कारबाहीमा परेकाहरूको क्रियाशील सदस्यता नवीकरण गर्ने कांग्रेसको निर्णय

हिमाल प्रेस १२ पुष २०८२ १९:२८ | Saturday, December 27, 2025
24
SHARES
कारबाहीमा परेकाहरूको क्रियाशील सदस्यता नवीकरण गर्ने कांग्रेसको निर्णय

काठमाडौँ-नेपाली कांग्रेसले पार्टीको अनुशासनविपरीत काम गरेर कारबाहीमा परेकाहरूको क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ। सानेपास्थित केन्द्रीय कार्यालयमा आज (शनिबार) भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्बन र पार्टीको विधानअनुसार स्वतः कारबाहीमा परेकाहरूको बाँकी अवधि मिनाहा गर्ने निर्णय गरेको हो।

साथै पार्टी परित्याग गरेकालाई घर फर्कन कांग्रेसले आह्वान गरेको छ। ‘विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेका साथीहरूलाई पार्टीमा फर्कनका लागि केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक हार्दिक आह्वान गर्दछ। त्यसरी फर्किने साथीहरुलाई क्रियाशील सदस्यता सहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णय यो बैठक गर्दछ,’ कांग्रेसले गरेको निर्णयमा उल्लेख छ।

वर्तमान विकसित राजनीतिक अवस्था र आसन्न प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनलाई मध्यनजर गर्दै पार्टीलाई सुसंगठित बनाउँदै पार्टीभित्र बृहत एकता कायम गर्दै संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको दिगो विकाससंगै संविधानको रक्षा गर्नुपर्ने राष्ट्रिय दायित्वलाई हृदयङ्गम गरी आगामी दिनमा पार्टी हितविपरीत हुने गरी अनुशासन उल्लंघनका कुनै पनि कार्य नगर्न नगराउन सचेत गराउँदै यस्तो निर्णय गरेको कांग्रेसले जनाएको छ।

बैठकले समानुपातिकतर्फका ११० उम्मेदवार चयनको मापदण्ड तयार गरेर नाम चयन प्रक्रिया सुरु गरेको छ। कार्य सम्पादन समितिको आइतबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ।

प्रकाशित: १२ पुष २०८२ १९:२८ | Saturday, December 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast