त्रिशूली नदीमा बालुवामा पुरिएको बस निकाल्दै सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी। तस्बिर सौजन्य : सशस्त्र प्रहरी बल
काठमाडौँ- गणपति डिलक्स लेखिएको गाडी बालुवाले पुरिएको अवस्थामा त्रिशूली किनारमा भेटिएको छ। तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका-५ द्वान्द्राङ बेसी नजिकै किनारमा पुरिएको अवस्थामा सो गाडी फेला परेकोहो।
काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स २०८१ असार २८ गते बिहान पहिरोले पुरिएर चितवनको सिमलतालस्थित त्रिशूली नदीमा बेपत्ता भएका थिए।
गणपति डिलक्समा रहेका ३१ जनामध्ये तीनजनाले हाम फालेर ज्यान जोगाएका थिए भने २८ जना बेपत्ता भएका थिए। तीमध्ये १४ जनाको शव फेला परेको थियो। अन्य हालसम्म बेपत्ता छन्।
पार्ट्सपुर्जा देखिएको सो गाडी खोजीकार्यका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन र नं.२३ मनकामना गण भानु तनहुँबाट खटिएका सुरक्षा फौजले उक्त नाम लेखिएको गाडी फेला पारेको बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।



