काठमाडौँ- नेपाली कांग्रेसका संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूले पार्टीभित्रको विशेष महाधिवेशनको मागको सम्मान गर्दै नेतृत्वलाई संवाद र सहमतिका माध्यमबाट परिणाममुखी वातावरण निर्माण गर्न अपिल गरेका छन्।
ललितपुरको कुपण्डोलमा शुक्रबार बिहान भएको छलफलपछि जारी विज्ञप्तिमा सो समूहले प्रतिनिधिहरूले गरेका मागलाई सम्मान गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गरी पार्टीमा नयाँ ऊर्जा र सोचसहित निर्वाचनमा प्रवेश गर्न आग्रह गरेको हो।
समूहले विज्ञप्तिमा भनेका छन्,‘नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै लिखित निवेदन दर्ता गरिसकेको अवस्था छ। अत: माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान गर्दै नयाँ ऊर्जा र सोचका साथ निर्वाचनमा प्रवेश गरी संवाद र सहमतिका माध्यमबाट बृहत् एकताबद्ध भई पार्टीको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्व तहलाई हार्दिक अपिल गर्दछौं।’
उनीहरूले आगामी निर्वाचनमा कांग्रेसलाई जनताको विश्वासिलो र भरोसायोग्य पार्टी बनाउनुपर्ने आवश्यकतामा जोड दिएका छन्। साथै, परिवर्तन र रूपान्तरणका मुद्दालाई अंगाल्दै नयाँ दृष्टिकोणसहित निर्वाचनमा जानुपर्ने अवस्था रहेको स्मरण गराएका छन्।
यसअघि पनि सो समूहले निर्वाचनअगावै नियमित महाधिवेशनको माग गर्दै विभिन्न नेतासँग छलफल गरेको थियो।



