काठमाडौँ- नेपाली कांग्रेसको विशेष महाधिवेशन जारी रहँदा सभापति शेरबहादुर देउवा र दुई महामन्त्री गगन थापा, विश्वप्रकाश शर्माबीच भएको भेटवार्ता निष्कर्षविहीन भएको छ।
पछिल्ला वार्ताहरूबाट कुनै ठोस सहमति ननिस्किएपछि सभापतिले बुधबार बिहान दुवै महामन्त्रीलाई छलफलका लागि देउवाले आफ्नै निवास महाराजगञ्जमा बोलाएका थिए।
करिब ४५ मिनेट चलेको भेटमा महामन्त्रीद्वयले गत असोज २८ गतेको केन्द्रीय कार्यसमिति बैठकमा सभापतिको (देउवा) उपस्थितिले पार्टीभित्र सकारात्मक सन्देश गएको स्मरण गराउँदै पछिल्ला गतिविधिले सम्मान नबढ्ने बताए।
‘त्यसरी सक्रिय हुँदा तपाईंको सम्मान बढेको थियो,अहिलेको सक्रियताले त्यो प्रभाव पार्दैन, निष्क्रिय रहनु उपयुक्त हुन्छ भन्ने भनाइ देउवासमक्ष महामन्त्रीद्वयले राख्नुभयाे,’ महामन्त्रीद्वयको भनाइ उद्धृत गर्दै एक नेताले भने,‘तर सभापतिज्यूले कुनै जबाफ दिनुभएन।’
सभापतिसँगको छलफलबाट ठोस निर्णय नआएपछि महामन्त्रीद्वय थापा र शर्माले महाधिवेशनमा निर्वाचन समितिलाई जानकारी गराएर निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरेका छन्।
यसैबीच, महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय पुनः थप गरिएको छ। मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तोकिएको मनोनयन दर्ता समय पटकपटक थप गरी बेलुकी ७ बजेसम्म पुर्याइएको थियो।
यसअघि मंगलबार राति ९ बजेदेखि बुधबार बिहान १ बजेसम्म मतदान गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो। तर केन्द्रीय निर्वाचन समिति संयोजक सीताराम केसीले मंगलबार जारी गरेको विज्ञप्तिमार्फत बुधबार बिहान पनि मनोनयन दर्ता खुला रहने जानकारी दिएका छन्।
केसीका अनुसार बुधबार बिहान सवा ८ बजेदेखि सवा ९ बजेसम्म मनोनयन दर्ताको समय थप गरिएको हो। निर्वाचनअन्तर्गतका अन्य कार्यक्रम भने अझै तय हुन बाँकी छन्।



