काठमाडौँ- ‘कविता सधैँ प्रेमबाट सुरु हुन्छ- तर त्यो प्रेम सधैँ कोमल मात्र हुँदैन। कहिलेकाहीँ प्रेम प्रश्न हुन्छ, कहिलेकाहीँ अस्वीकार र कहिलेकाहीँ प्रतिरोध’, यो अभिव्यक्ति कवि एवम् निबन्धकार दीपक सापकोटाको हो। सापकोटाले कवि रिमा केसीको सद्य प्रकाशित कवितासंग्रह ‘बगावतना’ को शनिबार राजधानीमा आयोजित विमोचन समारोहमा समीक्षात्मक मन्तव्यका क्रममा भने, ‘रिमा केसीको कविता संग्रह बगावतनामा यिनै द्वन्द्वात्मक भूमिमा उभिएको कृति हो, जहाँ प्रेम र प्रतिरोध एकअर्काको विकल्प होइनन्, बरु एकअर्काका गहिरा सम्भावना हुन्। कवितामा प्रेम विद्रोहको पहिलो भाषा बन्छ र प्रतिरोध प्रेमको अन्तिम रक्षा।’
सापकोटाका अनुसार संग्रहमा कविताले जीवनका विभिन्न पक्षलाई छोएका छन्, जसमा प्रेम, विद्रोह, प्रकृति र सामाजिक न्यायका विषय प्रमुख छन्। ‘संग्रहको सबैभन्दा राम्रो पक्ष भनेको भावनाहरूको गहिराइ हो, जसले पाठकलाई सोच्न बाध्य बनाउँछ र लामो समयसम्म प्रभावित पार्छ।’ कवितामा विद्रोहको भावनालाई जीवन्त रूपमा चित्रण गरिएको सापकोटाले बताए। ‘यो संग्रहका कविता पढेफछि पाठकले आफूलाई क्रान्तिकारी आन्दोलनको बीचमा अनुभव गर्छन्’, उनले भने।
संग्रहका अधिकांश कविताले सामाजिक मुद्दाहरू जस्तै लैंगिक समानता, सामाजिक र राजनीतिक विद्रोहलाई उठाएको सापकोटाले बताए। उनले भने, ‘कविले यी विषयलाई कविताका माध्यमबाट निकै प्रभावकारी रूपमा प्रस्तुत गरेका छन्। त्यसैले यो कविता मात्र नभई एक सामाजिक दस्तावेज हो।’
संग्रहको उत्कृष्ट पक्ष संरचनात्मक विविधता हो, जसमा लामा-छोटा काव्य-कथाहरूसम्म समावेश छन्। प्रेम-राजनीति, विद्रोहको आवाजका कविताहरूले संग्रहलाई ताजा र आकर्षक बनाएको सापकोटाले बताए। यो नवीनताले कविलाई नेपाली कविताका क्षेत्रमा एक विशेष स्थान दिने विश्ववास उनको छ। ‘यसले पुराना परम्परा तोडेर नयाँ बाटो देखाएको छ’, सापकोटाले भने।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले संसारमा कविताका मुख्य विषय प्रेम र विद्रोह हुने बताए। उनले भने, ‘कविता दुई विषयमा लेखिन्छन्- एउटा प्रेम र अर्को विद्रोह। अन्य विषय यिनका शाखा प्रशाखा हुन्। रिमा केसीका कवितामा मैले यस्तै विषय देखेँ।’ राईले अहिले कविता लेख्नका लागि कुनै उपाधिधारी हुन नपर्ने बताए। ‘अहिलेका कवि उपाधिविहीन कवि हुन्। सबै कवि जनताका कवि हुन्। रिमाको कविताको चर्चा गर्दै गर्दा उनलाई कुनै उपाधि नदिए पनि वर्तमान समयको जल्दोबल्दो कवि हुन् भनेर हामीले बुझिसकेका छौँ।’

कवि रिमा केसीले आफूले मुख्य कुरा कवितामार्फत बोलिसकेको बताइन्। उनले भनिन्, ‘कविताहरूमाथि आज उपस्थित वक्ताले बोलिसक्नुभएको छ। बाँकीचाहिँ यहाँहरूले कविता पढेर राम्रोनराम्रो प्रतिक्रिया राख्नु हुनेछ भन्ने आशा राख्दछु।’ उनले हामीले बाँच्ने हरेक क्षण, बोल्ने हरेक शब्द र देख्ने हरेक सपनाभित्र विद्रोहका अनेकन् आयाम लुकेको बताउँदै तिनै विद्रोहका अदृश्य छाल, समाजका दबिएका आवाज र मानवीय संवेदनाका झिल्कालाई शब्दमा उनेर कविता सिर्जना गरेको बताइन्।
कवि लक्ष्मी मालीले केसीका कविता समकालीन कवितामा अब्बल रहेको बताइन्। कार्यक्रममा स्वप्निल स्मृति, प्रज्वल अधिकारी, सुरज राना, अस्मिता केसी र मीरा जीएमले ‘बगावतनामा’ भित्रका कविता वाचन गरेका थिए।
संग्रहभित्रका समसामयिक प्रेम, वियोग, आशा, निराशा, सामाजिक न्याय, विद्रोह, आत्मसम्मानलगायत विषयमा रचिएका ४० कविता समावेश छन्। यीमध्ये केही यसअघि विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् भने अधिकांश नयाँ छन्।
इन्डिगो इन्कले प्रकाशन गरेको ‘बगावतनामा’ केसीको तेस्रो कृति हो। उनको पहिलो कविता संग्रह ‘यात्रामा अक्षर’ (२०७५) र कविता अनुवाद कविता संग्रह ‘अमृता प्रीतमका छानिएका कविता (२०७९) प्रकाशित छ।



