महामन्त्री थापाको संकल्प : जेनजी विद्रोहले ल्याएको जागरणलाई आत्मसात् गर्छौँँ

हिमाल प्रेस २८ पुष २०८२ १४:१०
10
SHARES
महामन्त्री थापाको संकल्प : जेनजी विद्रोहले ल्याएको जागरणलाई आत्मसात् गर्छौँँ काठमाडौँको भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत बन्दसत्रमा सहभागी प्रतिनिधिहरू।

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३ र २४ गते भएको जेनजी विद्रोहलाई पार्टीले आत्मसात् गर्दै विभिन्न संकल्प सार्वजनिक गरेका छन्। पार्टीको विशेष महाधिवेशनअन्तर्गत सोमबार जारी बन्दसत्रमा थापाले समसामयिक राजनीतिक प्रस्तावमार्फत यस्तो संकल्प गरेका हुन्।

संकल्पले युवा पुस्ताको जागरणलाई सम्मान गर्दै सुशासन, भ्रष्टाचार नियन्त्रण, युवा प्रतिनिधित्व र घटनाको छानबिन जस्ता मुद्दालाई केन्द्रमा राखेको छ। जेनजीको आह्वानमा भएको आन्दोलनले नेपाली राजनीतिमा नयाँ जागरण ल्याएको थापाको ठहर छ।

महामन्त्री थापाले आन्दोलनका क्रममा भएका दमन, हिंसा र दुःखद घटनाप्रति पार्टीले गहिरो दुःख व्यक्त गर्दै सहादत प्राप्त गर्नेहरूप्रति उच्च सम्मान प्रकट गरेका छन्।

भदौ २३ को दमन र २४ को विध्वंसका क्रममा भएका मानवअधिकार उल्लंघन तथा हिंसाका घटनाको स्वतन्त्र तथा निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्ने प्रतिबद्धता संकल्पमा गरिएको छ।

युवा पुस्तामा देखिएको अभूतपूर्व जागरणलाई पार्टीको जीवन्त पुँजी मानेर पार्टीको हरेक तहमा तथा राज्यका राजकीय निकायहरूमा युवाको अर्थपूर्ण सहभागिता र निर्णायक प्रतिनिधित्व सुनिश्चित गर्न विशेष महाधिवेशनमार्फत नीतिगत तथा संरचनागत व्यवस्था गर्ने दृढ प्रतिबद्धता थापाले व्यक्त गरेका छन्।

आन्दोलनको मूल भावना भ्रष्टाचार नियन्त्रण र सुशासनसँग जोडिएको भन्दै महामन्त्री थापाले यो आवाज आमनागरिककै स्वाभाविक माग भएको ठहर गरेका छन्। यसका लागि बहुपक्षीय राष्ट्रिय संवाद आवश्यक रहेको भन्दै थापाले निर्वाचनअघि नै साझा राष्ट्रिय समझदारी निर्माण गर्न आह्वान गरेका छन्। यसमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने उनको भनाइ छ।

विगतमा सरकार र संसद्मा रहँदा सुशासन तथा सेवा प्रवाहका प्रयास अपूर्ण रहेको स्वीकार गर्दै कमजोरी नदोहोर्‍याउने प्रतिबद्धता थापाले गरेका छन्। संवैधानिक निकाय, विश्वविद्यालय, सार्वजनिक संस्थानहरूमा राजनीतिक भागबण्डा अन्त्य गरी योग्यता र समावेशिताका आधारमा सञ्चालन गर्ने, संस्थाहरूको स्वायत्तता सुनिश्चित गर्ने तथा प्रशासनिक प्रणालीलाई पारदर्शी, चुस्त र जनउत्तरदायी बनाउने संकल्प पनि उनको छ।

यस्तो छ महामन्त्री थापाको संकल्प

क. भाद्र २३ को दमन र २४ को विध्वंशका क्रममा भएका घटना र गम्भीर मानव अधिकार उल्लङ्घन तथा हिंसाजन्य ज्यादतीका घटनाहरूको स्वतन्त्र र निष्पक्ष छानबिन गरी सत्य र न्याय निरूपण गर्नुपर्दछ, घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही गर्नु पर्दछ भन्ने बारेमा नेपाली कांग्रेस प्रष्ट र कटिबद्ध रहनेछ।

ख. युवा पुस्तामा देखिएको अभूतपूर्व जागरण हाम्रो समाजको जीवन्त राजनीतिक पुँजी र युगीन चेतनापुञ्ज हो। युवा पुस्ताले आन्दोलनमार्फत व्यक्त गरेको आमूल परिवर्तनको चाहनालाई उच्च सम्मान गर्दै युवा पुस्तालाई पार्टीको हरेक तहमा आन्तरिक सांगठनिक संरचनादेखि राज्य सञ्चालनका राजकीय तथा सार्वजनिक निकायहरूमा युवा पुस्ताको अर्थपूर्ण सहभागिता र निर्णायक प्रतिनिधित्वको सुनिश्चितताका लागि नीतिगत र संरचनागत प्रबन्धसहितको व्यवस्था गर्न यो विशेष महाधिवेशनमार्फत दृढ प्रतिबद्धता व्यक्त गर्दछ।

ग. भाद्र २३ र २४ को विद्रोहको मूल भावना भ्रष्टाचार नियन्त्रण र सुशासनसँग जोडिएको छ। भ्रष्टाचार अन्त्य, सुशासन, पारदर्शिता र सूचनाको हक सुनिश्चितता को त्यो आवाज तथा अभियान आमनागरिककै स्वाभाविक आवाज हो भन्ने नेपाली कांग्रेसको दृष्टिकोण छ। जेन-जी पुस्ताले परिवर्तनका लागि मुखरित गरेका आवाजको सम्बोधन र संस्थागत रूप दिन आज बहुपक्षीय राष्ट्रिय संवाद अत्यावश्यक छ भन्ने नेपाली कांग्रेसको ठहर छ। सुशासनलगायतका विषयमा सबै पक्षसँग संवाद गरी सहमति कायम गर्दै संविधानको मर्म र मूल्य-मान्यताविपरीत नगई रूपान्तरणसहित देशलाई शान्ति, स्थिरता तथा समुन्नतिको दिशातर्फ अघि बढाउन आसन्न निर्वाचनभन्दा अगाडि नै साझा राष्ट्रिय समझदारी आवश्यक छ। नेपाली कांग्रेस बहुपक्षीय संवाद र साझा राष्ट्रिय समझदारी निर्माण गर्न आह्वान गर्दछ। त्यसलाई परिणाममुखी बनाउन नेपाली कांग्रेस नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ।

घ. नेपाली कांग्रेस विगतमा सरकार र संसदमा रहँदा सुशासन र सेवा प्रवाहका सन्दर्भमा गरेको पहलकदमी अपूर्ण भएको र प्रभावकारी ढंगले अगाडि बढाउन नसेकेको तथ्यप्रति आत्मआलोचित हुँदै त्यस्ता कमीकमजोरीलाई अब नदोहोऱ्याउने प्रतिबद्धता व्यक्त गर्दछ। सुशासनको प्रत्याभूति र विधिको शासनलाई मजबुत बनाउन राज्यका संवैधानिक निकाय, नियामक अंग र विशिष्टीकृत अनुगमनकारी संस्थाहरूको स्वायत्तता सुनिश्चित गर्दै तिनलाई दलीय राजनीतिक प्रभावबाट पूर्णतः मुक्त राख्ने संकल्प गर्दछ। संवैधानिक निकाय, विश्वविद्यालय, सार्वजनिक संस्थान र सेवा प्रदायक निकायहरूमा व्याप्त राजनीतिक भागबण्डाको अन्त्य गरी ती संस्थाहरूलाई पूर्णतः व्यावसायिक, गैरदलीय र योग्यताका आधारमा सञ्चालन हुने र समावेशी प्रतिनिधित्व हुने गरी व्यापक संरचनात्मक सुधार गरिनेछ।

भ्रष्टाचार नियन्त्रण, वित्तीय अनुशासन र सुशासनका लागि प्रभावकारी कानुन निर्माण र कानुनको कार्यान्वयन, संस्था र निकायहरूको कार्यक्षमता अभिवृद्धि, कार्यविधि सरलीकरण र सुदृढीकरण गर्दै समग्र प्रशासनिक प्रणालीलाई पारदर्शी, चुस्त र जनउत्तरदायी बनाउन नेपाली कांग्रेस दृढ संकल्प गर्दछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast