काठमाडौँ- नेपाली कांग्रेसले राष्ट्रियसभाको अधिवेशन तत्काल आह्वान गर्न माग गरेको छ।
नेपाली कांग्रेस राष्ट्रियसभाका प्रमुख सचेतक कृष्णबहादुर रोकायको नेतृत्वमा गएको टोलीले आज राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेर कांग्रेस संसदीय दलको निर्णयबारे जानकारी गराउँदै अधिवेशन बोलाउन माग गरेको हो।
कांग्रेस संसदीय दलको पुस १० गते बसेको बैठकले देशमा विकसित राजनीतिक विषम परिस्थितिमा असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरिएको अवस्थामा जनताका आवाज उठाउने सार्वभौम संघीय संसद्अन्तर्गत राष्ट्रियसभा मात्र कायम रहेकाले राष्ट्रियसभाको बैठक बस्न अपरिहार्य भएको निष्कर्ष निकालेको थियो।
सोही निर्णयअनुसार अधिवेशन अविलम्ब आह्वान गर्न अध्यक्षमार्फत सम्बन्धित निकायसँग माग गर्न अनुरोध गरिएको कांग्रेसले जनाएको छ। भेटवार्तामा राष्ट्रियसभा सदस्यहरू कमला पन्त, किरणबाबु श्रेष्ठ, विष्णु सापकोटा र पदम परियारलगायत सहभागी थिए।




