पोखरा- पोखरा महानगरपालिकाले ६७ औँ स्थापना दिवस अवसरमा ‘पोखरेली नवरत्न’ को रूपमा ९ जनालाई जनही दुई लाखसहित सम्मान गरेको छ। पुस २ गतेलाई स्थापना दिवस मानेर सप्ताहव्यापी कार्यक्रम गरेको महानगरले बुधबार विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी पोखराको गौरवको रूपमा सम्मान गरेको हो।
सम्मानित हुनेमा साहित्यतर्फ तीर्थ श्रेष्ठ, संगीत तथा गायनतर्फ नेपथ्य व्याण्डका अमृत गुरुङ, उद्यमशीलतातर्फ रामकली खड्का, खेलकुद तथा शिक्षातर्फ प्राडा वीरेन्द्रसिंह गुरुङ, शिक्षासेवा र उद्योगतर्फ पूर्व मन्त्रीसमेत रहेका हरिप्रसाद पाण्डे, समाजसेवा तथा उद्योगतर्फ चन्द्रकृष्ण कर्माचार्य, स्वास्थ्यतर्फ प्राडा बुद्धिबहादुर थापा, धार्मिक पर्यटन तथा कृषि उद्यमतर्फ चन्द्रकान्त बराल र पत्रकारितातर्फ आदर्श समाज दैनिकका तिलकमान गुभाजू छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले पोखराको विकासमा अतुलनीय योगदान गरेको भन्दै जनही २ लाख २ हजार २ सय २ सहित पदक, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरे। पोखरा महानगरले हरेक ५ वर्षमा नवरत्न सम्मान गर्दै आएको छ। यसलाई पोखराको हकमा ‘गोरखा दक्षिण बाहु’ का रूपमा चिनिने मेयर धनराज आचार्यले बताए।
पोखरेली नवरत्नबाट सम्मानितमध्ये तीर्थ श्रेष्ठ संस्कृतिकर्मी एवं कवि हुन्। साहित्यिक क्षेत्र एवं सामाजिक सेवमा उनको उत्तिकै योगदान छ। उनका कविताहरू, जीन्दगीको कुरुक्षेत्रबाट, महाभारतका गीतहरु, मेरै हिमालजस्तो, जिन्दगीको गोधुलीमा, धर्सैधर्साको चक्रव्यूँहमा, आमा तथा हिउँमा लेखिएका नामहरुलगायत आधा दर्जन भन्दा बढी कृतिहरु प्रकाशित छन्।
नेपथ्य ब्याण्डका अमृत गुरुङ साढे ३ दशकदेखि अनवरत गीतसंगीतमा क्रियाशील प्रतिभा हुन्। स्वरमा जादू भएका उनले गत महिनामात्रै पोखरा रंगशालामा आयोजित नेपथ्य साँझमा जादुमयी स्वरले हजारौं दर्शकको मन जितेका थिए।
स्वदेशमात्र होइन, विदेशमा पनि उनी निकै रुचाइएका कलाकार हुन्। जहाँ पुगे पनि उनी पोखराकै कुरा गर्छन्। नेपथ्य व्याण्डबाट नेपथ्य १०९३, हिमाल चुचुरे १९९५, श्रृंगार १९९९, रेशम २००१, भेंडाको उनजस्तो २००३, घटना (नेपालको घटनाक्रम) २००५, मेरो देश २००९, ऐना झ्याल २०१०, एल्वम एक्स २०१६ लगायतका एल्बम निकालेका छन्।
पाल्पा मूल घर भएका हरिप्रसाद पाण्डे २०३५ सालदेखि पोखरालाई कर्मथलो बनाएका स्थापित उद्योगपति हुन्। पूर्व मन्त्री समेत रहेका उनले उद्योग व्यवसायको प्रवर्द्धन, कलकारखाना/मेसिनरी टुल्स (प्रविधि) विकास र रोजगारी सिर्जना गरी पोखराको औद्योगीकरण गर्न महत्वपूर्ण योगदान दिएका छन्। उनले माछापुच्छ्रे मेटल एण्ड मेसिनरी वर्क्स, पोखरा फुड्स, एभरेस्ट इञ्जिनियरिङ वक्र्स, पोखरा मेसिन टुल्स इण्डष्ट्रिज, पोखरा नुडल्स तथा रम्बा जनरल फुड इण्डष्ट्रिज कम्पनी सञ्चालन गर्दै आएका छन्। उनले मातृसेवा प्रतिष्ठानमार्फत सयौं विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी शैक्षिक उन्नयनमा समेत योगदान दिएका छन्।
