काठमाडौँ- रोशन दासको निर्देशनमा बनेको फिल्म ‘प्रतिवैरम्’ को टिजर सार्वजनिक गरिएको छ। १ मिनेट २९ सेकेन्डको टिजर युना डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
टिजरमा दाइजोको कुरा र दाजु बहिनीको प्रेम सम्बन्ध पनि देखाउन खोजिएको छ। एक्सनप्रधान फिल्म मधेशमा हुने अपराधको बिषयमा बनेको छ। फिल्मको कथा मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित रहेको निर्देशक दासले बताए।
उनकाे भनाइअनुसार फिल्ममा मधेसका वास्तविक कथा, सौन्दर्य र सामाजिक-राजनीतिक समस्यालाई यथार्थपरक ढंगले प्रस्तुत गरिएकाे छ। फिल्ममार्फत मधेसको वास्तविक जीवन र संवेदनालाई दर्शकमाझ पुर्याउने उनको योजना छ।
फिल्मको मुख्य भूमिकामा सम्राट दास छन्। यो उनको डेब्यु फिल्म हो। फिल्ममा अन्य कलाकार सुप्रज्ञा शर्मा, वीरेन्द्र कुशवाहा, एलिशा बस्तोला, रोन्नी यादव, बिकी शाह, नवीन श्रेष्ठ, गीता श्री, अशिष डीके, प्रदीप ढकाल, नारायण बि.के., बिके शाह, रामेश बुढाथोकीलगायतको अभिनय छ।
निर्देशक दासकै कथा रहेको फिल्मको पटकथा युवराज भट्टराईले लेखेका हुन्। फिल्म आगामी वर्ष २०८३ साल जेठमा प्रदर्शन गर्ने टिमको तयारी छ। नेपालीसहित फिल्म हिन्दी, मैथिली र भोजपुरी भाषामा निर्माण गरिएको टिमले जनाएको छ।



