काठमाडौँ महानगरपालिकाले गर्‍यो ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आह्वान

हिमाल प्रेस २ पुष २०८२ २१:३१ | Wednesday, December 17, 2025
18
SHARES
काठमाडौँ महानगरपालिकाले गर्‍यो ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आह्वान

काठमाडौँ- एकीकृत, सन्तुलित र सर्वाङ्गीण महानगर निर्माणमा अनुसन्धान गर्न काठमाडौँ महानगरपालिकाले ‘अनुसन्धान शोधवृत्ति’का लागि १० वटा विषयमा शोधकर्तालाई आह्वान गरेको छ।

अनुसन्धानको परिणामसँग नीतिगत निर्णयको सम्बन्ध, कार्यान्वयन वा उपयोगिता, पूर्वाधार तथा सामाजिक विकासमा आधारित परिणाम, आवश्यकतामा आधारित परियोजना जस्ता विषयलाई प्राथमिकतामा राखेर यस वर्ष अध्ययनका विषय छनोट गरिएको कामपा सहरी योजना आयोगका सहायक विज्ञ विवेक बाँस्तोलाले जानकारी दिए।

विज्ञ बाँस्तोलाका अनुसार अनुसन्धानबाट प्राप्त तथ्यले काठमाडौँको सन्तुलित, एकीकृत र सर्वाङ्गीण विकासका लागि सहयोग गर्नेछ। सो तथ्य कामपाले तर्जुमा गर्ने नीति, योजना तथा कार्यक्रम र बजेट विनियोजन प्रक्रियालाई तथ्य र आवश्यकतामा आधारित बनाउनमा प्रयोग गरिने छ।

महानगरले इतिहास, कला, संस्कृति, परम्परा, भाषा, साहित्य, सहरी योजना, सहरी डिजाइन, वास्तुकला, यातायात, भौतिक पूर्वाधार, जनसाङ्ख्यिकीय, समाजशास्त्रीय वा मानवशास्त्रीय अध्ययनलगायत विषयलाई प्राथमिकतामा राखेर विषयगत ज्ञान, अनुभव र विशेषज्ञता हासिल गरेका विज्ञहरूबाट अनुसन्धान गराउँदै आएको छ।

यस वर्षका लागि कामपाले सहरी सुशासन र विश्वव्यापी प्रतिस्पर्धा, महानगरको पहिचानमा सांस्कृतिक विविधता, गुणस्तरीय सहरी बसोबास, आर्थिक समृद्धिका लागि नवप्रवर्तन, सहरी यातायात प्रणालीको पूर्वाधार, वातावरण, जलवायु र उत्थानशीलता, सामाजिक समावेशीकरण र समता, शिक्षा तथा सांस्कृतिक आदानप्रदान, सुरक्षा, स्वास्थ्य र कल्याण र तथ्याङ्कमा आधारित अनुगमन मूल्याङ्कन प्रणालीको संस्थागत विकासलाई क्षेत्रगत शोध विषयका रूपमा चयन गरेको छ।

छानिएका आवेदकलाई महानगरपालिकाले करसहित रु एक लाख ५० हजार उपलब्ध गराउने जनाएको छ।

प्रकाशित: २ पुष २०८२ २१:३१ | Wednesday, December 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast