एक वर्षमा ८० प्रतिशतले बढ्यो सुनको मूल्य, यस्तो छ कारण

हिमाल प्रेस १३ पुष २०८२ १३:१८
34
SHARES
एक वर्षमा ८० प्रतिशतले बढ्यो सुनको मूल्य, यस्तो छ कारण

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य गत वर्षको तुलनामा करिब ८० प्रतिशतले बढेको छ। सुनको मूल्य आइतबार प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेर कीर्तिमान कायम गरेको हो।

गत वर्ष पुस १४ गते सुन प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला सातामा पनि मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। मंसिर १५ गते सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार तीन सय रुपैयाँ थियो। यसको अर्थ एक महिनाभन्दा कम समयमा सुनको मूल्यमा करिब ६ प्रतिशतले वृद्धि भएको छ।

स्थानीय बजारमा भएको यो वृद्धिले अन्तर्राष्ट्रिय बजारको तीव्र वृद्धिलाई प्रतिबिम्बित गर्दछ। विश्वव्यापी अनिश्चितता र सुरक्षित लगानीका रूपमा सुनको माग बढेपछि शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस चार हजार पाँच सय ४९ डलर पुगेर नयाँ रेकर्ड बनाएको थियो।

नेपालले आफ्नो सुनको सम्पूर्ण माग आयातबाट पूरा गर्ने भएकाले स्थानीय बजार विश्वव्यापी मूल्य परिवर्तनप्रति अत्यन्त संवेदनशील छ। नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर बलियो बन्दै जाँदा आयात लागत बढ्न गई मूल्य वृद्धिमा थप चाप परेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार क्रिसमस, नयाँ वर्ष, चिनियाँ नयाँ वर्षको प्रभावका कारण नेपाली बजारमा सुनको मूल्यले कीर्तिमान कायम गरेको हो। महासंघका अध्यक्ष अर्जुन रसाइलीले उपहारका लागि सुनको क्वाइनको माग उच्च हुँदा मूल्य बढेको बताए।

महासंघका अनुसार यति बेला सुनको मूल्य बढ्नु स्वाभाविक हो।  ‘अहिले अमेरिकी डलर बलियो देखिएको छ। भेनेजुएलाले चीन र रुसलाई पठाउने तेल रोक्नु, अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता जस्ता कारणले पनि सुनको मूल्य बढेको हो,’ उनले भने।

बजारमा सुनको कारोबार न्यून छ। ‘एक तोला सुनको झन्डै ३ लाख रुपैयाँ पर्न थालेपछि खरिद गर्नेभन्दा बिक्री गर्न आउनेको चहलपहल बढी देखिएको छ,’ रसाइलीले आइतबार हिमालप्रेससँग भने, ‘व्यवसायीहरू पनि सुन बिक्रीभन्दा खरिदतर्फ बढी केन्द्रित छन्।’

मंसिरसम्म राष्ट्र बैंकबाट निरन्तर सुन आपूर्ति हुँदै आए पनि अहिले लगभग रोकिएको रसाइलीले जानकारी दिए। ‘सुन ल्याएर स्टक राख्नु उपयुक्त नदेखिएकाले अहिले व्यवसायीहरूले नयाँ सुन लिएका छैनन्,’ उनले भने। हाल बैंकमा करिब १३० किलो सुन स्टक रहेको र बजारमा प्रायः पुरानै सुनको कारोबार भइरहेको उनले जानकारी दिए।

माघ-फागुनमा विवाहको लगन सुरु भएपछि सुनको माग बढ्ने अनुमान गरिएको छ। त्यसपछि पुनः सुनको आयात बढ्न सक्ने उनको भनाइ छ।

सुनको मूल्य घट्न सक्ने सम्भावनाका कारण पनि रसाइलीले बताए। चीनले समुद्रबाट सुन उत्खनन गर्ने तयारी गरिरहेको समाचार आउनु, अमेरिका र अस्ट्रेलियाबीच विभिन्न खनिज उत्खननसम्बन्धी सम्झौतामा सुन पनि समावेश हुनु मूल्य घट्ने कारण बन्न सक्ने उनको भनाइ छ। रुस-युक्रेन युद्धविराम भएमा पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्न सक्ने उनले बताए।

प्रकाशित: १३ पुष २०८२ १३:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast