प्रतिनिधिमूलक तस्बिर।
भक्तपुर- प्रहरीलाई चक्कु प्रहार गर्ने गिरोहका चारजना पक्राउ परेका छन्।
चक्कु प्रहार गर्नेसहित चोरी गर्ने गिरोहका २६ वर्षीय सागर शङ्खर सोती, २५ वर्षीय सन्तोष दुलाल, २० वर्षीय वीरेन्द्र मलिक र २७ वर्षीय अभय तुलाधरलाई प्रहरीले पक्राउ गरेको छ।
मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गर्न गएका प्रहरीमाथि उक्त गिरोहले चक्कु प्रहार गरेको थियो। भक्तपुरको सूर्यविनायक नगरपालिका–१० नालागुम्बा नजिक एक रेष्टुरेन्टमा प्रहरी टोलीको चोरी गर्ने समूहसँग जम्काभेट भएको थियो।
प्रहरी टोलीमाथि चक्कु प्रहार गर्दा उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक सञ्जीव केसी घाइते भएका थिए। उहाँको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जना गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भागेका फरार कैदी रहेको अनुसन्धानबाट खुलेको छ। प्रहरीले चोरीका दुई मोटरसाइकलसमेत बरामद गरेको छ।



