ओली गुट फाप्यो बादल र भट्टलाई

हिमाल प्रेस ३ पुष २०८२ १४:०५ | Thursday, December 18, 2025
32
SHARES
ओली गुट फाप्यो बादल र भट्टलाई

काठमाडौँ- नेकपा एमालेभित्र तत्कालीन नेकपा माओवादी धारका नेताहरू ओझेल पर्दै गएका बेला दुईजना नेता भने पदाधिकारीमा निर्वाचित भएका छन्। एमालेको ११ औँ महाधिवेशनबाट रामबहादुर थापा ‘बादल’ उपाध्यक्ष र लेखराज भट्ट उपमहासचिवमा निर्वाचित भएका हुन्। बादल उपाध्यक्षमा पुनः दोहोरिएका हुन्। यी दुवै नेताले अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीको प्यानलबाट चुनाव जितेका हुन्। बादलले १५१६ र भट्टले १४५२ मत ल्याए।

तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच २०७५ जेठमा पार्टी एकता भएर नेकपा बनेको थियो। शक्ति संघर्षको विवाद बढ्दै गएपछि नेकपा फुटको डिलमै भइरहेको बेला २०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रको एकता खारेज गरेको थियो।

एकता खारेजपछि बादल, भट्ट, मणि थापा, टोपबहादुर रायमाझीलगायत नेताहरू एमालेको केन्द्रमा थिए। रायमाझी नक्कली भुटानी शरणार्थी ठगी प्रकरण थुनामा छन् भने मणि थापा पार्टीको गतिविधिमा देखिएका छैनन्। बादल र भट्ट सधैँ ओलीको गुटमा रहेर उनलाई खुसी बनाउँदै राजनीतिक लाभ लिने नेतामा पर्दछन्। भट्टको सुदूरपश्चिममा पकड छ भने बादल सांगठनिक गतिविधि शून्यप्रायः छ।

प्रकाशित: ३ पुष २०८२ १४:०५ | Thursday, December 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast