नयाँ सिजनको ए डिभिजन लिग : उद्घाटन खेलमा फ्रेन्ड्सले खुमलटारको सामना गर्ने

हिमाल प्रेस ६ माघ २०७९ २१:५२ | Friday, January 20, 2023
नयाँ सिजनको ए डिभिजन लिग : उद्घाटन खेलमा फ्रेन्ड्सले खुमलटारको सामना गर्ने गत सिजन च्याम्पियन बनेपछि खुसीयाली मनाइरहेका मछिन्द्र फुटबल क्लबका खेलाडीहरू।

काठमाडौँ- नयाँ सिजनको सहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लबले खुमलटार युथ क्लबको सामना गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फा ले शुक्रबार निकालेको तालिका अनुसार आउँदो फागुन १९ मा यी दुई टिम दशरथ रंगशालामा भिड्नेछन्।

डबल राउन्ड रोबिनमा हुन लागेको लिगमा खुमलटार नवप्रवेशी क्लब हो। नेपाली फुटबलको दोस्रो श्रेणीको लिग बी डिभिजनबाट बढुवा भएको अर्को क्लब चर्च ब्वाइज युनाइटेडले आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। फागुन २० मा यो खेल च्यासल रंगशालामा हुनेछ।

त्यस दिन अरु दुई खेल पनि हुनेछन्। जसमध्ये नेपाल एपीएफ क्लब र थ्रीस्टार क्लब तथा मनाङ मस्र्याङ्दी कलब र हिमलायन शेर्पा क्लब दशरथ रंगशालामा भिड्नेछन्। लगातार दुई सिजन लिग च्याम्पियन बनेको मछिन्द्र फुटबल क्लबले भने आफ्नो पहिलो खेलमा जावलाखेल युथ क्लबको सामना गर्नेछ। यो खेल फागुन २१ का दिन दशरथ रंगशालामा हुनेछ।

लिगमा दशरथ र च्यासल रंगशालाबाहेक एन्फा कम्पलेक्सको मैदान पनि प्रयोग गरिनेछ। यो मैदानले फागुन २३ मा चर्च ब्वाइज र खुमलटारलाई स्वागत गर्नेेछ। यही खेल नयाँ सिजन अन्तर्गत एन्फा कम्पलेक्समा हुने पहिलो हुनेछ।

हालका लागि एन्फाले लिगको पाँच चरणसम्मको खेल तालिका मात्र सार्वजनिक गरेको छ। एक दिनमा तीन खेल हुँदा दुई रंगशालाको प्रयोग गरिनेछ भने दुई खेल एकै समयमा खेलाइनेछ।

कुल १४ क्लब सहभागी हुने लिगमा कुल एक सय ८२ खेल हुनेछन्। च्याम्पियनले ७५ लाख रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो र तेस्रो हुने टिमले ५० तथा २५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। व्यक्तिगत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडीलाई तीन लाख दिइनेछ। त्यसैगरी सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले दुई–दुई लाख पाउँदा उदयीमान खेलाडीको भागमा एक लाख ५० हजार पर्नेछ।

प्रत्येक खेल विजेता क्लबलाई ५० हजार रुपैयाँ दिइनेछ। बराबरी भए दुई क्लबको सो रकम बाँडिनेछ। प्रत्येक खेलका म्यान अफ दी म्याचले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रकाशित: ६ माघ २०७९ २१:५२ | Friday, January 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast