राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान

हिमाल प्रेस १० पुष २०८२ १७:२५
18
SHARES
राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि दरखास्त आह्वान

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदका लागि सिफारिस गर्न गठित सिफारिस समितिले योग्य उम्मेदवारबाट दरखास्त आह्वान गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा बिहीबार प्रकाशित सूचनाअनुसार इच्छुक र योग्य व्यक्तिले सूचना पहिलोपटक प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् २०८२ साल पुस २४ गतेभित्र दरखास्त पेस गर्नुपर्नेछ।

शिक्षा ऐन, २०२८ को दफा ४क. अनुसार माध्यमिक शिक्षा परीक्षाको सञ्चालन, समन्वय तथा व्यवस्थापनका लागि राष्ट्रिय परीक्षा बोर्डको व्यवस्था गरिएको छ। सोही ऐन बमोजिम मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी शिक्षा तथा परीक्षा सम्बन्धी क्षेत्रमा न्यूनतम १२ वर्षको अनुभव प्राप्त व्यक्तिमध्येबाट सिफारिस समितिको सिफारिसमा नेपाल सरकारले बोर्डको अध्यक्ष नियुक्त गर्ने कानुनी व्यवस्था छ।

सूचनाअनुसार उम्मेदवार कुनै राजनीतिक दलको सदस्य नभएको, राष्ट्रिय परीक्षा बोर्डसँग कुनै किसिमको स्वार्थको द्वन्द्व नभएको तथा राष्ट्रिय परीक्षा बोर्ड नियमावली, २०७६ अनुसार अयोग्य नठहरिएको हुनुपर्नेछ।

दरखास्तका साथ नागरिकता, शैक्षिक योग्यताका प्रमाणपत्र, शिक्षा तथा परीक्षा क्षेत्रमा काम गरेको अनुभव खुल्ने कागजात, स्वघोषणा पत्र, अवधारणा पत्र र चारबर्से  व्यावसायिक कार्ययोजना पेस गर्नुपर्नेछ। अवधारणा पत्र र कार्ययोजना छुट्टाछुट्टै सिलबन्दी खाममा तीन–तीन प्रति पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

दरखास्त दस्तुरबापत पाँच हजार रुपैयाँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको राजश्व खातामा जम्मा गरी सोको भौचर संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ। अवधारणा पत्र र कार्ययोजनाको मूल्यांकन कोडिङ–डिकोडिङ प्रणालीमार्फत गरिने भएकाले पहिलो पृष्ठबाहेक अन्य पृष्ठमा उम्मेदवारको नाम वा परिचय खुल्ने कुनै संकेत उल्लेख गर्न नपाइने स्पष्ट गरिएको छ।

उम्मेदवारको मूल्यांकन ‘राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनोट सम्बन्धी कार्यविधि, २०८२’ बमोजिम गरिनेछ। गलत वा अपूरा कागजात पेस गरेमा जुनसुकै चरणमा पनि दरखास्त रद्द हुन सक्ने चेतावनी दिइएको छ।

दरखास्त फाराम, अवधारणा पत्र तथा कार्ययोजनाका नमुना शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट www.moest.gov.np बाट डाउनलोड गर्न सकिनेछ। थप जानकारीका लागि मन्त्रालयको कार्यालय समयभित्र सम्पर्क गर्न वा उपसचिव कृष्णचन्द्र पोखरेलसँग सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।

प्रकाशित: १० पुष २०८२ १७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast