काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले बंगलादेशमा पछिल्लो समय विकसित घटनाक्रमले मानवअधिकार र क्षेत्रीय सुरक्षमा गम्भीर संकट उत्पन्न गराएको बताएका छन्।
मुख्यमन्त्री यादवले हिन्दू तथा अन्य अल्पसंख्यक समुदायमाथि भइरहेको संगठित हिंसा, उत्पीडन र सम्पत्ति कब्जाका घटनाहरूले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको बताएका हुन्।
भीडद्वारा गरिने हत्या र मौलिक अधिकारको उल्लंघन केवल कानुनी शासनको कमजोरीमात्र नभएर मानवता र न्यायको आधारमाथि पनि गहिरो चोट पुर्याइरहेको उनले उल्लेख गरेका छन्।
‘भीडद्वारा गरिने हत्या र मौलिक अधिकारको उल्लंघनले केवल कानुनी शासनको कमजोरीमात्र होइन मानवता र न्यायको आधारमाथि पनि गहिरो चोट पु¥याइरहेको छ,’ मुख्यमन्त्री यादवले सामाजिक सञ्जालमा लेखेका छन्,‘हालै भारतीय दूतावासमाथि भएको आक्रमणले अन्तरिम सरकारको असफलता स्पष्ट रूपमा देखाएको छ। यस्तो अराजक र अस्थिर अवस्था केवल बंगलादेशको आन्तरिक विषयमा सीमित नभएर सम्पूर्ण क्षेत्रीय शान्ति, स्थिरता र विकासका लागि ठूलो चुनौति बनेको छ।’
दीर्घकालीन शान्ति, सुरक्षा र स्थिरता सुनिश्चित गर्न बंगलादेशमा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन आवश्यक रहेको उल्लेख गर्दै उनले केवल जनादेशबाट निर्वाचित सरकारले कानुनी शासन, समानता र असहअतित्वको बलियो आधार तयार गर्ने बताएका छन्।
अन्तरिम शासनको असफलताबाट उत्पन्न अराजकता अन्त्य गर्न सरोकारवाला सबै निकायले सक्रिय कदम चाल्नुपर्नेमा उनले जोड दिएका छन्।
‘अन्तरिम शासनको असफलताबाट उत्पन्न अराजकता र असुरक्षालाई समाप्त गर्न राजनीतिक दल, अन्तर्राष्ट्रिय समुदाय र जिम्मेवार निकायहरूले मिलेर सक्रिय र पारदर्शी कदम चाल्नुपर्छ,’ उनले भनेका छन्।
लोकतान्त्रिक मूल्य, मानवअधिकार र न्यायको बलमा मात्र दीर्घकालीन शान्ति, विकास र क्षेत्रीय स्थिरता सुनिश्चित गर्न सम्भव रहेको मुख्यमन्त्री यादवले बताएका छन्।
उनले सबै जिम्मेवार पक्षहरूले लोकतन्त्र, न्याय र मानवताको बलमा समस्या समाधान गर्ने प्रतिबद्धता देखाउनुपर्ने समय आएको उल्लेख गरेका छन्।




