदार, चिरञ्जीवी वाग्ले, प्रकाशमान सिंह, प्रदीप गिरी, विमलेन्द्र निधि थिए। ३६ सदस्यीय कांग्रेसका अन्य सबै पदाधिकारी र केन्द्रीय सदस्य मूलधारमा थिए। शैलजा आचार्य, रामचन्द्र पौडेललगायतका नेता तत्काल मध्यमार्गी रहे पनि पछि कोइराला कांग्रेसमा सहभागी भएका थिए।

कांग्रेस विभाजन भएपछि त्यति बेलाका एकमात्र जीवित संस्थापक नेता कृष्णप्रसाद भट्टराईले आफ्‌नो हृदय छियाछिया भएको वक्तव्य जारी गरेका थिए।

त्यति बेला कांग्रेसको विधानमा पार्टी नेताविरुद्ध अविश्वास प्रस्ताव ल्याउने प्रयोजनका लागि कम्तीमा २५ प्रतिशत महाधिवेशन प्रतिनिधिले प्रस्ताव गरेर कार्यसमितिले बोलाएपछि मात्र महाधिवेशन हुने व्यवस्था थियो। देउवाले त्यतिबेला विधानको त्यस्तो प्रक्रिया छलेर बेलाएको भेला महाधिवेशनमा परिणत भएको थियो।

देउवामाथि थपिएको अर्को ‘दाग’

दु:खान्त बहिर्गमनमा देउवा!


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast