काठमाडौँ- नेपाली कांग्रेसमा विशेष महाधिवेशन आजदेखि सुरु हुँदैछ। काठमाडौँस्थित भृकुटीमण्डपमा दिउँसो १ः०० बजे विशेष महाधिवेशनको उद्घाटन हुने तय भएको छ। उद्घाटनसत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च निर्माण गरिएको छ।
त्यसैगरी मञ्चको अगाडि खुला चौरमा भने छ हजारभन्दा बढी कुर्सीको व्यवस्थापन गरिएको विशेष महाधिवेशनका लागि गठन गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले जानकारी दिए । मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ ।
पुडासैनीका अनुसार उद्घाटनका दिन काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने र्यालीलाई व्यवस्थित तरिकाले कार्यक्रममा सहभागी गराउने गरी तयारी थालिएको छ । विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको जनाउँदै उनले विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेतालाई भने आमन्त्रण नगरिएको बताए।
मुलुकभरबाट विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश प्रतिनिधि आइसकेको र केही प्रतिनिधि आउने क्रम जारी रहेको आयोजक समितिले जनाएको छ । आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौँका विभिन्न स्थानमा तीन हजार ६०० प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको छ । साथै थप दुई–दुई सय प्रतिनिधिका लागि तत्काल व्यवस्थापन हुनेगरी प्रबन्ध मिलाइएको उनले जानकारी दिए ।
महाधिवेशन प्रतिनिधिहरुका लागि आयोजनास्थमै खाना र नास्ताको व्यवस्था गरिएको छ । महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरुले रु एक हजार शुल्क तिरेपछि एउटा झोलासहित खानाको कुपन पाउने व्यवस्था गरिएको छ । विशेष महाधिवेशनको उद्घाटनपछि बन्दसत्र भृकुटीमण्डपको सभाहलमा हुनेछ । बन्दसत्रमा छलफल हुने नीतिगत दस्तावेजका बारेमा भने हालसम्म धेरै विषय सार्वजनिक भइसकेका छैनन् ।
कांग्रेस संस्थापन पक्षले भने विशेष महाधिवेशन माग भएको अवधिभित्रै यसअघि १५औँ नियमित महाधिवेशनको मिति तोकिसकिएकाले यसको औचित्य स्वतः समाप्त भइसकेको जनाएको छ । इतरपक्ष मानिने महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले भने सभापति शेरबहादुर देउवा समेत महाधिवेशनमा आउनुपर्ने बताएका छन्। निर्धारित समयभित्र महाधिवेशन हुन नसकेका कारण विशेष महाधिवेशन गर्नुपरेको महामन्त्रीहरूको दाबी छ। संस्थापन पक्ष भने पार्टी विभाजन हुने काम भएको बताउँदै आएको छ।



