एमाले नेतृ विद्या भण्डारी
काठमाडौँ- एमाले नेता बन्ने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको इच्छा तत्काल पूरा नहुने देखिएको छ। एमाले अध्यक्षमा फेरि केपी शर्मा ओली चयन भएपछि भण्डारीको पार्टी सदस्यता नै अन्योलमा परेको हो।
एमालेको ११ औँ महाधिवेशनबाट पदाधिकारी र केन्द्रीय सदस्यमा ओलीपक्षीय नेताहरूको वर्चस्व देखिएको छ। महाधिवेशनमा ओलीको संस्थापन प्यानलसँग ईश्वर पोखरेल प्यानल मैदानमा थियो। भण्डारीले पोखरेललाई समर्थन गरेकी थिइन्।
एमालेकी पूर्वउपाध्यक्ष भण्डारीले यसअघि नै सदस्यता नवीकरण गरेकी थिइन्। उनले असार १४ गते मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा आफू एमाले राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन्। तर ओलीले विधान महाधिवेशनबाट भण्डारी पूर्वराष्ट्रपति भएकाले पार्टी सदस्य बन्न नहुने भन्दै सदस्यता खारेज गरिदिए। यसपछि पनि भण्डारी सक्रिय राजनीतिमा आउने तयारी गरिन्।
‘उहाँ (विद्या)को सदस्यतासम्बन्धी सधैँ एजेन्डा बन्ने छ। अब पनि हामी उठाउँदै जानेछौँ,’ एमाले नेता विनोद ढकाल भन्छन्, ‘आन्तरिक चुनावमा हारजित हुन्छ। तर एजेन्डा रहिरहन्छ।’
ढकालका अनुसार भण्डारीले सदस्य बन्छु भनुन्जेल एमालेमा सदस्यताका लागि संघर्ष चलिरहन्छ। ओलीले सदस्यता खारेज गरेपछि पनि भण्डारीले सक्रियता बढाइरहेकी छन्। ११ औंँ महाधिवेशनमा ओलीसँग कुटु सम्बन्ध भएका नेताहरूको भण्डारीको छहारी खोजे। महाधिवेशनमा भण्डारी पक्षको कमजोर प्रस्तुति रह्यो। कुल दुई हजार २२७ मतमध्ये एक हजार ६६३ मत ओलीले प्राप्त गर्दा पोखरेलले ५६४ मत ल्याए।
१९ पदाधिकारीमा पोखरेल पक्षका दुई जना निर्वाचित भए। उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराई मात्र पोखरेल पक्षका हुन्। एमालेको केन्द्रीय समितिमा पनि ओलीको दबदबा रह्यो।
महाधिवेशनमा पनि पोखरेल पक्षले भण्डारीलाई सदस्यता दिनुपर्ने एजेन्डा बनाएको थियो। कसैले सदस्यता नवीकरण गर्छु भन्दा पार्टीले दिनुपर्ने माग उनीहरूको थियो। महाधिवेशनको मतदानमा भने सदस्यतासम्बन्धी एजेन्डा कमजोर देखियो। राजनीतिक विश्लेषक झलक सुवेदी महाधिवेशनपछिको स्थिति हेर्दा भण्डारीको सदस्यता नवीकरण हुने सम्भावना कम रहेको बताउँछन्।
‘एमाले नेतृत्वमा ओलीको वर्चस्व रहुन्जेलसम्म सदस्यता नवीकरण हुन्छ भन्ने लाग्दैन,’ सुवेदी भन्छन्, ‘अब विद्यालाई सदस्यता दिने अधिकार ओलीमै निहित छ।’ सुवेदीका अनुसार भण्डारीको सदस्यता नवीकरण हुने–नहुने कुरा एमालेको आगामी निर्वाचनपछिको ‘पोजिसन’, राष्ट्रिय राजनीतिमा ओलीको स्थानले प्रभाव पार्छ।
‘ओलीले आन्तरिक एकता गर्न चाहे पनि सदस्यता नवीकरण हुन सक्छ। आगामी कार्यकाल (एमालेको १२ औँ महाधिवेशन)मा उत्तराधिकारी छाड्न चाहे मात्र सदस्यता नवीकरण हुन सक्छ,’ सुवेदी भन्छन्।
ओलीले विद्यालाई सदस्यता दिने विषयमा अनुदार अभिव्यक्ति दिइरहेका छन्। ओलीले सदस्यताका लागि विद्याले प्रयत्न नगरेको बताउन थालेका छन्। एमाले संस्थापक नेताहरूका अनुसार भण्डारीप्रति ओली सन्तुष्ट छैनन्। भण्डारीले एमाले नेतृत्वमा आउने योजना बनाउन थालेपछि ओली रुष्ट भएका हुन्।
भण्डारी पनि एमालेमा सदस्यता लिने नै गरी अघि बढ्ने तयारी गरिरहेकी उनी निकट नेताहरू बताउँछन्। ‘अन्य पार्टीमा जाने सम्भावना देखिदैन। उहाँ (विद्या) अब पनि एमालेमै संघर्ष गर्नुहुन्छ,’ विश्लेषक सुवेदी भन्छन्। सुवेदीका अनुसार एमालेमा ओलीसँग असन्तुष्ट नेता भण्डारीकै लाइनमा आउने सम्भावना छ। ‘विगतमा ओलीसँग भएका नेताहरू पनि भण्डारी खेमामा छन्। अब पनि त्यही काम हुन्छ जस्तो लाग्छ’, सुवेदीले भने।
ओलीलाई अघिल्लो कार्यकालजस्तो सजिलो नरहेको जानकारहरू बताउँछन्। ईश्वर प्यानलले एमालेभित्र निरन्तर संघर्ष गरिरहने बताइसकेको छ। नेताहरूका अनुसार ईश्वर टिम सक्रिय बनाउदै लैजाने र एमालेमा ‘दुई ध्रुव’ बनाउने काम निरन्तर भइरहनेछन्।





