हिन्दी फिल्ममा वर्षा राउतको डेब्यु, ‘रिमझिम गिरे सावन’ को मुख्य भूमिकामा अनुबन्धित

हिमाल प्रेस २८ पुष २०८२ १५:३४ | Monday, January 12, 2026
36
SHARES
हिन्दी फिल्ममा वर्षा राउतको डेब्यु, ‘रिमझिम गिरे सावन’ को मुख्य भूमिकामा अनुबन्धित

काठमाडौँ- नेपाली फिल्म क्षेत्रकी लोकप्रिय अभिनेत्री वर्षा राउतले हिन्दी फिल्ममा डेब्यु गर्ने भएकी छिन्। हालै काठमाडौँमा उनले हिन्दी फिचर फिल्म ‘रिमझिम गिरे सावन’मा मुख्य भूमिकाका लागि निर्माण पक्षसँग सम्झौता गरेकी छन्।

सन् २०१६ मा फिल्म ‘नाइँ नभन्नु ल ४’ बाट अभिनय यात्रा सुरु गरेकी वर्षाले ‘छक्का पन्जा’, ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘दाल भात तरकारी’ जस्ता चर्चित फिल्ममा काम गरेकी छन्।

नेपाली रजतपटमा छुट्टै पहिचान बनाएकी वर्षाको लागि विदेशी फिल्ममा याे पहिलो मुख्य भूमिका हो। फिल्म उत्तरी सिक्किमको लाचुङको रमणीय तर दुर्गम पहाडी भूभागमा आधारित एक सामाजिक ड्रामामा आधारित रहने टिमले जनाएको छ।

नेपाली समुदायको परिवेश समेटिएको फिल्मले मृत्युदण्डको सजाय पाएकी एक विवाहित महिला तथा एक सन्तानकी आमा ‘रिमझिम क्षेत्री’को सैघर्ष प्रस्तुत गर्नेछ।

उक्त रिमझिमको भूमिकामा राउतले अभिनय गर्नेछिन्। फिल्मले प्रणालीगत भ्रष्टाचार, न्याय र मर्यादाका लागि एक महिलाले गर्ने भावनात्मक र साहसी संघर्षलाई पर्दामा उतार्ने फिल्मका निर्देशक अर्नब पलले बताए।

अभिनय यात्राको नयाँ यात्राप्रति उत्साहित हुँदै गर्दै वर्षाले भनिन्, ‘मैले खोजिरहेको र मेरो अभिनय क्षमतालाई चुनौती दिने खालको भूमिका पाएकी छु। हिउँले भरिएको कठिन भूगोलमा छायांकन गर्नु चुनौतीपूर्ण भए पनि यो मेरा लागि सिक्ने र बढ्ने अवसर हो। भारतमा चर्चा कमाएको टिम र बलिउड कलाकारहरूसँग काम गर्न पाउनु मेरो लागि गर्वको कुरा हो।’

निर्देशक अर्नब पलका अनुसार वर्षाको उत्कृष्ट अभिनय क्षमताका कारण छनाेट गरिएको हो। नेपाली कलाकार नै हुनुपर्ने कथाकाे मागसँगै हिन्दी बोल्ने तर नेपाली लवजमा हुनुपर्ने भएकोले उनी छनोटमा परेको निर्देशक पलले बताए।

फिल्ममा बलिउडका कलाकार सुब्रत दत्त, राजेश शर्मा, आशिष विद्यार्थी, यशपाल शर्मालगायतकाे अभिनय रहनेछ। फिल्ममा रिमझिमकी दिदी रुन्झुनको भूमिकामा कोलकाताकी कलाकार सुस्मिता बसुमता देखिनेछिन् भने सावनको भूमिकाका लागि बलिउड अभिनेताको खोजी भइरहेको निर्माण पक्षले जनाएको छ।

फिल्म असिम बोसको छायांकन, अर्घ्य कमल मित्रको सम्पादन र अतनु साहाको कला निर्देशनमा बन्नेछ। यसका साथै, नेपालबाट रामगोपाल तिमल्सिना र नृपेश रुपाखेती प्रोडक्सन म्यानेजरको रूपमा जोडिएका छन्।

फिल्मको पटकथा लेखक राकेश कुमार त्रिपाठीले तयार पारेका हुन्। बंगाली फिल्म उद्योगका निर्देशक अर्नब पलले यसअघि ‘तान्त्रिक’, ‘मेघमल्लार’ फिल्म निर्देशन गरिसकेका छन्।

प्रकाशित: २८ पुष २०८२ १५:३४ | Monday, January 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast