पोखरा- पोखराको गहनाका रूपमा रहेको फेवाताल मानवीय एवं प्राकृतिकरूपमा अतिक्रमणको चपेटामा पर्दै आएको छ। ताल संरक्षणका लागि सर्वोच्च अदालतले ४ असार २०८० मा नेपाल सरकार, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको नाममा तालको यथार्थ अवस्थाको अध्ययन गरी पानीको उच्चतम् विन्दुबाट ६५ मिटरको मध्यवर्ती क्षेत्र घोषणा गरी पूर्ण रूपले हरियाली प्रवर्द्धन गर्नू-गराउनू भनी उत्प्रेषणयुक्त परमादेश दिएको थियो।
अदालतको मानहानि हुने गरी लामो समयसम्म काम अघि बढ्न सकेन। अदालतको पछिल्लो आदेश कार्यान्वयन सहजीकरण समितिले प्रारम्भिकरूपमा ताल सिमाना (तालघर) मा चारैतिर पिल्लर गाड्ने भने ६ महिनाअघि टुंगाएको थियो।
सिँचाइ डिभिजन कार्यालय, कास्कीको १० वर्षको रेकर्ड तथा विभिन्न समयमा बनेका फेवातालका नक्साको अध्ययनपश्चात् तालको हाई फ्लोड लेबल ७९४.९५ मिटर कायम गरिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बताउँछन्। उक्त विन्दुलाई हाई फ्लोड लेभल आधार मान्दा तालघर ६.३४३ वर्ग किमी अर्थात् १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम कायम हुन आउँछ। सर्वोच्चले तोकेको ६५ मिटर मापदण्डसमेतको कुल क्षेत्रफल ७.६१६ वर्ग किमी अर्थात् १४ हजार ९७० रोपनी ५ आना २ दाम कायम हुने आउने आचार्यले बताए।
पिल्लर गाडिए पनि तालघरमा पर्ने जग्गाको अवस्था अध्ययन गरी मुआब्जा दिनुपर्ने वा नपर्ने, दूषित दर्ता, २०३१ सालअघि तथा पछिको दर्ता, भौतिक संरचनाको अवस्था लगायतको कार्य अघि बढेको छैन।

यसैबीचमा तालको मुख्य जलाधार क्षेत्रका डाँडा खारेर तालको मुहान हर्पनखोला वरिपरिको सिमसार क्षेत्र पुर्ने काम पछिल्लो समय बढ्दो छ। सिमसार क्षेत्र पुर्ने काममा संलग्नमध्ये एक जना युवा व्यवसायी युवराज खतिवडा पक्राउ परेका छन्। अभद्र व्यवहार अभियोगमा कास्की प्रहरीले जरुरी पक्राउ पुर्जी थमाएर दुई दिनअघि उनलाई पोखराबाट पक्राउ गरेको हो।
सिमसार पुर्ने क्रममा रोक्न पुगेको कास्की प्रहरी र रिपोर्टिङका लागि पुगेका पत्रकारमाथि खतिवडाले अभद्र व्यवहार गरेको आरोप छ। उनीमाथि थप अनुसन्धानका लागि कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको कास्की प्रहरीले जनायो।
उनी पक्राउ परेको यो पहिलोपल्ट भने होइन। यसअघि समेत विभिन्न अभियोगमा कैयौंपल्ट पक्राउ पर्दै छुट्ने गरेका पात्र हुन्। विगतमा पनि अभद्र व्यवहार, जुवा, बैंकिङ कसूर, सिमसार पुरेकै आरोपमा उनी पक्राउ परेका थिए।
पोखरा-१८, पामे क्षेत्रको डाँडा खारेर फेवातालको सिमसार पुर्दै गरेका खतिवडा अभद्र व्यवहार मुद्दामा पछिल्लो समय पक्राउ परेका थिए। उनले डाँडा खारेर सिमसार पुर्न प्रयोग गरेको चार वटा सवारीसाधनको चाबी प्रहरीले नियन्त्रणमा लिएको छ।
धादिङका खतिवडा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका माओवादी नेता शालिकराम जमरकट्टेल निकट मानिन्छन्। शक्ति केन्द्रको आडमा उनले विभिन्न गैरकानुनी क्रियाकलाप दोहोर्याउने गरेको आरोप छ। साथै पामे क्षेत्रमा जग्गा पुर्ने काममा माओवादी नगर कमिटी अध्यक्ष तथा जग्गा कारोबारी हरि भण्डारी, वाइसियल नेता रुद्र विक, राजकाजी गुरुङ (करण) निकट तोरण गुरुङलगायत सक्रिय रहेको आरोप छ।
सोमबार पुरेको जग्गा गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर केसीको भएको आरोप छ। तर मन्त्री केसीले उक्त जग्गा ६ महिनाअघि नै बिक्री वितरण गरिसकेको दाबी गरे।

यसैबीच तालको सिमसार क्षेत्र पुर्ने र डाँडा खार्ने गतिविधिप्रति वातावरण संरक्षणका लागि महाअभियान कास्की र नागरिक समाज कास्कीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
वातावरण संरक्षणका लागि महाअभियान कास्कीका तर्फबाट संयोजक रामबहादुर पौडेल र नागरिक समाज कास्कीका तर्फबाट नरेन्द्रमान लालचनले बुधबार संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै विश्व रामसार क्षेत्रमा सूचीकृतसमेत रहेको विश्वकै तेह्रौ सुन्दर ताल फेवातालको अस्तित्व नासिने गरी दिनानुदिन यसरी अनधिकृतरूपमा पुर्नु निन्दनीय कार्य भएको बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय डाँडा खारेर ताल तथा सिमसार क्षेत्र पुर्ने कार्यविरुद्ध उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गरिसकेको तथा सर्वोच्च अदालत समेतले प्रदेश सरकार, स्थानीय सरकारलगायत सरोकारवाला निकायका नाममा निर्देशनात्मक आदेश जारी गरेकोमा आदेशको इमानदारीपूर्वक पालना नहुँदा त्यसप्रकारका गतिविधि एकपछि अर्को हुने गरेको हाम्रो ठम्याइ छ।’
साथै अदालतको आदेश पूर्णरुपमा पालनाका लागि प्रदेश सरकार, स्थानीय सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै फेवाताल पुर्ने कार्यमा संलग्नलाई कानुनी कारबाही गरी दण्डहीनता अन्त्यका लागि जोडदार माग गरिएको छ।