पोखरेली रत्नबाट सम्मानित ९ जनामध्ये एकमात्र महिला रामकली खड्का हुन्। उनी पाँच दशकदेखि उद्यमशील क्षेत्रमा क्रियाशील रही हजारौंलाई हस्ताकलालगायतका सीप सिकाएकी छन्।
तिलकमान गुभाजू लामो समयदेखि पत्रकारितामा क्रियाशील हस्ताक्षर हुन्। विकृति, विसंगतिविरुद्ध कलमबाट तिरो प्रहार गर्ने उनी बौद्धमार्गीहरुका एक अध्येता र प्रचारप्रसारकसमेत हुन्। उनी हाल पोखराबाट प्रकाशित हुने आदर्श समाज राष्ट्रिय दैनिकका अतिथि सम्पादक हुन्।
प्राडा वीरेन्द्रसिंह गुरुङले पृथ्वीनारायण क्याम्पसमा लामो समय पढाए। तर उनी खेल क्षेत्रमा अभियन्ता हुन्। उनकै अगुवाइमा पोखरा रंगशालाको संरक्षणार्थ पर्खाल लगाइएको थियो। पोखरामा अधिकांश खेल पोखरामा भित्राउने श्रेयसमेत उनैलाई जान्छ। क्रिकेट खेलका लागि मैदान निर्माणदेखि खेल प्रवर्द्धन गर्ने, हक्की, टेनिस, बास्केटबल, एथ्लेटिक्स, भलिबल, फुटबलको विकास, खेलाडी उत्पादन र संरचना निर्माणमा उनको उत्तिकै योगदान छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका संस्थापक उपकुलपति प्राडा बुद्धिबहादुर थापा स्वास्थ्य क्षेत्रका अग्रणी हुन्। उनले स्वास्थ्य जाँचमार्फत हजारौँलाई स्वस्थता प्रदान गर्नुका साथै चिकित्सा क्षेत्रको भौतिक पूर्वाधार निर्माण, प्राज्ञिक संरचना बिस्तार र दक्ष जनशक्ति निर्माणमा महत्त्वपूर्ण योगदान दिएका छन्।
पोखराको औद्योगिक घराना कर्माचार्य ग्रुपका सञ्चालक चन्द्रकृष्ण कर्माचार्य लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष हुन्। लेखनाथमा बिस्कुट, तेल, चकलेट, चामल, चिउरा, आँटा तथा डेरीजन्य उत्पादन गरी आयात प्रतिस्थापन गर्नुका साथै त्यसमार्फत रोजगारी सिर्जना गरेर पोखराको विकासमा महत्त्वपूर्ण योगदान दिएका छन्।
पोखराको पुम्दीकोटस्थित विशाल महादेव मूर्ति अहिले पोखराको प्रमुख पर्यटकीय आकर्षणमध्ये एक हो। यसैका परिकल्पनाकार समेत रहेका उद्योगी चन्द्रकान्त बरालको योगदान पोखराको धार्मिक पर्यटन प्रवर्द्धनमा उत्तिकै रहेको छ। प्रतिभा छनोटका लागि वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल ‘बात्स्यायन’को संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको छनोट समितिका एक सदस्य सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठले बताए।
यसै गरी पोखराका पिता र माताको रूपमा सबैभन्दा ज्येष्ठ नागरिक पुरुषतर्फ पोखरा-३२ का १०४ वर्षीय काशीनाथ पण्डित र महिलातर्फ पोखरा-२८ निवासी १०८ वर्षीया झ्याउरी गुरुङलाई सम्मान गरियो। पोखरा महानगरका उत्कृष्ट कर्मचारी सम्मानबाट नवराज सापकोटा सम्मानित भए। उनलाई नगद ३५ हजारसहित सम्मान गरियो।





