काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सूचीमा विदुषी राणाको नाम राखेपछि राजनीतिक चर्चा बढेको छ। गोल्डस्टार जुत्ता उद्योगकी कार्यकारी निर्देशक राणाले भने संसदमा प्रतिनिधित्व गरेपछि उद्योग, रोजगारी र महिलाको आर्थिक सशक्तिकरणको आवाज उठाउने बताएकी छन्।
विदुषीले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै भनिन्,‘मेरो नाम समानुपातिक सूचीमा परेपछि, म यहाँ किन र कुन उद्देश्यका लागि आएको हुँ भन्ने कुरा स्पष्ट गर्नु मेरो दायित्व ठानेकी छु। म समानुपातिक प्रतिनिधित्वलाई अधिकारभन्दा जिम्मेवारीको रूपमा बुझ्छु। यो मेरो व्यक्तिगत राजनीतिक महत्वाकांक्षा होइन; मेरो परिचय उद्योग, उत्पादन र श्रमसँग जोडिएको छ।’
उनले थपिन्, ‘म गोल्डस्टार जुत्ता उद्योगसँग दशकभन्दा लामो समयदेखि आबद्ध छु। यस उद्योगमार्फत ३,०००–४,००० महिलाले प्रत्यक्ष रोजगारी पाएका छन् र थप परिवार अप्रत्यक्ष रूपमा यससँग जोडिएका छन्। उद्योग केवल व्यापार मात्र होइन, यो देशको भविष्य निर्माण गर्ने आधार हो।’
राणाले उद्योग क्षेत्रको वर्तमान स्थिति र आवश्यक नीतिगत सुधारतर्फ ध्यानाकर्षण गराइन्। उनले भनिन्, ‘आज उत्पादन क्षेत्र जीडीपीको पाँच प्रतिशतभन्दा कममा सीमित छ र हाम्रो अर्थतन्त्र रेमिट्यान्स तथा आयातमा अत्यधिक निर्भर छ। यसको प्रत्यक्ष असर युवाको रोजगारी, महिलाको आत्मनिर्भरता र राष्ट्रको दीर्घकालीन भविष्यमा पर्छ।’
उनका अनुसार काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले उद्योग, रोजगारी र अर्थतन्त्रका मुद्दामा अनुभवसहितको आवाज संसदमा अघि बढाउन आग्रह गरेका थिए। राणा भन्छिन्, ‘यो आग्रह कुनै राजनीतिक करियरका लागि होइन, नेपाली उद्योग बाँचोस्, रोजगारी सिर्जना होस्, महिला आर्थिक रूपमा सक्षम बनून् र नेपाल उत्पादनशील बनोस् भन्ने साझा चिन्ताबाट आएको हो।’
खसआर्य समूहअन्तर्गत समानुपातिक सूचीमा राखिएको राणाले स्पष्ट पारिन्। उनले भनिन्,‘मेरो जिम्मेवारी व्यक्तिगत लाभका लागि होइन, स्वदेशी उत्पादन, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन, सीप विकास र महिलाको आर्थिक सशक्तिकरणको आवाज संसदमा उठाउनको लागि हो। यदि भविष्यमा यी एजेन्डालाई अझ प्रभावकारी रूपमा अघि बढाउन सकिन्छ भने म सम्मानका साथ जिम्मेवारी हस्तान्तरण गर्न तयार छु। मेरो चासो पद वा अधिकारमा होइन मेरो चासो मुद्दा र यसको निरन्तरतामा छ।’



