कांग्रेस विवाद : गगन-विश्वले के प्रस्ताव लगे, देउवाले के जबाफ दिए?

हिमाल प्रेस ३० पुष २०८२ ११:१०
18
SHARES
कांग्रेस विवाद : गगन-विश्वले के प्रस्ताव लगे, देउवाले के जबाफ दिए?

काठमाडौँ- विभाजनउन्मुख देखिएको नेपाली कांग्रेसभित्र अहिले दुईतर्फी कुराकानी चलिरहेको छ। महामन्त्रीद्वय गगन थापा -विश्वप्रकाश शर्मा र संस्थापन खेमाका शेरबहादुर देउवाबीच अहिले दूरी बढेको छ। केहीबेरअघि महामन्त्रीद्वय गगन–विश्व देउवालाई भेट्न महाराजगन्ज पुगेका थिए।

उनीहरूले देउवालाई संरक्षक बसिदिन आग्रह गरेका थिए। बैठकमा सहभागी एक नेताका अनुसार घुमाउरो भाषामा महामन्त्रीहरूले सभापति पदबाट राजीनामा दिन अनुरोध गरेका थिए। ‘सभापतिज्यू एकदम पार्टी मिलाउन लाग्नुभएको छ। पार्टी नफुटोस् भन्ने नै कामना छ,’ संस्थापन खेमाका एक नेताले हिमाल प्रेससँग भने,‘तत्काल संरक्षक बन्न सक्दिन। महाधिवेशनपछि छाड्छु भन्नुभयो।’ ती नेताका अनुसार गगन–विश्वले आगामी निर्वाचनमा कांग्रेसले बाँड्ने टिकटमा हस्ताक्षर देउवाले नगर्नुपर्ने प्रस्ताव राखेका थिए। त्यसमा भने देउवाले सकारात्मक जबाफ दिए।

‘पहिले पनि तपाईंले नै निर्णय गरेर हस्ताक्षर गर्न भन्नुभयो। राष्ट्रियसभा र समानुपातिकमा गरे। तर अब पार्टीकै अरूकसैले गर्नुहुन्छ भने पनि म तयार छु।’ ती नेताले भने। ती नेताका अनुसार देउवाले पार्टी विभाजन नगर्नका लागि सोही प्रस्ताव मानेका थिए। ‘साथीहरूको (महामन्त्रीहरू)को आचरण नै पार्टी फुटाओ भन्ने थियो कि भन्ने देखियो। नभए सभापति सकारात्मक हुँदा पनि किन मान्नुभएन?’ अब फेरि बैठक बस्नेगरी महामन्त्रीहरू उठेका छन्।

बैठकमा सहभागी पार्टी प्रवक्ता एवं संस्थापन खेमाका नेता डा‍. प्रकाशशरण महतले पार्टी विभाजन नगर्नका लागि आफूहरू हदैसम्म प्रयत्न गरेको बताए। ‘हामी प्रयत्नशिल छौँ। अब के हुन्छ।’ महतले हिमाल प्रेससँग भने। यता गगन-विश्व भने विशेष महाधिवेशनमै होमिएका छन्। उनीहरूले अहिले निर्वाचन प्रक्रिया अघि बढाउन लागेका छन्।

निर्वाचन प्रक्रिया अगाडि बढेको केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले बताए। अहिले मनोनयन दर्ता जारी रहेको र बेलुकादेखि मतदान सुरु हुने केसीको भनाइ छ।

प्रकाशित: ३० पुष २०८२ ११:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast