काठमाडौँ- नेपाली कांग्रेसभित्र निर्वाचनअगावै महाधिवेशन गरिनुपर्ने विषयलाई लिएर चुलिएको विवाद समाधानका लागि संस्थापन पक्षीय नेताहरूको सक्रियता बढेको छ।
यसैक्रममा सभापति शेरबहादुर देउवासँग भेटपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेको संस्थापन पक्षले अबको निकास केन्द्रीय कार्यसम्पादन समिति बैठकबाटै निस्कने बताएको छ। समिति बैठक आज दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ।
संस्थापन पक्षसँग आबद्ध २५ केन्द्रीय सदस्यहरूको समूहले शुक्रबार बिहान महाराजगन्जस्थित सभापति देउवाको निवासमा भेट गरी पार्टीलाई विभाजनतर्फ जान नदिन पहल गर्न आग्रह गरेको थियो। उक्त भेटमा निर्वाचनअघि नियमित महाधिवेशनको विषयमा उत्पन्न अन्योल र विवादबारे छलफल भएको थियो।
भेटका क्रममा सभापति देउवाले पार्टी विभाजन नहोस् भन्ने आफ्नो चाहना स्पष्ट पारेको केन्द्रीय सदस्य डा.डिला संग्रौलाले बताइन्। उनका अनुसार सभापतिले पार्टी एकतामै अघि बढ्नुपर्ने धारणा राखेका थिए।
सभापतिसँगको भेटपछि संस्थापन पक्षीय नेताहरू महामन्त्रीद्वय थापा र शर्मासँग छलफलमा जुटेका थिए। डा.संग्रौलाले हिमालप्रेससँग कुरा गर्दै महामन्त्रीहरूसँग विशेष महाधिवेशनको माग र त्यससँग जोडिएको हस्ताक्षर अभियानबारे छलफल भएको जानकारी दिइन्।
डा.संग्रौलाले भनिन्,‘महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशन चाहने ५४ प्रतिशतको हस्ताक्षरको माग सम्बोधन गर्ने भन्ने कुरामा लागेको पायौं।
सभापतिको भनाइ पनि सुनायौं। अबको निकास आज बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गर्छ।’
पुस १६ गतेका लागि तय भएको वडा अधिवेशन प्रभावित बनेपछि महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशन स्थगित गरिएको घोषणा गरेका थिए। उनीहरूले पुस २७ गते विशेष महाधिवेशन गर्ने तयारीसमेत अघि बढाएका छन्।
महामन्त्रीद्वयको उक्त कदमपछि कांग्रेसले आजै केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। बैठकबाट महाधिवेशन विवादको औपचारिक निकास खोजिने डा.संग्रौलाले बताइन्।



