समयमै निर्वाचन हुन्छ : प्रधानमन्त्री

हिमाल प्रेस ७ पुष २०८२ १९:१३
6
SHARES
समयमै निर्वाचन हुन्छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरु सच्चिएर अघि बढ्नुपर्ने बताएकी छन्।

निर्वाचन कानुन एवं व्यवस्थापनका विषयमा सोमबार प्रधानमन्त्री कार्यालयमा भएको सर्वपक्षीय छलफमा प्रधानमन्त्री कार्कीले देशको सर्वैसर्वा भनेको जनता नै रहेको भन्दै राजनीतिक दलभित्र आफ्नो तनाब जनतालाई पोख्न नहुने समेत बताइन्।

उनले जनताको भावनाअनुसार नै राजनीतिक दलहरु चल्न सक्नुपर्ने र कसैले पनि मेरो गोरुको बाह्रै टक्का गर्न नहुने धारणा राखिन्।

राम्रा गरेको दललाई चयन गर्ने अधिकार जनतालाई रहेको भन्दै प्रधानमन्त्री कार्कीले जनताको भावना अनुसार राजनीतिक दलहरु चल्न सक्नुपर्ने उल्लेख गरिन्।

उनले राजनीतिक दलको गीत गाएर मात्रै नहुने भन्दै सबैले देशको विकासका लागि उपयुक्त वातावरण बनाउनुपर्ने बताइन्। प्रधानमन्त्री कार्कीले सुशासनका लागि पनि वर्तमान सरकारले गम्भीर भएर काम गरिरहेको उल्लेख गरिन्।

उनले निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरुबाट सकारात्मक सुझाव र सहयोग प्राप्त भएकाले निर्वाचनको वातावरण बन्दै गएको उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीले सबै राजनीतिक दललाई निर्वाचन प्रक्रियामा सहभागी भई शान्ति कायम गर्न आह्वान गरिन्। उनले सबै दल एकजुट भए कुनै पनि नकारात्मक तत्वले देशमा हिंसा मच्चाउन नसक्ने स्पष्ट पारिन्।

कार्कीले भनिन्, ‘निर्वाचनका सवालमा धेरैले सुरक्षा व्यवस्थाबारे चासो राख्नुभएको छ। सरकार सम्पूर्ण रूपमा सुरक्षाको वातावरण बनाउन लागिरहेको छ। सबै राजनीतिक दलले एकजुट भएर अगाडि बढे यहाँ कुनै आतंककारी वा अपराधीले हमला गर्न सक्दैन। त्यसैले मेरो अनुरोध छ, सबै निर्वाचनमा आइदिनुहोस्।’

उनले निर्वाचनमा सहभागी नभएका दललाई पनि शान्ति र लोकतन्त्रका लागि निर्वाचन प्रक्रियामा आउन आग्रह गरिन्।

मुलुकका ११४ वटै राजनीतिक दल एकजुट भए देशमा अशान्तिको कुनै सम्भावना नरहने भन्दै प्रधानमन्त्री कार्कीले शान्ति कायम गर्न दल, जेनजी प्रतिनिधि, नागरिक समाज, सञ्चारमाध्यम र कर्मचारीलाई आग्रह गरिन्।

‘सबै कुराको रिस पोख्दै मुलुकलाई नै अप्ठ्यारोमा पर्ने काम कसैले नगरौँ,’ उनले भनिन्, ‘हामीसँग भएको समयलाई उपयोग गरेर निर्वाचनमा सहभागी होऔँ।’

प्रधानमन्त्री कार्कीले विगतमा भएका त्रुटि र गल्तीका कारण भदौ २३ र २४ का घटना घटेको भन्दै त्यसबाट उत्पन्न आवेग र आलोचनालाई सरकारले सामना गरिरहेको बताए। ती घटनाले जनतामा गहिरो प्रभाव पारेको उल्लेख गर्दै उनले सरकार र राजनीतिक दलले जनतालाई दिने सन्देश तथा परिवर्तनको उद्देश्यबारे गम्भीर रूपमा सोच्नुपर्ने आवश्यकता औँल्याए।

‘जेनजी र युवा पुस्ताले खोजेको परिवर्तन बुझ्नु अहिलेको मुख्य प्राथमिकता हो। जनताले परिवर्तन चाहेका छन्, त्यसैले राजनीतिक दललगायत सबै सच्चिनै पर्छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘हामी आलोचनाको पात्र बनेका छौँ, तर देशका लागि सहन र भोग्न तयार छौँ। देशमा शान्ति र स्थायित्व कायम गर्ने सर्तमा हामी सबैले आफ्ना स्वार्थ त्याग्नुपर्छ, त्यसैमा मुलक र हामी सबैको भलाइ छ।’

प्रकाशित: ७ पुष २०८२ १९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast