टेलिकमको एनटी फाइबर विद्यार्थी अफर : ३० एमबीपीएस इन्टरनेट वार्षिक ४,९९९ रुपैयाँमा

हिमाल प्रेस १४ पुष २०८२ १३:३७ | Monday, December 29, 2025
30
SHARES
टेलिकमको एनटी फाइबर विद्यार्थी अफर : ३० एमबीपीएस इन्टरनेट वार्षिक ४,९९९ रुपैयाँमा

काठमाडौँ- नेपाल टेलिकमले विद्यार्थीलाई लक्षित गर्दै ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक गरेको छ। फाइबर टु द होम सेवाअन्तर्गत ल्याइएको यो अफर आगामी माघ २२ गतेसम्म आवेदन दिन सकिने टेलिकमले जनाएको छ। विद्यार्थीका लागि मात्र उपलब्ध यो अफर हाल धेरै विद्यार्थीका लागि उपयोगी बनेको टेलिकमको भनाइ छ।

टेलिकमका अनुसार एनटी फाइबर विद्यार्थी अफर अन्तर्गत ३० एमबीपीएस स्पिडको इन्टरनेट सेवा एक वर्षका लागि उपलब्ध हुनेछ। यसको कुल मूल्य ४ हजार ९९९ रुपैयाँ तोकिएको छ। सो प्याकेजमार्फत प्रतिदिन २५ जीबीसम्म डाटा प्रयोग गर्न सकिनेछ। निर्धारित सीमा (FUP) भन्दा बढी डाटा प्रयोग भएमा इन्टरनेट स्पिड ५ एमबीपीएसमा झर्ने व्यवस्था गरिएको छ।

यस अफर अन्तर्गत जडान शुल्क ५०० रुपैयाँ लाग्नेछ। साथै, विद्यार्थीले एक थान ड्युअल ब्यान्ड सीपीई (Dual Band CPE) र अधिकतम १०० मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्ने नेपाल टेलिकमले जनाएको छ। अन्य नियमित एनटी फाइबर प्याकेजमा उपलब्ध हुने भ्वाइस, एनटीटीभी तथा मोबाइल डाटा भने यो अफरमा समावेश छैनन्, डाटा सेवा मात्र उपलब्ध हुनेछ।

एनटी फाइबर विद्यार्थी अफर लिन इच्छुक विद्यार्थीले माघ २२ गतेभित्र १९८ मा सम्पर्क गरी डिमान्ड पोर्टलमार्फत वा नजिकको नेपाल टेलिकमको कार्यालयमा उपस्थित भई आवेदन दिन सक्नेछन्।

यो अफर २०५४ साल वा त्यसपछि जन्म मिति भएका विद्यार्थीका लागि मात्र लागू हुनेछ। त्यसका लागि जन्म दर्ता प्रमाणपत्र वा नागरिकता जस्ता जन्म मिति स्पष्ट खुल्ने कागजात अनिवार्य पेस गर्नुपर्नेछ। साथै, विद्यार्थी परिचयपत्र पनि आवेदनसँगै बुझाउनुपर्नेछ। नाबालिग विद्यार्थीको हकमा भने अभिभावकको नागरिकता, लाइसेन्स वा पासपोर्टको प्रतिलिपि अनिवार्य हुनेछ।

नेपाल टेलिकमका अनुसार यो अफरको समयावधि समाप्त भएपछि पुनः यही प्याकेजमा नवीकरण गर्न मिल्ने छैन। सेवा निरन्तरता चाहनेले टेलिकमका अन्य नियमित प्याकेजमध्येबाट छनोट गर्नुपर्नेछ। नवीकरण गर्न नचाहेमा प्रदान गरिएको सीपीई फिर्ता गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

प्रकाशित: १४ पुष २०८२ १३:३७ | Monday, December 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast