काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले अनशनरत डा. निकोलस भुसाल र हरिश बिष्टको जीवनरक्षा गर्न माग गरेको छ। आयोगले बिहीबार विज्ञप्ति प्रकाशित गरी यस्तो माग गरेको हो।
भ्रष्टाचार छानबिन र कारबाही गर्नुपर्नेलगायतका माग राखी भुसाल र विष्ट विगत १० दिनदेखि काठमाडौँको माइतीघरमा आमरण अनशनमा छन्। आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘डा. निकोलस भुसाल र हरिश बिष्टको स्वास्थ्य कमजोर बन्दै गएको अवस्थाप्रति राष्ट्रिय मानवअधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ।’
आयोगले गरेको पछिल्लो अनुगमनका क्रममा भुसाल र विष्टको स्वास्थ्य अवस्था गम्भीर रहेको, भुसालको रक्तचाप निकै कम रहेको र रगतमा चिनीको मात्रा समेत घटेको पाइएको विज्ञप्तिमा उल्लेख छ।
‘निजहरुको प्रभावकारी स्वास्थ्य उपचारका लागि पहल गर्दै वार्ताको माध्यमबाट अनशनरत व्यक्तिहरूको माग सम्बन्धमा निष्कर्षमा पुग्न, पुर्याउन र उनीहरूको जीवनरक्षा गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ’, आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।



