जनकपुरधाम- प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा देशमा राजनीतिक दलबीच एकीकरण, मोर्चाबन्दी र गठबन्धनको होड चलेको छ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले जेनजी समूहका नेताहरूलाई एकीकृत गरेपछि अन्य दलहरूमा पनि एकीकरणको दबाब देखिएको हो।
कांग्रेस र एमाले आफ्नो गठबन्धन सक्रिय बनाउनमा जुटेका छन्। नेकपा कम्युनिस्ट पार्टी (नेकपा) ले वाम शक्तिहरूलाई एकीकृत गरेर अगाडि बढिरहेको छ। यता स्वार्थका लागि फुटिरहने मधेश केन्द्रित दलहरू पनि एकजुट हुन थालेका छन्। राजनीतिक विश्लेषकहरू यसलाई लोकतन्त्रको महत्त्वपूर्ण पक्ष मान्छन्।
एक महिनाअघि महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल), हृदयेश त्रिपाठी अध्यक्ष रहेको जनता प्रगतिशील पार्टी र वृशेषचन्द्र लाल अध्यक्ष रहेको तराई-मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बीच पार्टी एकता गर्ने घोषणा गरिएको थियो।
त्यस्तै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) मा मधेशका विभिन्न पार्टी र समूहहरूबीच एकीकृत हुने क्रम बढेको छ। गत साता जसपा नेपालमा मधेशका तीनवटा पार्टी र समूहहरू एकीकृत भएका छन्। यसले मधेशमा फेरि मधेश केन्द्रित दलहरू एउटा शक्तिको रूपमा उभिने सम्भावना बढेको ती दलका नेताहरू दाबी गर्छन्। यद्यपि मधेश केन्द्रित दलहरूको एकता लामो समय टिक्न सकेको पाइँदैन।
पुस ९ गते यादव नेतृत्वको जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकताको सहमति भएको थियो। आइतबार तीनदलीय एकीकृत लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसँग पार्टी एकताको सहमति गरेका यादवले सोमबार अशोक राई नेतृत्वको जसपाका केही प्रभावशाली नेतालाई आफ्नो दलमा भित्र्याएका छन्।
२०८१ वैशाख २३ गते अशोक राईले उपेन्द्र यादवसँगको सहकार्य तोडेर छुट्टै दल (जसपा) गठन गरेका थिए। त्यसयता नेपालको राष्ट्रिय राजनीतिमा कमजोर बनेका उपेन्द्र फेरि शक्तिमा आउने सम्भावना बढेको एकथरी राजनीतिक विशलेषकहरुको भनाइ छ।
जसपा नेपालसँग लोसपासहित तीन दल, अशोक राई नेतृत्वको जसपा र मधेश स्वाधीन जनअभियानलगायतका ६ दलको शक्ति मिलेको छ। उपेन्द्र यादवको दल नयाँ शक्तिका रूपमा आउन सक्ने सम्भावना बढेको छ। केन्द्रीय राजनीतिमा असर नपारे पनि मधेश प्रदेशमा जसपा ठूलो दलका रूपमा उभिन खोजेको छ।
प्रदेशसभामा नेकपा एमाले २५ सिटसहित पहिलो राजनीतिक दल थियो। जसपा र लोसपाको एकीकरणपछि अब मधेशमा यो पहिलो शक्ति बनेको हो। मधेश प्रदेशसभामा जसपाको १९ र लोसपाको नौ सिट छ। दुवै पार्टी मिलेपछि २८ सिट भएको हो। साथै एमाले दोस्रो र नेपाली कांग्रेस तेस्रो दल हुनेछन्। त्यसैगरी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी १६ सिटसहित चौथो दल बनेको छ।
दलहरूको एकताले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ असर नपारे पनि समानुपातिकतर्फ असर पार्न सक्ने अर्कोथरीका राजनीतिक विश्लेषकहरूको आकलन छ। विश्लेषक डा. सुशील यादव भन्छन्, ‘संघीयता पक्षधर र संघीयताविरोधी दलहरु एकजुट भइरहेका छन्। यो सकारात्मक पक्ष हो। अहिले मिलेर नगए आउँदो चुनावमा अस्तित्व गुम्ने खतरा छ।’
मधेश केन्द्रित दलमाथि स्वार्थको आरोप लाग्दै आएको छ। ‘राजनीतिको मूल अर्थ नै स्वार्थ हुन्छ। कुनै पनि दल बिना स्वार्थ एकीकृत हुँदैन। कांग्रेस र एमालेको गठबन्धन स्वार्थकै लागि, माओवादी र कम्युनिस्ट शक्तिहरुको एकीकृत स्वार्थकै लागि हो र रवि-बालेन-कुलमानको गठजोड पनि शक्ति आर्जन गर्ने स्वार्थकै लागि हो। यसमा मधेशी दलले स्वार्थ खोज्नु स्वाभाविक हो।’
अर्का राजनीतिक विश्लेषक रोशन जनकपुरी पनि चुनावका बेला ससाना दलहरू एकजुट भएमा जनतासामु एजेन्डा लैजान सहज हुने बताउँछन्। उनी भन्छन्, ‘ससाना दलहरू चुनावका बेला एकीकृत हुनु साकारात्मक पक्ष हो। यो एकता चुनावपछि पनि कायम रह्यो भने एउटा शक्तिका रूपमा स्थापित हुन सक्छ।’
विगतमा मधेश आन्दाेलनकाे एजेन्डा लिएर अघि बढ्दा मधेशमा एउटा ठूलै शक्तिका रूपमा आएका थिए मधेशी दल। सम क्रमसँगै मधेशी दलले एजेन्डा बिर्सेपछि त्याे शक्ति क्षीण भएकाे छ। अहिले एकीकृत भए पनि त्याे शक्ति हासिल गर्न सक्ने सम्भावना कुनै नयाँ एजेन्डा छैन। सत्ता स्वार्थकै लागि मधेशी दलहरू जुट्ने र फुट्ने गर्दै आएका छन्।
उपेन्द्र यादवको नेतृत्वमा रहेको दलमा भाग्यनाथ गुप्ता, किशोर विश्वास, अमर यादव, विजयकुमार गच्छेदार, जेपी गुप्ता, सरिता गिरी, महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, अशोक राईलगायत समाहित भएका थिए। तर ती नेता यति बेला छिन्नभिन्न भइसकेका छन्।
यसैगरी मधेश आन्दोलनका बेला नेपाली कांग्रेस छाडेकमा महन्थ ठाकुरले गठन गरेको तराई मधेस लोकतान्त्रिक पार्टी पनि पटकपटक फुट्दै आएको छ। तमलोपापछि राष्ट्रिय जनता पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल हुँदै विभाजित भएर ठाकुरकै नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बनेको थियो।




