काठमाडौँ- झुटा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाउने कार्यमा संलग्न तीन जना पक्राउ परेका छन्।
झुटा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाइ विभिन्न व्यक्ति तेस्रो मुलुक जाने गरेका भन्ने सूचनाका आधारमा प्रहरीले तीन जनालाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो।
काठमाडौँबाट दाङको तुलसीपुर उपमहानगरपालिका-१७ का ४३ वर्षीय यमबहादुर बस्नेत, झापाको कचनकबल गाउँपालिका-३ का ५१ वर्षीय कृष्णबहादुर कटुवाल र झापाको भद्रपुर नगरपालिका-९ का ४१ वर्षीय सूर्यबहादुर खड्का पक्राउ परेका प्रहरीले जनाएको छ।
झुटा विवरण पेस गरेर नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउने कार्यमा संलग्न निजहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
निजहरूलाई नागरिकता, लिखत किर्ते र संगठित अपराधसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ।




