मधेश प्रदेश सभामुखमा दुई जनाको उम्मेदवारी

हिमाल प्रेस ५ पुष २०८२ २१:३४
20
SHARES
मधेश प्रदेश सभामुखमा दुई जनाको उम्मेदवारी

जनकपुरधाम- मधेश प्रदेशसभाको पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ। सत्तारुढ सातदलीय गठबन्धन र नेकपा एमालेले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएको हो।

सातदलीय गठबन्धनको तर्फबाट रामअशिष यादव र एमालेबाट त्रिलोकी प्रसादले उम्मेदवारी दर्ता गराएका हुन्।

सातदलीय गठबन्धनका साझा उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतकसमेत रहेका यादवको प्रस्तावकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह र समर्थक माओवादी केन्द्रका फकिरा महतो रहेका छन्।

शनिबार बसेको सातदलीय गठबन्धनको बैठकले यादवलाई सभामुखको उम्मेदवार बनाउन सर्वसम्म निर्णय गरेको थियो। प्रदेशसभामा स्थायित्व, सहकार्य र निष्पक्ष संसदीय अभ्यासलाई सुदृढ बनाउने उद्देश्यसहित अनुभवी व्यक्तिलाई सभामुखमा अघि सारेको सातदलीय गठबन्धनको भनाइ छ।

एमालेबाट सभामुखमा उम्मेदवारी दिएका त्रिलोकीको प्रस्तावक एमाले प्रदेशसभा सदस्य शारदादेवी थापा र जयचन्द्रप्रसाद पटेल समर्थक रहेका छन्। एमाले संसदीय दलको निर्णयअनुसार उनले सभामुखमा उम्मेदवारी दर्ता गराएका हुन्।

मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत दिएर सत्तापक्षकै कित्तामा उभिएको एमालेले भने सभामुखकालागि प्रतिस्पर्धामा उत्रिएको छ।

यसअघि एमालेका तर्फबाट सभामुख बनेका रामचन्द्र मण्डल पदमुक्त भएपछि नयाँ सभामुख चयन गर्न प्रक्रिया अगाडि बढेको हो। ‘आचरणविपरितको काम गरेको प्रस्ताव’ प्रदेशसभाबाट पारित भएपछि मण्डल पदमुक्त भएका थिए।

मधेश प्रदेशको राजनीतिमा अनुभवी मानिने सातदलीय गठबन्धनका उम्मेदवार यादव प्रमुख सचेतकका रुपमा विभिन्न विधेयक, प्रस्ताव र संसदीय अभ्यासमा सक्रिय भूमिका वहन गर्दै आएका छन्।
प्रदेशसभामा सातदलीय गठबन्धनको स्पष्ट बहुमत रहेकाले यादव सभामुखमा निर्वाचित हुने लगभग पक्का देखिएको छ।

प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको कार्यक्रमअनुसार सभामुखको चयन आइतबार हुनेछ।

प्रकाशित: ५ पुष २०८२ २१:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast