काठमाडौँ महानगरको पूँजीगत खर्च १२.३९ प्रतिशत

हिमाल प्रेस ११ पुष २०८२ १७:५१ | Friday, December 26, 2025
30
SHARES
काठमाडौँ महानगरको पूँजीगत खर्च १२.३९ प्रतिशत

काठमाडौँ- काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न नगरसभा बैठकमा ४३ औँ नगर कार्यपालिकाबाट स्वीकृत स्वास्थ्य बिमा लागू भएका १० वटा  स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि आवश्यक जनशक्ति व्यवस्थापनसम्बन्धी प्रस्ताव अनुमोदन गरिएको छ।

१७ औँ अधिवेशनबाट आर्थिक वर्ष २०८२/८३ का लागि संक्षिप्त कोषमा व्यय भार पर्ने २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ र अन्य व्यय भार ६५ करोड रुपैयाँ गरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट स्वीकृत भई कार्यान्वयनमा रहेको महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले जानकारी दिइन्।

उनले चालु आर्थिक वर्षको पुस ९ गतेसम्म समग्र आय–व्ययको अवस्थाअनुसार कुल ४ अर्ब ६४ करोड ३४ लाख ७१ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिन्।  खर्चको प्रतिशत हेर्दा चालु खर्च २८.४४ प्रतिशत र पूँजीगत खर्च १२.३९ प्रतिशत रहेको उपमेयर डंगोलले जानकारी दिइन्।

क्षेत्रगत रूपमा पूर्वाधार विकासमा १४.०१ प्रतिशत, आर्थिक विकासमा १५.१५ प्रतिशत, सामाजिक विकासमा १६.२२ प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १२.०६ प्रतिशत खर्च भएको उपमेयर डंगोलले बताइन्।

कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा भने सबैभन्दा बढी ४५.९९ प्रतिशत खर्च भएको उनले जानकारी दिइन्। उपमेयर डंगोलले काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका ऐतिहासिक, पुरातात्विक,  मठमन्दिर, भाषा, धर्म, संस्कृति, भेषभूषा तथा सम्पदा स्थलहरूको जर्गेना गर्दै पूर्वाधार विकासलाई अघि बढाउन आफूहरू प्रतिबद्ध रहेको बताइन्।

सडक, ढल, पुल, निर्माण तथा मर्मतसम्भार, फोहोरमैला व्यवस्थापन, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत विकासका आवश्यकतामाथि निरन्तर सोचेर कार्यान्वयन गर्दै आएको उनको भनाइ थियो।

प्रकाशित: ११ पुष २०८२ १७:५१ | Friday, December 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast