मधेश सत्ता गठबन्धनमा खटपट, सरकार छाड्ने जनमतको चेतावनी

हिमाल प्रेस १ पुष २०८२ १३:०१
96
SHARES
मधेश सत्ता गठबन्धनमा खटपट, सरकार छाड्ने जनमतको चेतावनी

जनकपुरधाम- मधेश सरकारले पूर्णता नपाउँदै सत्ता गठबन्धनमा खटपट देखिएको छ। गठबन्धनको एक घटक जनमत पार्टीले आफू अनुकूल मन्त्रालय नपाएको भन्दै सरकार छाडने चेतावनी दिएको हो।

जनमतका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष वसन्त कुशवाहाले जनमत पार्टीले उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएका छन्।

उनले सामाजिक सञ्जालमा मधेशमा १०औँ हजार रोजगारी सिर्जना गर्ने गरी बजेट विनियोजन भएको अवस्थामा जनमत पार्टीले सो मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएका हुन्।

जनमतका सतिश सिंह मुख्यमन्त्री रहेका बेला कुशवाहा उद्योग वाणिज्य तथा पर्यटनमन्त्री थिए। त्यति बेला आफू अनुकूल बजेट निर्माण गरेको भनेर उनको आलोचना भएको थियो। सोहीअनुसार जनमतले सो मन्त्रालयमा दाबी गर्दै आएको छ। तर सात दलीय गठबन्धनबाट मुख्यमन्त्री कृष्ण यादवले सो मन्त्रालयको जिम्मेवारी नेकपा एसका कनिष पटेललाई दिएका छन्।

सरकार छाड्ने नै हो भन्ने जिज्ञासामा कुशवाहाले भने, ‘मन्त्रालय बाँडफाँटमा देखिएको बेथिथि टुंगो लगाउन प्रदेश दलका नेता महेश यादवलाई जिम्मेवारी दिइएको थियो। आज बेलुकासम्म टुंगो लगाइएन भने जनमत पार्टी सरकारबाट अलग हुनेछ।’ सभामुख पाए पनि भौतिक पूर्वाधार विकास मन्त्रालयमा दाबी गर्दै जसपा नेपाल सरकारमा सहभागी भएको छैन।

सात दलीय गठबन्धनको सहमतिअनुसार विश्वासको मत अघि प्रत्येक दलबाट एकएक जना बनाउने भनिएकोमा सोमबार बेलुका लोसपा नेपालबाट रानी शर्मा तिवारीलाई शिक्षा तथा संस्कृति मन्त्रालय, माओवादी केन्द्रबाट जवाहरलाल कुशवाहालाई ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रीमा नियुक्ति गरिएको थियो।

यसअघि नियुक्त भएका विनाविभागीय मन्त्री रहेका कांग्रेसका जंगीलाल रायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेकपा एसबाट कनिष पटेललाई उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

गृह, सञ्चार तथा कानुन मन्त्रालय, वन तथा वातावरण, भौतिक पूर्वाधार विकास मन्त्रालय, खेलकुद तथा समाज कल्याण मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय र भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसहितका ६ वटा मन्त्रालय मुख्यमन्त्री यादवकै जिम्मेवारीमा रहेको छ।

यादव नेतृत्वको सरकारलाई जसपा, जनमत, लोसपा, माओवादी, नेकपा एस र नागरिक उन्मुक्तिका सांसदले समर्थन गरेका छन्। कांग्रेसका यादव मंसिर २० गते मधेश प्रदेशको छैटौँ मुख्यमन्त्रीमा नियुक्त भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast