काठमाडौँ- काठमाडौँ महानगरपालिकाले विगतमा अनुमति लिएर सञ्चालन भएका तर हाल स्थलगत रूपमा सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेजी प्रक्रिया अघि बढाउने भएको छ।
महानगरपालिका नगर शिक्षा समितिको गत साउन २८ गतेको निर्णयअनुसार शिक्षा विभागले यस्ता विद्यालयको स्थलगत अनुगमन, रुजु तथा एकिन गरी अनुमति खारेजीसम्बन्धी निर्णय नगर कार्यपालिकामा पेस गर्ने तयारी गरेको हो।
शिक्षा विभागद्वारा विभिन्न समयमा गरिएको स्थलगत अनुगमनका क्रममा महानगरपालिकाको वेबसाइटमा प्रकाशित सूचीमा उल्लेख भएका केही विद्यालय सञ्चालनमा नरहेको र नदेखिएको प्रतिवेदन प्राप्त भएको जनाइएको छ।
शिक्षा विभागले उक्त सूचीमा परेका विद्यालय वास्तवमै सञ्चालनमा रहेको भए सम्बन्धित विद्यालयका प्रधानाध्यापक, सञ्चालक, व्यवस्थापक वा गुठीयारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कमलादीस्थित काठमाडौँ महानगरपालिका शिक्षा विभागमा सम्पर्क गरी सञ्चालनको पुष्टि गर्न आग्रह गरेको छ।
तोकिने समयसीमाभित्र सम्पर्कमा नआएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा १३ (ट) बमोजिम विद्यालय बन्दका लागि नगर कार्यपालिकामा सिफारिस गरिने शिक्षा विभागले स्पष्ट पारेको छ।




